सरस्वती न्यौपाने/रासस
रसुवा, २४ भदौ — दशौँ हजार नागरिकलाई प्रभावित बनाएको भदौ १० गतेको बाढी सम्झँदा रसुवावासीको आङ सिरिङ्ग हुन्छ, आँखा रसाउँछन् र मन भक्कानिन्छ।
हिमाली क्षेत्रबाट कल्पनै गर्न नसकिने गरी उर्लिएको बाढीले भोटेकोसी र त्रिशूली नदी किनारका सुन्दर बस्ती तथा भूगोललाई क्षणभरमै क्षतविक्षत बनायो। नेपाल–चीन सीमास्थित केरुङ अन्तर्राष्ट्रिय नाकामा कार्यरत दुवै देशका कर्मचारीसहित ठूलो मानवीय क्षति भयो। दशकौँ लगाएर निर्माण गरिएका भौतिक संरचना ढले र नदी किनारका बस्ती खण्डहरमा परिणत भए।
प्रभावित क्षेत्र सडक र सञ्चार सञ्जालबाट पूर्ण रूपमा विच्छेद भए। बाढीमा हराएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेला परेको छ भने पाँच हजारभन्दा बढी अझै सम्पर्कविहीन छन्। मानसरोवर र गोसाइँकुण्डको यात्रामा रहेका यात्रुसहित ५०० भन्दा बढी विदेशी पनि सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ।
बाढीसँगै आएको लेदोसहितको छालले विद्यालयमा पढिरहेका विद्यार्थी, कार्यस्थलमा खटिएका सुरक्षाकर्मी, घरधन्दा गरिरहेका गृहिणी, व्यापार गरिरहेका व्यवसायी तथा सुरुङमा काम गरिरहेका इन्जिनियर र मजदुरसहित ठूलो सङ्ख्यामा मानिसको ज्यान लियो। सडक भत्किएर खोँचमा परिणत भए।
चारैतिर हिलो फैलियो। भोटेकोसी र त्रिशूली किनारका कतिपय क्षेत्र सिमेन्टले ढलान गरिएको मैदानजस्तै देखिन थाले। परिवार, आफन्त र धनसम्पत्ति गुमाएका मानिसको आँसु र चित्कारबीच हेलिकप्टर नै बाँच्ने र बचाउने प्रमुख आधार बन्यो।
बाढीले पुलपुलेसा बगाएका कारण वारिपारि गर्न र एउटा गाउँबाट अर्को गाउँ पुग्नसमेत असम्भवजस्तै थियो। यही त्रासदीबीच रसुवाको अस्थायी हेलिप्याडमा क्याप्टेन प्रिया अधिकारीको हेलिकप्टर उत्रियो।
त्यस दिन सम्झँदै उनी भन्छिन्, “मेरो वरिपरि आफन्त गुमाएर रोइरहेका मानिस, बाढीपहिरोमा घाइते भएकाको छटपटी र टोलाइरहेका वृद्धवृद्धाको भीड थियो। मौसम असाध्यै प्रतिकूल थियो। बाक्लो कुहिरो र कालो बादलले रसुवाका अप्ठ्यारा पहाडका टाकुरा पूरै ढाकेका थिए। हावाको गति तीव्र थियो। यस्तो अवस्थामा उडान भर्नु भनेको सिधै मृत्युको ककपिटमा बस्नुसरह थियो।”
प्रभावित क्षेत्रका स्थानीय र उद्धारकर्मी आकाशतिर हेर्दै सहायता आउने प्रतीक्षामा थिए। त्यही निसासिँदो बादल छिचोल्दै र पहाडका कापबाट जोगिँदै एउटा हेलिकप्टर धुञ्चेको आकाशमा देखियो।
ब्लेडको चर्को आवाजबीच हेलिकप्टर जमिनमा टेक्यो र ककपिटको ढोका खुल्यो। उद्धार उडानका लागि उपयुक्त पोसाक, एभिएटर चस्मा र अनुहारमा गम्भीर एकाग्रता बोकेर क्याप्टेन अधिकारी बाहिर निस्किइन्।
मैले उनलाई नजिकबाट नियाल्ने अवसर पाएँ। उनको अनुहारमा न थकान देखिन्थ्यो, न प्रतिकूल मौसमको भय। उनको ध्यान जतिसक्दो छिटो घाइते र जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा पुर्याउनेमा केन्द्रित थियो।
