Logo

७ मंसिर २०८३, सोमबार

कवि प्रज्वल अधिकारीको पहिलो कविता सङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा उनको कविता सङ्ग्रह सार्वजनिक भएको हो।

बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको सङ्ग्रह सार्वजनिकीकरण कार्यक्रममा वक्ता कविहरु दिनेश अधिकारी, श्रवण मुकारुङ र प्रतिसरा सायमीका साथमा लेखक अधिकारी, अंकल मुक्तिनाथ अधिकारी र हजुरबुवा माधव सुबेदीले संयुक्त रुपमा कृति सार्वजनिक गरे। वक्तात्रय कविहरुले अधिकारीको कृतिमा समेटिएका विविध आयाम बोकेका कविताहरुले गहिरो छाप छोड्ने बताए।

कवि मुकारुङले ‘अस्तित्वको ब्रह्माण्ड’का कविता पढ्दै जाँदा विशिष्ट कवि मोहन कोइरालाको झझल्को आउने र यसरी झझल्को आउनु एउटा कविको सफलता हो भनी व्याख्या गरे। उनका अनुसार कृतिमा ज्ञान र ध्यानले लेखिएका स्वच्छन्द र परिष्कृत कविताहरु समावेश छन्।

कवि सायमीले अधिकारीका कविताका मन परेका पंक्तिहरू वाचन गरिन् जसमा ‘आमाको दीक्षान्त’ शीर्षकको कविता पनि थियो-

आज ऋण तिर्ने सुरमा छ दाउरा
जसलाई आमाले जिन्दगीभर बोकिन्
उसले आज आमालाई बोकेको छ।

अर्का कवि दिनेश अधिकारीले प्रज्वल अधिकारीका कविता वर्तमान समयका समालोचकहरूले पढेर समालोचना गर्नुपर्ने बताए।

कवि प्रज्वल अधिकारीले लमजुङबाट आउँदा कान्छो अंकलको हात समाएर आएको, आउँदा पैसा नभएको र अहिले पैसा नभए पनि माया गर्ने धेरै पाठक पाएको बताए। साथै उनले श्रीमती अस्मी सुबेदी आफ्ना कविताको पहिलो पाठक रहेको समेत जिकिर गरे।

छोरा अमोघ अधिकारीले बुबाको कविता वाचन गरेसँगै सुरु भएको कार्यक्रमको संघारमा लेखक प्रज्वल अधिकारीले सङ्ग्रहबाट दुई कविता वाचन गरे। कार्यक्रमको सञ्चालन बुकहिलका प्रमुख भुपेन्द्र खड्काले गरेका थिए।

‘अस्तित्वको ब्रह्माण्ड’लोकार्पणमा सहभागीहरू।

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *