Logo

२१ आश्विन २०८३, बुधबार


सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन सम्पन्न भएको छ । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा काठमाडौँको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट्समो अडिसन सम्पन्न भएको हो। अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरुको सहभागिता रहेको थियो। प्रतियोगिताका लागि एक महिनाअघि नै आवेदन फर्म खुला गरिएको थियो।

अडिसनमा पूर्व मिस नेपाल उषा खड्गी, कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई तथा आयोजक संस्था सिआईएफटीकी प्रमुख सूचिता सची निर्णायकको भूमिकामा थिए।
अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने आयोजकद्वारा जनाइएको छ। प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा सम्पन्न हुनेछ।
सिआईएफटी प्रमुख सूचिता सचीका अनुसार प्रतियोगिताले फेसन र सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतनालाई समेत प्राथमिकतामा राखेको छ।

‘प्रतियोगिताको उद्देश्य बाह्य सौन्दर्यलाई मात्र आधार बनाएर विजेता छनोट गर्नु होइन। व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक चेतनालगायतका पक्षलाई पनि मूल्यांकन गरिने छ’, सचीको भनाइ छ।
सिआईएफटीले मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६ मार्फत विभिन्न उमेर समूहका प्रतियोगीलाई समेट्दै तीन अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गर्ने जानकारी बताएको छ। आयोजकका अनुसार, एउटै राष्ट्रिय मञ्चबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ तथा ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’का लागि योग्य प्रतियोगी छनोट गरिने छ।
मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६ की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछिन्। मिस ग्ल्याम वर्ल्ड २०२६ भारतमा सन् यही वर्षको अन्त्यतिर आयोजना गर्ने तयारी छ।
तस्बिरः किशोर श्रेष्ठ

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *