सुबिन भट्टराईको चर्चित बेस्टसेलर उपन्यास ‘समर लभ’मा आधारित नाटक यही साता बुटवलमा मञ्चन हुने भएको छ। काठमाडौँमा सफल मञ्चनपछि विराटनगरमा समेत दर्शकको उत्साहजनक साथ पाएको नाटक ‘समर लभ’ असोज २४ गते शनिबार बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मञ्चन हुन लागेको हो। नाटक शनिबार दिउँसो १२ बजे र ३ बजे मञ्चन हुनेछ।
कान्तिपुर थिएटरको प्रस्तुति रहेको नाटकलाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन्। सागर खनालले अतीत शर्मा र बासना तिमल्सिनाले साया शाक्यको भूमिका निर्वाह गरेको यस नाटकमा अभिनेता अर्पण थापाले नाटकमा लेखक सुबिन भट्टराई बनेर अभिनय गरेका छन्। साथमा विनिता गिरी, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईंलगायत कलाकार पनि विभिन्न भूमिकामा मञ्चमा देखिन्छन्।

उपन्यास समर लभको नाटक मञ्चनले उपन्यास पढिसकेका पाठकलाई आफूले कल्पना गरेका अतीत र सायालाई प्रत्यक्ष अवलोकन गर्ने मौका दिएको छ। समर लभ युवावय उमेरमा हुने प्रेम, प्रेम सम्बन्धमा आउने दरार र भावनात्मक उतारचढावका आयामहरू समेटिएको उपन्यास हो। युवा पुस्ताले विशेष रूचाएको समर लभको मञ्चनले आफूलाई समेत करिब डेढ दशकअघिको नोस्टाल्जियामा फर्काइदिएको लेखक सुबिन भट्टराईले बताए।
विराटनगरमा असोज १७ र १८ गते मञ्चन भएको नाटकप्रति दर्शकको मागपछि बुटवलमा मञ्चन हुन लागेको कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ।




