
वसन्त ऋतु विदा भएर ग्रीष्म ऋतु आउन लागेको छ । रुखका उदास हाँगाहरूले पालुवा हाल्न थालेका छन् । तर मौसम उति गतिलो छैन । नयाँ खेतीबालीका लागि वर्षात् भएको छैन । नयाँ पालुवासँगै पल्लिवत हुनु पर्ने पर्यावरण अलिक निस्सासिँदो छ । धुलोमैलोको तह यति बाक्लिएको छ कि घाम पृथ्वीमा खस्न डराइरहेझैँ लाग्छ ।
पत्रकारितासँगै काठमाडौंका सडकमा निकै वर्ष लम्किएका मेरा गोडाहरू अचेल गाउँमै फर्किएका छन् । पछिल्लो समय खेती किसानीमै रमाउँदै म यो व्यास भूमिको आफ्नै पुख्र्यौली थलोमा छु । चैते धान रोप्न खेतमा कुलो डोहो-याउँदै गर्दा आएको एक उदास खबरले स्तब्ध छु । हावाको विरहलाग्दो सुस्केरामा ती जोहोदा मानिसलाई सम्झिरहेछु, जसको नाम नै नेपाली पत्रकारिता क्षेत्रमा एक मानक बन्न काफी छ ।
त्यो नाम हो– भैरव रिसाल । दीर्घजीवन बाँचेर सबैलाई एक निष्ठा र सत्मार्गमा हिड्न सिकाउने भैरव दाइले भर्खरै हामीबाट भौतिक जीवनबाट बिदा लिनु भएछ । कुलोको डिलमा बसेर म ती प्रेरक अग्रजलाई सम्झिरहेछु ।
भैरव रिसाल नेपाली पत्रकारिता क्षेत्रको एक अग्रज व्यक्तित्व हुनुहुन्थ्यो । मानिसको आयुका हिसाबले उहाँले बाँच्न पाउनु भएको ९७ वर्षको उमेर पूर्ण आयु भन्न सकिन्छ । यद्यपि मानिसका लागि मृत्यु प्रिय हुन सक्दैन । आइतबार मध्यरात नै उहाँ जानु भएको खबर पाएदेखि मन चिसो भएको छ ।
भैरव रिसाल एक पत्रकार मात्र नभई सचेत बौद्धिक नागरिक हुनुहुन्थ्यो । उहाँ सत्य र निर्भीकताको प्रतीक मानिनुहुन्छ । उहाँले पत्रकारितालाई सत्यको खोजको रूपमा लिनुहुन्थ्यो भन्ने लाग्छ । सत्यसँग सम्झौता नगर्नु उहाँको चरित्र र पत्रकारितामा उहाँले गर्नु भएको अभ्यास थियो ।
उहाँले पत्रकारिता सुरु गर्दाताका नेपालमा यस क्षेत्रमा पाइला राख्नु आफैंमा एकदमै चुनौतीपूर्ण कर्म थियो । त्यो बेला न त प्रेस स्वतन्त्रता, न त वाक स्वतन्त्रता नै थियो । त्यस्तो कालमा पनि उहाँले कलम चलाउन छोड्नु भएन ।
आज भैरव रिसाल भन्नेबित्तिकै एक खिरिलो र फुर्तिलो कदका कलमजीविको तस्विर आँखामा आउँछ । उहाँको नम्बर एक विशेषता भनेको सधै फुर्तिलो र खिरिलो रहनु हो । एउटा पत्रकार सँधै स्फूर्त रहनु पर्छ भन्ने उहाँको मान्यता थियो ।
भैरव रिसालले जीवनभर सम्वाददाताकै रूपमा काम गर्नु भयो । क्षमताका हिसाबले सम्पादक वा त्यस्तै जिम्मेवारी लिन नसक्ने भएर होइन । उहाँ असाध्यै चनाखो हुनुहुन्थ्यो । समाजका हरेक मुद्दामाथि विशेष चासो राख्नुहुन्थ्यो । एउटा पत्रकारका रूपमा उहाँ आँखा, कानलगायतका इन्द्रियहरू जागा राख्ने उहाँको स्वभाव थियो । उहाँ सधैं तन्दुरुस्त रहनुुहुन्थ्यो कि उहाँको जीवनमा विराम, अर्धविराम केही पनि नभएको व्यक्ति हुनुहुन्थ्यो । उहाँ जहिले पनि हिँड्ने, जहिले पनि जोशमा काम गर्ने अनि कुरा गर्नु पर्दाखेरि पनि त्यति नै रमाइलोसँग गर्ने । उहाँको त्यस खालको फुर्ति–फार्तिलो, जाँगरिलो छविले नै मलाई व्यक्तिगत रूपमा विशेष प्रभाव पारेको थियो ।
त्यस्तै, दीर्घ साधना उहाँको अर्को ठूलो योगदान हो । उहाँले जे काममा लाग्यो, जीवनलाई त्यही हिसाबमा एकसरो बुनेको बुनेकै हिडिरहनु भयो । यो क्षमता तथा विशेषता भैरव दाइको दोस्रो महत्वपूर्ण योगदान हो । उहाँबाट ममा परेको यो गहिरो छाप हो । तेस्रो, बिनापूर्वाग्रह, निश्चल भएर, खुला मनले आफ्नो कर्ममा लीन हुने उहाँको स्वभाव थियो । हामी जस्तो लेख्दै, पढ्दै, हुर्किदै गरेको लेखक पत्रकारहरूलाई चाहिँ उहाँले पारेको अर्को एकदमै ठुलो प्रभाव हो यो ।
