काठमाडौँ, २४ भदौ — कालीमाटी तरकारी तथा फलफूल थोक बजारका संयुक्त व्यवसायीले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आठ लाख ५४ हजार ३०० रुपैयाँ सहयोग गरेका छन्।
व्यवसायीले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। रकम बुझ्दै मन्त्री चौधरीले विपद्का बेला सहयोग गर्ने कृषि व्यवसायीलाई धन्यवाद दिइन्।
उनले बाढीपहिरो प्रभावित नागरिकका साथमा सरकार रहेको बताउँदै राहत, उद्धार र पुनःस्थापनामा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
यसअघि व्यवसायीले भोटेकोसी बाढी प्रभावित परिवारलाई ९० बोरा आलु, ३० झोला इस्कुस, १० झोला काँक्रो र ८० झोला फर्सी सहयोग गरेका थिए।




