Logo

२ चैत्र २०८१, शनिबार

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्र बोकेर आफ्नो स्थापनाको दुई दशक पूरा गर्दा गैर आवासीय नेपाली संघ (एनआरएनए) विश्वका ८६ देशमा फैलिएको छ । यतिबेला विश्वभर रहेका नेपालीलाई एक सूत्रमा बाँधेर राख्ने हाम्रो प्रयासले मूर्त रूप लिँदै गएको महसुस गरेकी छु ।

गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक महिला अध्यक्षको रूपमा आफूलाई यहाँहरू माझ उभ्याउन पाउँदा गर्विलो अनुभूति गरेकी छु । उक्त जिम्मेवारीले मलाई थप हौसला र आत्मविश्वास दिएको छ– विश्वभरका नेपालीमाझ पुग्ने ।

११ औं महाधिवेशन नजिकिँदैछ । हामी फेरि नयाँ नेतृत्व चयनको चरणमा आइपुग्यौं । सहकर्मी र शुभचिन्तकहरूको आत्मीयता र अग्रजहरूको सल्लाहमा मैले सन् २०२३–२५ कार्यकालका लागि पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।

मेरा प्रतिबद्धताहरू

१. प्रतिनिधि (डेलिगेट्स)लाई मात्र मताधिकार रहने व्यवस्थाको अन्त्य गरी प्रत्येक गैरआवासीय पञ्जीकृत सदस्यले मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिनेछ । निर्वाचन निष्पक्ष र विश्वासिलो बनाइनेछ भने आइसिसी र एनसिसीको निर्वाचन एकै दिन गर्ने प्रावधान राखिनेछ, सपथ भने नेपालमै गर्नुपर्नेछ ।

२. संघभित्रै देखिएको मनमुटाव, गुटबन्दी र तिक्ततालाई चिर्दै बलियो एकतासहित पारदर्शी र मैत्रीपूर्ण सम्बन्ध स्थापना गरिनेछ ।

३. हाम्रो अथक प्रयासको परिणाम नेपाल सरकारले भर्खरै लागू गरेको गैर आवासीय नेपाली नागरिकताले केही हदसम्म सहज भएतापनि वंशजको नागरिकताको निरन्तरतालगायत नेपाली नागरिकसरहको अधिकारका लागि संस्थागत पहल जारी राखिनेछ ।

४. संघको सांगठनिक सबलिकरण र आर्थिक पारदर्शितामा जोड दिइनेछ भने महिला एवं युवाहरूको भूमिकालाई थप सशक्त बनाउन विधानमै व्यवस्था गरिनेछ ।

५. विदेशमा बस्ने नेपालीको ज्ञान, सीप र प्रविधिसहित आर्थिक लगानीलाई एकद्वार प्रणालीमार्फत नेपालमा लगानी प्रोत्साहनका लागि विभिन्न योजना बनाइनेछ र लगानीमैत्री वातावरणका लागि नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग निरन्तर पहल, छलफल र सहकार्य गरिनेछ ।

६. महिला र युवालाई आत्मनिर्भर बनाउन पहल गरिनेछ, उनीहरूलाई लक्षित गरेर उद्यमशीलता विकास तालिम सञ्चालन गरिनेछ ।

७. नेपालका ग्रामीण क्षेत्रका बासिन्दाहरूमा रहेको ज्ञान, सीप र सम्भावना अनुसार योजना तर्जुमा गरि साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरिनेछ ।

८. नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको परराष्ट्र नीतिअनुरूप थप सुदृढ बनाउन नेपाली डायस्पोराको भूमिकालाई सशक्त बनाइनेछ ।

९. रेमिट्यान्सको वृद्धिमा विशेष जोड दिइनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनालाई अझ सबल, प्रभावकारी बनाउन विदेशमा रहेका बढी भन्दा बढी नेपालीलाई आबद्ध गर्न विभिन्न देशमा सचेतना कार्यक्रम गरिनेछ ।

१०. विदेशमा रहेका नेपाली दाजुभाइ–दिदिबहिनीहरूलाई केही समस्या भएमा खबर गर्न स्थापना गरिएको २४ सै घण्टा खुला रहने हटलाइन सेवालाई अझ प्रभावकारी ढंगले सञ्चालन गरिनेछ ।

११. श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरू, G TO G अन्तर्गत गएका नेपालीहरू र STUDENT VISA मा गएका विद्यार्थीहरूले विदेशमा कुनैपनि समस्या भोग्नुपरेमा नेपाल सरकारले तत्काल उचित कदम चाल्नुपर्दछ । यस्तो अवस्थामा नेपाल सरकार र सम्बन्धितसँग एनआरएनएले निरन्तर समन्वय र आवश्यक कार्य गर्नेछ ।

१२. नेपालका स्थानीय उत्पादनलाई विश्ववजारमा पुर्याउन विशेष पहल गरिनेछ । उच्च हिमाली जडिबुटी र स्याउ, अदुवा, टिमुर, कफी, खुर्सानी जस्ता कृषि उपज, अचार, गुन्द्रुक, सिन्की जस्ता मौलिक चिजहरू ब्रान्डिङ्ग गरिने छ ।

१३. एनआरएनएद्वारा पोखरामा निर्माणाधीन शौचालयकै मोडेलमा स्थानीय सरकारसँग समन्वय गरी मुलुकका सातै प्रदेशमा सफा सार्वजनिक शौचालयको योजना अघि बढाइनेछ ।