उहाँ आफ्नो जमानामा विभिन्न कारणले नेपालका विभिन्न भेगमा घुमफिर गर्नु भयो । उहाँको विचार थियो, आफैंले बोध गरेर, आफ्नै आँखाले देखेर प्राप्त गरेको ज्ञान सबभन्दा शक्तिशाली हुन्छ, दीगो हुन्छ । त्यसकारण उहाँ भन्नुहुन्थ्यो, ‘आफैंले घुमेर, पुगेर हेर, आफ्नै आँखा, हात र खुट्टामा पहिलो विश्वास गर, अनि मात्र दृष्टिकोण बनाऊ ।’ यो मलाई पनि बोध भएको कुरा हो ।
त्यस कालखण्डतिर विभिन्न पेशागत, नीतिगत साधकहरूले नेपाल राम्ररी घुमेको देख्छु । आफ्नै खुट्टामा विश्वास गर भन्ने उहाँको विचार र अभ्यासबाट असाध्यै ठूलो प्रेरणा पाएको हुँ । ‘एकोहोरो साधनाले निश्चल दृष्टिकोण र जीवनमा निर्मलपन ल्याउँछ । त्यसले दुराग्रहहरूबाट मुक्त भइन्छ,’ भन्ने उहाँको जीवन दर्शन थियो । यस्तै विचारका धनी भएर होला उहाँलाई मैले कुनै एउटा पन्थको पछि लागेको जस्तो देखिनँ । उहाँ कहिल्यै वृद्ध जस्तो पनि देखिनु भएन, जहिल्यै भेट्दा पनि उहाँमा बालसुलभता पाइन्थ्यो । यसो भएर मेरो आफ्नो अनुभवमा भैरव रिसाल दाइचाहिँ सधैँ नै अमर प्रेरणा पुरुष हो ।
उहाँसँग उस्तो बाक्लै संगत त गर्न पाइनँ । तर म कान्तिपुरको सम्पादक छँदा उहाँले हामीकहाँ लेख्नुहुन्थ्यो, त्यसो हुँदा केही न केही संगतको अवसर पाएँ । उहाँसँग यात्राहरू पनि गरेको सम्झना छ, त्यस्ता यात्राहरूमा उहाँ यति रमाइलोगरि कुराकानी सुनाउनु हुन्थ्यो कि हामी उहाँको अनुभव सुनेर बाटो काटेको पत्तै नपाउने, हिँडेको थाहा नहुने । उहाँ पुरानो जमानाका कुराहरू बडो बिम्बमा सुनाउनु हुन्थ्यो, अनि घटनालाई असाध्यै रमाइलो तरिकाले सुनाउनु हुन्थ्यो । एक रिपोर्टरको शिल्प, त्यो कथा वाचकको शिल्प उहाँको कुराकानीमा बोध गर्न पाइन्थ्यो । जीवनमा निरन्तर सक्रियता, चनाखोपन, जिज्ञासुपन विकास हुनुमा चाहिँ मैले हिजो पत्रकारितामा होस् वा आज कुलो, खेती किसानीमा रहँदा उहाँबाट प्रेरित भएँ भन्ने लाग्छ ।
‘रिसालले भने– कालापानी हाम्रो हो’
उहाँले राष्ट्रिय राजनीतिलाई सँधै तरंगित पार्न सक्ने काम गर्नु भएको छ । हाम्रो सिमानाको मुद्दामा उहाँले गर्नु भएको कामले ठूलो प्रभाव पारेको थियो ।
भैरव रिसालले २०१८ सालमा केन्द्रीय तथ्यांक विभागको अस्थायी अधिकृत रूपमा लिम्पियाधुरा (कालापानी) क्षेत्रमा जनगणना गराउनुभएको थियो । उहाँको नेतृत्वमा खरदार, मुखिया र गणकहरूको टोलीले उक्त क्षेत्रमा जनगणना सम्पन्न गरेको थियो । उक्त जनगणनामा नाबी, गब्र्याङ, गुँजी, छाङ्ग्रु, र पिंकर गाउँहरू समेटिएका थिए ।
उहाँका अनुसार, महाकाली नदीको वास्तविक मुहान लिम्पियाधुरा नै हो, तर भारतले तिरतिरे धारालाई कालीको मुहान भनेर झुटो दाबी गरेको छ । उहाँले २०१९ सालसम्म यो विषय निर्विवाद रहेको र चीन–भारत युद्धपछि मात्र विवाद उत्पन्न भएको बताउनुभएको छ ।
उहाँका अनुसार, लिम्पियाधुरा क्षेत्रका बासिन्दाहरूले नेपाल सरकारलाई तिरो तिर्दै आएका थिए, जसले उक्त क्षेत्र नेपालको भूभाग भएको प्रमाणित गर्छ । भैरव रिसालको यो अनुभव र रिपोर्टहरूले कालापानी क्षेत्र नेपालको अभिन्न अंग भएको पुष्टि गर्छ । हाम्रो चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लाको भारतसँगको सीमा कालापानी अर्थात् लिम्पियाधुराबारे बहस हुँदा उहाँको त्यो लिखत प्रमाणका रूपमा पेश हुने गरेको छ ।
भैरव दाइले यसरी गर्नुभएका कतिपय स–साना जस्ता लाग्ने कामहरूले समाज र राष्ट्रकै लागि ठुलो योगदान मिलेको छ । भौतिक रूपमा अब हामीमाझ नरहनु भए पनि उहाँ नेपाली पत्रकारिता जगत्कै उदाहरणीय र अनुकरणीय व्यक्तित्व हुनुहुन्छ । अग्रज व्यक्तित्व भैरव रिसालप्रति स–सम्मान सम्झना ।
***