रिवन इन्टरटेनमेन्टको आयोजनामा कात्तिक १४ गते हुने ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’का प्रतियोगी ‘द ग्ल्याम नाइट’मा र्याम्पमा प्रस्तुत भएका छन्।
आइतबार राति आयोजित फेसन शोमा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा प्रस्तुति दिएका थिए। कार्यक्रममा अभिनेता राजेश हमाल, रमेश उप्रेती, रेखा थापा, जितु नेपाल, प्रमोद अग्रहरी, पूजा शर्मा, सुपुस्पा भट्टलगायत कलाकार सहभागी थिए। गायक आनन्द कार्कीले गीत प्रस्तुत गरे भने जितु नेपालले हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए। राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुस्पा भट्टले प्रतियोगिताका विजेताले लगाउने ताज सार्वजनिक गरेका थिए।

अध्यक्ष निशुकान्त झाका अनुसार विवाहित महिलाको सौन्दर्य, आत्मविश्वास र व्यक्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
प्रतियोगिताको ग्रान्ड फिनाले कात्तिक १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुनेछ। फिनालेमा २२ प्रतियोगी सहभागी हुँदैछन्। विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसै मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’का विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ। ती उपाधिका विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।
अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिता विवाहित महिलाको प्रतिभा र व्यक्तित्व विकाससँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसरका रूपमा आयोजना हुँदै आएको छ।




