जनक श्रेष्ठ/रासस
लमजुङ, २४ भदौ — केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे। प्रायः हरेक गाउँमा देखिने ती परम्परागत घर अहिले खोज्नुपर्ने अवस्थामा पुगेका छन्।
आधुनिक पक्की घरप्रतिको आकर्षणसँगै नेपाली मौलिक पहिचान बोकेका पुराना घुमाउने घर भत्काउने क्रम बढेको छ। कुनै बेला जिल्लाभर सयौँको सङ्ख्यामा रहेका यस्ता घर अहिले औँलामा गन्न सकिने मात्र बाँकी छन्।
क्व्होलासोथार गाउँपालिका–४ भुजुङका वडाध्यक्ष नारायण गुरुङका अनुसार केही वर्षअघिसम्म गाउँमा घुमाउने शैलीका धेरै घर थिए। अहिले भने पुरानो घुमाउने घर एउटामात्र बाँकी छ।
करिब छ वर्षअघि स्थानीय संस्कृति र परम्परा चिनाउने उद्देश्यले अर्को घुमाउने घरलाई सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो। सङ्ग्रहालय पुग्ने पर्यटकले परम्परागत घरको अवलोकन गर्नुका साथै तस्बिर खिचेर गाउँको मौलिकता नियाल्ने गरेका छन्।
“पहिले टोलैपिच्छेजस्तो घुमाउने घर हुन्थ्यो, अहिले एउटामात्र बाँकी छ,” वडाध्यक्ष गुरुङले भने।
विद्युत् र आधुनिक प्रविधिको पहुँच नहुँदा घुमाउने घर गाउँलेका लागि बस्ने ठाउँमात्र थिएनन्, मौसमअनुकूल जीवनयापनको भरपर्दो आधार पनि थिए। जाडोमा न्यानो हुने, भित्र आवश्यकताअनुसार कोठा छुट्याउन मिल्ने र संरचना बलियो हुने भएकाले यस्ता घर पुस्तौँसम्म टिक्थे।
सानो आकार र एकतले संरचनाका यी घर स्थानीय स्रोतसाधनबाटै बनाइन्थे। ढुङ्गा, माटो र काठको संरचनामाथि लगाइएको खरको छानाले प्राकृतिक परिवेशसँग मिल्ने मौलिक वास्तुकलाको परिचय दिन्थ्यो।
भुजुङमा बाँकी रहेको पुरानो घुमाउने घर करिब एक सय वर्ष पुरानो मानिन्छ। वडाध्यक्ष गुरुङका अनुसार उक्त घर तत्कालीन जिम्माल तथा प्रधानपञ्च लालपट्टी गुरुङको हो। उनको परिवार अहिले त्यहाँ नबसे पनि घर प्रयोगमै छ। पुस्ता फेरिँदै गए पनि यस घरले गाउँको पुरानो जीवनशैली र निर्माण सीपको सम्झना बोकेको छ।
सुन्दरबजार नगरपालिका–११ स्थित तुर्लुङकोटमा पनि घुमाउने घरको अवस्था उस्तै छ। स्थानीयका अनुसार केही वर्षअघिसम्म त्यहाँ १०–११ वटाभन्दा बढी घुमाउने घर थिए। अहिले भने दुईदेखि चारवटासम्म मात्र बाँकी छन्। पुराना घर भत्काएर आधुनिक पक्की घर बनाउने क्रम बढेसँगै परम्परागत घरको सङ्ख्या निरन्तर घटिरहेको छ।
राइनास नगरपालिका–९ स्थित राइनासकोटमा भने हराउँदै गएको परम्परा जोगाउने प्रयास गरिएको छ। स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई मौलिक घरबारे चिनाउने उद्देश्यले केही वर्षअघि परम्परागत शैलीको घुमाउने घर निर्माण गरिएको थियो।
स्थानीय तथा राइनास होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बालसिंह गुरुङका अनुसार विगतमा राइनासकोटमा पाँचवटासम्म घुमाउने घर थिए। अहिले एउटामात्र पुरानो घर बाँकी छ। हराउँदै गएको वास्तु परम्परा जोगाउने उद्देश्यले उक्त घर संरक्षण गरेर राखिएको उनले बताए।
“बाँकी रहेको एउटा घुमाउने घर संरक्षण गरेर राखेका छौँ,” अध्यक्ष गुरुङले भने, “होमस्टेमा आउने पर्यटक त्यहाँ पुगेर घर हेर्छन्, तस्बिर र भिडियो खिच्छन् अनि घुमाउने घरका विशेषताबारे जानकारी लिन्छन्।”
संरक्षण गरिएको घुमाउने घर स्थानीयका लागि पुरानो संरचना जोगाउने माध्यममात्र बनेको छैन, होमस्टेमा पर्यटक आकर्षित गर्ने स्रोतसमेत बनेको छ। यसले हराउँदै गएको परम्परागत वास्तुकलालाई पर्यटनसँग जोडेर जीवित राख्न सकिने सम्भावना पनि देखाएको छ।
मर्स्याङ्दी गाउँपालिका–३ ढक्कैका स्थानीय पूर्णबहादुर गुरुङले पुराना घुमाउने घर भत्काएर आधुनिक घर निर्माण गर्ने क्रम बढेसँगै मौलिक संरचना हराउँदै गएको बताए।
उनका अनुसार भविष्यमा पुरानै सामग्री र शैलीमा घुमाउने घर निर्माण गर्न कठिन हुन सक्छ। यद्यपि आधुनिक निर्माण सामग्री प्रयोग गरेर भए पनि गाउँको मौलिक स्वरूप जोगाउने विकल्प खोज्न सकिने उनको भनाइ छ।
“भविष्यमा पुरानै शैलीको घुमाउने घर बनाउन सम्भव नहोला,” उनले भने, “तर सिमेन्टलगायत आधुनिक सामग्री प्रयोग गरेर भए पनि गाउँघरको परम्परागत स्वरूप झल्किने घर निर्माण गर्ने सोच छ।”
एक दशकअघिसम्म जिल्लाका ग्रामीण बस्तीमा विशेषगरी खरले छाएका सयौँ घुमाउने घर थिए। अहिले ती औँलामा गन्न सकिने अवस्थामा पुगेपछि स्थानीय ज्येष्ठ नागरिक चिन्तित छन्। उनीहरूका अनुसार घुमाउने घर क्रमशः दुर्लभ सम्पदामा परिणत हुँदै गएका छन्।
घुमाउने घर हराउनु भनेको एउटा पुरानो भवनमात्र नासिनु होइन। त्यससँगै स्थानीय निर्माण सीप, वास्तु परम्परा, जीवनशैली र मौलिक पहिचान पनि लोप हुँदै जानु हो।
नेपाली मौलिक पहिचान झल्काउने बाँकी घरको अभिलेखीकरण, संरक्षण र पुनर्निर्माण गर्नुका साथै नयाँ पुस्तालाई तिनको महत्त्व बुझाउन आवश्यक रहेको स्थानीय बताउँछन्। यस्ता सम्पदालाई पर्यटनसँग जोडेर जीवित राख्ने प्रयासले परम्परा र आधुनिकताबीच सेतु बनाउन सक्ने उनीहरूको विश्वास छ।




