गाउँ होस या शहर सबैतिर स्थानीय चुनावकै लहर छ । राजनीतिक दलका नेता कार्यकर्ता सबै गाउँतिरै चुनावी माहोलमा होमिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न उम्मेदवार बनेकाहरू मतदाताको घरदैलोमा छन् ।
यहि अभियानमा तल्लीन छने, लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा योगदान दिएका ध्रुवप्रसाद नेपाल । काभ्रे मण्डनदेउपुर नगरपालिका १० बाट वडाध्यक्षको उम्मेदवार हुन नेपाल । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका साझा उम्मेवार हुन् उनी । उनको वडामा दुई जना सदस्य एकीकृत समाजवादीका छन् भने २ सदस्य नेकपा माओवादी केन्द्रको तर्फबाट चुनावी मैदानमा छन् ।
राजनीतिलाई पेशा होइन, सेवा बनाउँछु
पछिल्लो समय राजनीतिलाई सेवाभन्दा पनि बिना लगानी राज्यको सम्पत्ती दोहन गर्ने माध्यमका रुपमा लिने धेरै छन् । तर, नेपाल भने राजनीतिलाई अर्थोपार्जनको माध्यमभन्दा पनि जनताको सेवा गर्ने थलोका रुपमा बुझ्छन् ।
सामान्य जीवनशैली भएका नेपालको मुख्य जिविकोपार्जनको माध्यम कृषि नै हो । जनप्रतिनिधिका लागि उम्मेदवार बन्दै गर्दा उनको मुख्य उद्देश्य गाउँमा जनताको सेवा हो ।
उनी भन्छन्, ‘राजनीतिमा इमानदार नेतृत्वको खडेरी छ । जसरी पनि दल, बल र शक्तिको भरमा चुनाव जित्नैपर्ने परिपाटी बसेको छ । तर, म सामान्य किसान हुँ । किसानका समस्या नै मेरा मुख्य एजेण्डा हुन् । गाउँको समस्या समाधानका लागि मसँग जानकारी पनि छ । त्यसैले म भन्छु भोट किन्न (पैसा खर्च गर्न) सक्दिनँ तर मतदाताको सम्मान भने म गर्छु ।’
‘अहिले निर्वाचनमा रकम खर्च गर्नेले भोलि जितिसकेपछि कुनै न कुनै माध्यमबाट भ्रष्टाचार गर्ने र कुकर्मबाट कमाउँछन् त्यसको नराम्रो भारत सामान्य जनतालाई नै पर्ने हो । त्यस्तो प्रवृत्तिको म घोर विरोधी हुँ ।’
बाध्यात्मक अवस्थाले माओवादी बनायो
५५ वर्षीय नेपाल सामान्य साक्षर हुन् । उमेर पाको भए पनि उनमा युवाकोभन्दा जोश कम छैन । केही गरौं भन्ने अठोट छ । उसो त सामाजिक विकृतिविरुद्ध उनी सानैदेखि लागेका छन् । २०३९ सालमै जनेमार्चामा आवद्ध नेपाल पछि २०४४ मा नेकपा एमालेमा लागे । तर, २०५२ साउनमा माओवादीको कार्यक्रम हेर्न जाँदा उनी आफ्नै पार्टीबाट असुरक्षित बन्नुपर्यो ।
त्यसबेला उनलाई माओवादी भएको आरोप मात्रै लागेन, आफ्नै सहकर्मीबाट माओवादीको आरोपमा सेना प्रहरी लाउने काम समेत भयो । उसै पनि आरोप लागेपछि उनी बाध्य भएर माओवादीमा आवद्ध भए । भूमिगत भएर माओवादीको आन्तरिक काममा खटिए ।
माओवादी युद्धका लागि गोलीगट्ठा बोक्ने र आन्तरिक अन्य कामका लागि विश्वाशिला पात्र बने नेपाल । तर, पछिल्लोसमय राजनीतिमा मौलाएको स्वार्थीपनले भने उनी दिक्क छन् । २०५३ देखि माओवादीको वडा कमिटी सचिव हुँदै गाउँ कमिटीको अध्यक्ष बनेका नेपाल अहिले नगरकमिटी सदस्य हुन् ।
वडाको विकास पहिलो प्राथमिकता
‘घर बनेपछि टोल बन्छ र टोल बनेपछि मात्रै वडा बन्छ’ उनको मुख्य नारा नै यही हो । परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने कुरा गाउँमा बुझाउन गाह्रो भएको उनी बताउँछन् । कृषिमा आधुनिकीकरण, उत्पादित वस्तुलाई बजारको व्यवस्थापन, घर–घरमा स्वच्छ खानेपानी, स्थानीय सडकको स्तरोन्नति, गुणस्तरीय शिक्षा र गाउँको स्वास्थ्य अवस्थामा सुधार गर्न पनि आफू उम्मेदवार बनेको उनको भनाइ छ ।
नेपाल भन्छन्, ‘मैले चुनाव जितेँ भने जिविकोपार्जनका लागि आवश्यक आधारभूत कुराहरूको पूर्तिमा योगदान हुनेछ । सामान्य कामबाट नै सुरु गर्नेछु । मेरा पूरा गर्न नसकिने ठूला योजना छैनन् । तर, जति स्थानीयका लागि आवश्यक हुन् त्यस्ता मुद्दा सम्बोधनको लागि जिउज्यान लगाउनेछु ।’
उक्त वडामा दुईवटा मतदान केन्द्र छन् । दुई हजार ८८४ जना मतदातालाई उनले आफ्नो बौद्धिकता प्रयोग गरी मतदान गर्न अनुरोध गरेका छन् । ‘कसैलाई करकापमा मतदान गर्न भन्दिनँ । तर, गाउँको समस्या समाधानका लागि एकपटक मलाई विश्वास गर्नुहोस् भन्ने अनुरोध हो । म जनताका सुझावलाई मनन गर्दै अघि बढ्नेछु,’ उनी भन्छन् ।