नीलम कार्की ‘निहारिका’को ऐतिहासिक आख्यान कृति ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार २०८२ प्रदान गरिएको छ। चितवनको कविडाँडा साहित्य समाजले लेखक कार्कीलाई दुई लाख १ सय ६० रुपैयाँ राशिसहित सम्मान गरेको हो।
‘राजमाता’ उपन्यासमा इतिहासमा महिलाहरूले निर्वाह गरेको प्रभावशाली भूमिकालाई ऐतिहासिक तथ्यका आधारमा आख्यानात्मक रूपमा प्रस्तुत गरिएको छ। महिलाहरू पारिवारिक भूमिकामा मात्र सीमित नभई राज्यको नीति, निर्णय र शासन सञ्चालनमा समेत महत्त्वपूर्ण शक्ति र नेतृत्वका रूपमा स्थापित हुन सक्छन् भन्ने पक्षलाई उपन्यासले उजागर गरेको छ। इतिहासका पानामा ओझेलमा परेका महिला नेतृत्व र उनीहरूको योगदानलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसरसमेत यसले प्रदान गर्छ।
कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार वर्षभरि प्रकाशित आख्यान कृतिमध्ये उत्कृष्ट छनोट गरेर राजमातालाई पुरस्कार प्रदान गरिएको हो। २०८२ सालमा प्रकाशित उत्कृष्ट आख्यान कृतिमध्येबाट राजमातालाई पुरस्कृत गर्ने घोषणा गत असोज ७ गते गरिएको थियो।
कविडाँडा साहित्य समाज २०६० सालमा चितवनको भरतपुरमा स्थापना भएको संस्था हो। समाजले २०७५ सालदेखि हरेक वर्ष आख्यान विधामा पुरस्कार प्रदान गर्दै आएको छ।