हेलिकप्टरको इन्जिन बन्द नहुँदै उनी हिलोमा कुद्दै उद्धारमा खटिइन्। बाढीपहिरोमा घाइते भएका वृद्धवृद्धालाई बोकेर हेलिकप्टरसम्म पुर्याउन सघाउनेदेखि रोइरहेका बालबालिकालाई सम्झाएर सिटमा सुरक्षित रूपमा बाँध्नेसम्मका काममा उनी आफैँ लागिरहिन्। हिलो र पीडितको आँसुबीच देखिएको उनको सक्रियतामा मानवीय संवेदना र कर्तव्यप्रतिको समर्पण झल्किन्थ्यो।
सामान्य अवस्थामा पनि हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई उडान गर्न पाइलटले ठूलो कसरत गर्नुपर्छ र अनुकूल मौसम पर्खनुपर्छ। तर रसुवाको कठिन भूगोल, साँघुरो उपत्यका र कतिपय अवस्थामा शून्यप्रायः दृश्यताबीच पनि अधिकारीले एकै दिन १० पटकसम्म उडान भरिन्।
घाइतेलाई लिएर काठमाडौँ वा सुरक्षित अस्पताल पुग्नु र तत्कालै रसुवाको जोखिमपूर्ण आकाशमा फर्किनु सामान्य व्यावसायिक जिम्मेवारीमात्र थिएन। प्रत्येक उडानमा बदलिइरहने मौसम, कुहिरोले छोपिएका पहाड र साँघुरा खोँचसँग जुध्नुपर्ने चुनौती थियो।
हेलिकप्टर आकाशतर्फ उड्दा भुइँमा पर्खिरहेका मानिसका आँखामा आशा पलाउँथ्यो। त्यो फर्किएर आउँदा केही मानिस सुरक्षित स्थान वा अस्पताल पुगिसकेका हुन्थे।
उडान र उद्धारबीचको छोटो विश्राममा मैले हेलिप्याडको एक छेउमा अधिकारीसँग कुराकानी गर्ने प्रयास गरेँ। हेलिकप्टरको चर्को आवाज र तीव्र हावाबीच पसिना पुछ्दै उनले भनिन्, “जब म ककपिटमा बस्छु र हेलिकप्टरले जमिन छाड्छ, मलाई अगाडिको खराब मौसम वा खतराको महसुस हुँदैन। मेरो दिमाग र नजरमा उद्धारको पर्खाइमा भुइँमा छटपटाइरहेका निर्दोष अनुहार मात्र आउँछन्। उनीहरूलाई समयमै बचाएर सुरक्षित ठाउँमा पुर्याउन पाउनु नै मेरो उडानको सबैभन्दा ठूलो सार्थकता र ऊर्जा हो।”
मिस नेपालको मञ्चदेखि नेपाली आकाशसम्मको यात्रा गरेकी अधिकारी देशकी पहिलो महिला हेलिकप्टर क्याप्टेन हुन्। हिमाली क्षेत्रमा उद्धार उडानको अनुभव सँगालेकी उनी बाढीपछि नागरिकको जीवन बचाउने अभियानमा अहोरात्र खटिइन्।
रसुवा पुगेपछि उनको दैनिकी उद्धार उडानमै केन्द्रित रह्यो। यस अवधिमा उनले एक सयभन्दा बढी उडान गरिन्। विशेषगरी टिमुरे र नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा फसेका, घाइते र अलपत्र परेका मानिसको उद्धारमा उनको हेलिकप्टर निरन्तर उडिरह्यो।
बाढीले रसुवाको भूगोलमात्र बदलिदिएन, यसले देशभरका मानिसलाई स्तब्ध बनायो। त्यही विनाश र पीडाबीच क्याप्टेन अधिकारीले भरेका उडानले सहायता कुरिरहेका मानिससम्म जीवनको आशा पुर्याए।
जोखिमपूर्ण आकाशमा दिनमा १० पटकसम्म उड्दै जीवन बचाउने अभियानमा खटिएकी अधिकारीको साहस रसुवाको विपत्तिबीच देखिएको मानवीय समर्पणको स्मरणीय कथा बनेको छ।




