लुम्बिनी प्रदेशको कला, संस्कृति, इतिहास र पर्यटनलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले असोज २२ देखि २४ गतेसम्म पाल्पाको ऐतिहासिक सहर तानसेनमा पहिलो लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (लिफ) आयोजना हुने भएको छ। कथा मण्डला, काठमाडौँ र सञ्चार मञ्च, पाल्पाको आयोजनामा तथा तानसेन नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्धनमा महोत्सव हुन लागेको हो।
महोत्सवमा नेपालसहित विभिन्न देशका करिब २५ देखि ३० वटा फिचर कथानक, लघु कथानक तथा वृत्तचित्र प्रदर्शन गरिने आयोजकद्वारा जनाइएको छ। महोत्सवमा सामाजिक महत्व, मौलिक कथा, सांस्कृतिक पक्ष र कलात्मक गुणस्तरलाई प्राथमिकता दिइएका चलचित्र समावेश गरिने छन्। चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता, कथाकार तथा कलाकारसँग दर्शकको प्रत्यक्ष अन्तर्क्रिया र लुम्बिनी प्रदेशको कला, संस्कृति तथा पर्यटनसम्बन्धी प्यानल छलफलसमेत हुनेछन्।
बुद्ध जन्मभूमि लुम्बिनी, ऐतिहासिक तानसेन, रानीमहल, ऋषिकेश क्षेत्र, कपिलवस्तु, बर्दिया तथा दाङका धारापानी मन्दिर र अम्बिकेश्वरीजस्ता क्षेत्रलाई चलचित्रका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने महोत्सवको उद्देश्य रहेको बताइएको छ। प्रदेशका विभिन्न स्थानलाई भविष्यमा चलचित्र छायांकनका गन्तव्यका रूपमा विकास गर्दै स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष्यसमेत आयोजकको छ।
महोत्सवका संयोजक पाण्डव खत्रीका अनुसार, महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित नभई लुम्बिनी प्रदेशको पर्यटन, संस्कृति र चलचित्रबीचको सम्बन्धलाई थप बलियो बनाउने प्रयास हो। “हामी लुम्बिनी प्रदेशका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई सिनेमाको माध्यमबाट विश्वसामु चिनाउन चाहन्छौँ। यो महोत्सव चलचित्र हेर्ने अवसरसँगै भविष्यमा यहाँ छायांकन र पर्यटनको वातावरण बनाउने एउटा सुरुवात हो,” खत्रीले भने।
महोत्सवमा करिब २४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने स्वदेशी तथा विदेशी गरी पाँच हजारभन्दा बढी दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।




