नेपाल र युरोपमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिबीच सहकार्य विस्तार, ज्ञान आदानप्रदान र व्यावसायिक सञ्जाल निर्माण गर्ने उद्देश्यले आयोजित नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६ जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयमा सम्पन्न भएको छ।
‘नेपालका लागि, नेपालीबाट’ भन्ने मूल भावसहित आयोजित सम्मेलनमा नेपाल, जर्मनी, फिनल्यान्ड, डेनमार्क र स्विट्जरल्यान्ड गरी पाँच देशका करिब ६० जना वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, चिकित्सक, स्वास्थ्य अनुसन्धानकर्मी, इन्जिनियर, प्रविधिविज्ञ, उद्यमी, विद्यार्थी तथा विभिन्न प्राविधिक क्षेत्रमा कार्यरत पेशाकर्मी सहभागी भएका थिए।
सम्मेलनको आयोजना जैविक विज्ञान तथा जैविक प्रविधि अनुसन्धान संस्था, ट्युबिङ्गेन विश्वविद्यालय, जर्मनीस्थित नेपाली रुट्स संस्था र काठमाडौं विश्वविद्यालय जैविक प्रविधि पूर्वविद्यार्थी सञ्जालको सहकार्यमा गरिएको हो। सम्मेलनको कार्यक्रम संयोजन अनुसन्धान संस्थाका सहसंस्थापक तथा अध्यक्ष प्रज्वल राजभण्डारीले गरेका थिए।
सम्मेलनमा विज्ञान, प्रविधि, स्वास्थ्य, जीवविज्ञान, जैविक प्रविधि, इन्जिनियरिङ, गणितलगायत विभिन्न अनुसन्धान क्षेत्रका विषयमा प्रस्तुति तथा छलफल भएका थिए। विशेषगरी नेपालमा भइरहेका वैज्ञानिक अनुसन्धान तथा प्राविधिक पहल, विदेशमा रहेका नेपाली विज्ञहरूको भूमिका र उनीहरूको ज्ञान तथा अनुभवलाई नेपालको अनुसन्धानसँग जोड्न सकिने सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो।
ट्युबिङ्गेन विश्वविद्यालयका प्राध्यापक ह्याराल्ड ग्रोस र टुर्कु विश्वविद्यालयकी डा. एभेलिना मुनुक्काले पनि आफ्ना अनुसन्धान तथा विज्ञतासम्बन्धी प्रस्तुति दिएका थिए।
सम्मेलनको महत्त्वपूर्ण सत्रका रूपमा ‘नेपाली डायस्पोरा र उनीहरूको संलग्नता’ विषयमा छलफल गरिएको थियो। उक्त सत्रमा विदेशमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, इन्जिनियर तथा प्राविधिक जनशक्तिले नेपालको शैक्षिक, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रको विकासमा कसरी योगदान दिन सक्छन् भन्ने विषयमा चर्चा भएको थियो।
नेपालका विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रसँग विदेशमा रहेका नेपाली विज्ञहरूले संयुक्त अनुसन्धान, ज्ञान हस्तान्तरण, विद्यार्थी तथा अनुसन्धानकर्ताको क्षमता विकास र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमार्फत सहकार्य गर्न सक्ने सम्भावनाबारे छलफल गरिएको थियो।
नेपाली रुट्स संस्थाका अध्यक्ष डा. कृतन गौतमले संयोजन गरेको उक्त सत्रमा जर्मनी, डेनमार्क तथा अन्य युरोपेली मुलुकमा कार्यरत नेपाली वैज्ञानिक र अनुसन्धानकर्ताहरू सहभागी थिए।
छलफलका क्रममा विदेशमा रहेका नेपाली जनशक्तिको अनुभव र विशेषज्ञतालाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्न सके अनुसन्धान, शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने विषयमा जोड दिइएको थियो।
सम्मेलनमा काठमाडौं विश्वविद्यालयका पूर्वविद्यार्थीहरूको अनुसन्धान, शैक्षिक यात्रा तथा व्यावसायिक योगदानसम्बन्धी छुट्टै सत्रसमेत आयोजना गरिएको थियो।
युरोपका विभिन्न देशमा कार्यरत विश्वविद्यालयका पूर्वविद्यार्थीहरूले आफ्नो अध्ययन, अनुसन्धान र व्यावसायिक अनुभव प्रस्तुत गर्दै आफूले हासिल गरेको ज्ञान तथा सीपबारे जानकारी गराएका थिए। जर्मनी, फिनल्यान्ड र स्विट्जरल्यान्डमा कार्यरत पूर्वविद्यार्थीहरूले स्वास्थ्य तथा सूक्ष्मजीवसम्बन्धी अनुसन्धान, जैविक प्रविधि, इन्जिनियरिङलगायत क्षेत्रमा भइरहेका कामबारे प्रकाश पारेका थिए।
यस सत्रले पूर्वविद्यार्थीबीचको सम्बन्ध र सञ्जाललाई थप सुदृढ बनाउनुका साथै उनीहरूको विशेषज्ञता तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको अनुसन्धान र शैक्षिक विकाससँग जोड्ने सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गरेको थियो।
सम्मेलनकै अवसरमा नेपालस्थित जैविक विज्ञान तथा जैविक प्रविधि अनुसन्धान संस्था र जर्मनीस्थित नेपाली रुट्स संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
समझदारीपत्रले नेपाल र युरोपमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिक जनशक्तिबीच अनुसन्धान, ज्ञान तथा अनुभव आदानप्रदान र संस्थागत सहकार्यलाई व्यवस्थित रूपमा अघि बढाउन आधार तयार गरेको छ।
यस सहकार्यअन्तर्गत नेपालका अनुसन्धान तथा शैक्षिक संस्था र युरोपमा कार्यरत नेपाली तथा अन्य अनुसन्धानकर्ताबीच सम्पर्क विस्तार गर्ने, सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने र भविष्यमा संयुक्त कार्यक्रम तथा परियोजना सञ्चालनका लागि वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।
सम्मेलनमा सहभागीहरूले नेपालमा वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा रहेका अवसर र चुनौतीबारे समेत छलफल गरेका थिए। विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय अनुभव, विशेषज्ञता र सञ्जाललाई नेपालको आवश्यकतासँग जोड्न सके देशको अनुसन्धान क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिएको थियो।
आयोजकहरूका अनुसार सम्मेलनको उद्देश्य विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई एउटै कार्यक्रममा भेला गराउनुमा मात्र सीमित छैन। उनीहरू र नेपालका विश्वविद्यालय, अनुसन्धान संस्था तथा अन्य सरोकारवालाबीच दीर्घकालीन सम्बन्ध र सहकार्यको आधार निर्माण गर्नु पनि सम्मेलनको प्रमुख लक्ष्य हो।
नेपालबाहिर रहेका नेपाली जनशक्तिको ज्ञान, सीप र अनुभवलाई देशको विकाससँग जोड्ने प्रयासलाई संस्थागत तथा निरन्तर बनाउन अझै प्रशस्त सम्भावना रहेको सहभागीहरूले बताएका थिए।
आयोजकहरूले सम्मेलनबाट स्थापित सम्पर्क तथा छलफललाई निरन्तरता दिँदै नेपाल र युरोपबीच विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा ठोस सहकार्य विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जोडिऔँ, सहकार्य गरौँ र नेपालको वैज्ञानिक तथा प्राविधिक विकासमा योगदान गरौँ भन्ने को मूल सन्देश सहित सम्मेलन आयोजना भएको हो।