१४. नेपालको पूर्वाधार विकास, उर्जा, होटेल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सहजीकरणको लागि पहल गरिनेछ ।

१५. वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूको पुनःस्थापनाका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

१६. वैदेशिक लगानी भित्र्याउन र नेपालका विकासका लागि गैरआवासीय नेपाली समुदायको उपस्थिति बढाउन सरकारसँग सहकार्य गरिनेछ ।

१७. निश्चित उद्देश्यहरूका लागि FUND RAISING PROGRAM सञ्चालन गरिनेछ । यसको उचित कार्यान्वयन र नियमन गरिनेछ ।

१८. स्वास्थ्यका लागि खेलकुद, सवैकालागि खेलकुद भन्ने मान्यताअनुरूप पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडीहरूले भाग लिई पदकसमेत जितेको सबैलाई अवगत नै छ । अब कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदमा बढी भन्दा बढी एनआरएनए खेलाडीहरूको सहभागिता सुनिश्चित गरिनेछ । खेलकुद क्षेत्रको पूर्वाधार र समग्र विकासमा सहकार्य गरिनेछ ।

१९. गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रत्येक नागरिकको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ निःशुल्क शिक्षा र स्वास्थ्य FREE EDUCATION, FREE HEALTH को अवधारणा प्राथमिकतामा राखेर काम गरिनेछ । शैक्षिक क्षेत्र विशेषतः सरकारी विद्यालयहरूको स्तर उन्नतिका निमित्त सहकार्य गरिनेछ । छात्रवृत्तिहरू प्रदान गरिनेछ । यसैगरी सरकारी अस्पतालहरूको स्तर उन्नतिको लागि सहकार्य गरिनेछ ।

२०. स्वास्थ्यसम्बन्धि विभिन्न अभियान चलाइनेछ । विशेषगरी महिलाहरूको स्तन र पाठेघरको क्यान्सर, पुरुषको प्रोष्टेट क्यान्सरबाट जोगाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यसैगरी बालबालिका र गर्भवती महिलाको स्वास्थ्यसम्बन्धि कार्यक्रमलाई व्यापकता दिइनेछ । विज्ञ चिकित्सकसहित MENTAL HEALTH लगायत अन्य स्वास्थ्य सचेतना कार्यक्रमहरू विकट र दुर्गम गाउँहरूमा स्वास्थ्य शिविरसँगै गरिनेछ ।

२१. बिरामीहरूलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले सुरु गरिएको घुम्ती रक्तसञ्चार केन्द्र (MOBILE BLOOD BUS ) अवधारणालाई पूर्णता दिइनेछ । सातै प्रदेशमा १–१ वटा ब्लड बस सञ्चालन गरिनेछ ।

२२. दोस्रो पुस्ताका गैरआवासीय नेपाली (जो विदेशमै जन्मे, हुर्के र पढे)लाई मातृभूमि नेपालसँग जोड्न विभिन्न रणनीति बनाई कार्यक्रम सञ्चालन गरिनेछ । STUDENT EXCHANGE PROGRAM जस्ता कार्यक्रम ल्याइनेछ । जसमार्फत विदेशमा रहेका गैरआवासीय नेपाली विद्यार्थीहरू नेपाली परिवेशमा अध्ययन गरी विदेश र स्वदेशमा अनुभव गरेका भिन्नतासहित सुझाव दिनेछन् ।

२३. नेपालको पर्यटन प्रबद्र्धनका लागि सहकार्य गरेर विशेष कार्यक्रम सञ्चालन गरिनेछ । ‘हरेक गैरआवासीय नेपाली नेपालको पर्यटनका लागि सद्भावनादूत’को मान्यतालाई स्थापित गरिनेछ ।

२४. सञ्चारको विकासले आज विश्वले धेरै फड्को मारेको छ । नेपालको सबै परिवर्तनमा नेपाली सञ्चारमाध्यम र नेपाली पत्रकारहरूको उल्लेखनीय भूमिका छ । म यसको उच्च प्रसंशा गर्न चाहन्छु । आगामी दिनमा नेपालको सञ्चार क्षेत्रसँग सहकार्य गरिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या, पीडादेखि विदेशी भूमिमा नेपालीहरूले गरेका संघर्ष, सफलताका समाचारहरू सम्प्रेषण गर्ने पत्रकार र सञ्चारमाध्यलाई पुरस्कृत गर्ने तथा निश्चित संख्यामा लेखनवृति दिएर विदेशमा नेपाली समुदायको रिपोर्टिङ गर्न पठाउने विषयमा सहकार्य गरिनेछ ।

अन्त्यमा,
२५. NRNA GLOBAL FUND
म नेतृत्वमा पुगेलगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ । जुन गैरआवासीय नेपाली संघको सबैभन्दा ठुलो कोष हुनेछ । जुन नेपाल र नेपाली मात्रको ‘समृद्धिका लागि सारथी मात्र होइन, संकट पर्दाको सञ्जीवनी’ पनि हुनेछ । यो कोष एनआरएनएका प्रत्येक सदस्यका लागि गर्वको विषय बन्नेछ । व्यापक छलफल, गृहकार्य र योजना बनाएर कोषलाई अघि बढाइनेछ ।

रविना थापा

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *