Logo

८ बैशाख २०८२, आइतबार

झापा, मेचीनगर–९ स्थित होली बेल स्कुलको वार्षिक उत्सवमा दिइएको एक ओजस्वी भाषणका कारण आविष्कार राउत अहिले चर्चामा हुनुहुन्छ (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्) ।  २९ फागुनको उक्त भाषणपछिएसएससी दिने तयारीमा रहनुभएका उहाँलाई विभिन्न स्थानीय मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ।

के उहाँलाई थाहा थियो त,  उहाँका शब्द र आवाजले यति गहिरो प्रभाव पार्नेछन् ? पटक्कै थिएन । जब उहाँको भिडियो चर्चामा आयो, उहाँ स्वयं पनि अचम्मित हुनुभएको थियो l

आफ्नो मन्तव्यको आधार देशप्रेम भएको उहाँ बताउनुहुन्छ। भन्नुहुन्छ, ‘मलाई मेरो देशप्रति अपार माया छ। यही भावना मेरो प्रत्येक शब्दमा झल्किएको छ।’ देशको गौरवमय इतिहास, वीरताको गाथा, र सांस्कृतिक सम्पदाहरूको अध्ययन उहाँको रुचिको विषय हो । त्यसैले राष्ट्रको पहिचान जोगाउने व्यक्तित्वहरूबाट प्रेरित रहनुहुन्छ। त्यही प्रेरणाले उहाँलाई अभिव्यक्तिमा बलियो बनाएको छ ।

उहाँको वक्तृत्वकला केही समयदेखि स्थानीय तहमा याद गरिन थालिएको थियो, केही समयअघि मेचीनगरस्तरीय प्रतियोगितामा पनि उहाँले प्रथम स्थान हासिल गर्नुभएको थियो । एसइई परीक्षा नजिक आइपुग्दै गर्दा शिक्षकहरूले ‘केही छाप छोडेर जानुपर्छ’ भन्ने सन्देश दिनुभएको थियो र, उहाँले वार्षिकोत्सवको अवसरलाई गम्भीरतासाथ उपयोग गर्नुभयो ।

आविष्कारका अभिभावक उहाँलाई लिएर गर्व महसुस गरिरहनुभएको छ, स्कुल परिवार पनि । उहाँ आफ्नो चर्चाको जस स्कुल परिवारलाई समर्पण गर्नुहुन्छ, विशेष गरी भाइस प्रिन्सिपल सागर सरलाई। ‘उहाँले मलाई बोल्नका लागि प्रेरित गर्नुभयो, म सधैं उहाँप्रति ऋणी रहनेछु,’ उहाँ भन्नुहुन्छ।

सागर सर पनि मुस्कुराउँदै भन्नुहुन्छ, ‘उहाँको बोलीमा सधैं ऊर्जा हुन्थ्यो। आज त्यो ऊर्जाले आफ्नो पहिचान बनाएको छ।’

झन्नै रोकिएको मन्तव्य

प्रतियोगिताहरूमा भाग लिँदै आउनुभएका उहाँ केही सफल, केही असफल हुनुभएको छ। तर असफलताले उहाँलाई झन् सशक्त बनाएको छ। उहाँ बाल क्लबका उपाध्यक्ष हुनुहुन्छ, त्यहाँ पनि उहाँले आफ्नो विचार अभिव्यक्त गर्दै आउनुभएको छ।

जुन वक्तृत्वका कारण आविष्कार अहिले चर्चामा हुनुहुन्छ, खासमा त्यो रोकिनेवाला थियो । कार्यक्रमको समय तालिका लामो भएका कारण उहाँको मन्तव्य प्रारम्भमा रद्द गर्ने सल्लाह पनि भएको थियो । तर संयोग, मन्तव्यले समय पायो ।

‘स्कुलबाट दुई दिनअघि तयारी गर्न भनिएको थियो,’ उहाँ सम्झिनुहुन्छ, ‘तर अन्तिम समयमा समय तालिकाका कारण हटाउने कि भन्ने भएको थियो । तर अन्तिममा मैले अवसर पाएँ ।’ हतारमा लेखिएकोले मन्तव्यबारे उहाँका साथीहरूलाई समेत थाहा थिएन।

यसैबीच, सामाजिक सञ्जालमा उहाँबारे चर्चा चुलिएको छ। कसैले उहाँको वक्तृत्वलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन्  त कसैले रेस्लिङ कमेन्टेटरको शैली भनेका छन्। यस्ता प्रतिक्रियाहरूले उहाँलाई अचम्मित पार्नुका साथै उत्साहित बनाएको छ। विश्वविख्यात व्यक्तित्वहरूसँग तुलना हुँदा गर्वको अनुभूति हुनु स्वाभाविकै हो।

लक्ष्य निर्धारणको प्रश्न

भर्खर १६ वसन्त प्रवेश गर्नुभएका उहाँले अझै कुनै निश्चित मार्ग तय गर्नुभएको छैन, तर समाजसेवामा समर्पित हुने चाहना उहाँमा प्रबल छ। समाजको समुन्नतिका लागि योगदान दिने रहर छ।

देशको वर्तमान अवस्थाप्रति उहाँ सचेत हुनुहुन्छ। ‘युवाशक्ति नै राष्ट्रको सबैभन्दा ठूलो सम्पत्ति हो। यदि यसलाई सही दिशामा परिचालित गरियो भने हाम्रो पहिचान फेरि स्थापित गर्न सकिन्छ,’ उहाँ आत्मविश्वासपूर्वक भन्नुहुन्छ, ‘त्यसैले, मेरो मन्तव्यमा मैले युवाहरूलाई जागरूक बनाउने प्रयास गरेको हुँ।’

नेपाल श्रमशक्तिको खानी हो। यहाँ युवा पर्याप्त छन्। एक समय हाम्रो राष्ट्र गर्वले भरिएको थियो, तर आज त्यो गौरव धमिलिँदै गएको छ। यही चिन्ताले उहाँलाई युवाहरूलाई जागरूक बनाउने दिशामा अघि बढ्न प्रेरित गरेको हो। उहाँले स्कुलमा मन्तव्य दिँदा पनि भ्रष्ट्राचारप्रति तीखो प्रहार गर्नुभएको छ ।  

‘भ्रष्टाचारको कुरा गर्दा, हामी सबैलाई यसको वास्तविकता थाहा छ। हाम्रो मुलुकको अवस्था चिन्ताजनक छ। धेरैले मेरो भिडियो हेरिसकेपछि आलोचना पनि गर्लान्, तर म ती कुरामा धेरै सोच्दिनँ। म सत्य बोल्छु, किनकि मलाई थाहा छ, सत्य एकदिन थाहा हुनेछ।’

भविष्यमा राजनीति !

पत्रकारहरूले ‘भविष्यमा राजनीति गर्नुहुन्छ ?’ भन्ने प्रश्न सोध्न थालेपनि उहाँले यस विषयमा सोच्ने समय भएकै छैन । तर आफ्नो समाजसचेत मन्तव्यले सामाजिक चर्चा पाएपछि केही न केही सोच विकासमा सहयोग त पुग्दै होला । अनि, मुलुकको अवस्थाबारे गहिरो चासो देख्दा उहाँसँग केही गर्ने अठोट छ भन्ने भानचाहिँ हुन्छ । ‘हाम्रो प्रणालीमा एकै व्यक्तिले बारम्बार उच्च पद ओगटिरहनु राम्रो संकेत होइन। अब केही परिवर्तन गर्न आवश्यक छ,’ उहाँ भन्नुहुन्छ।

‘अहिले नै धेरै कुरा गर्दा आँट र जोश सानो देखिन सक्छ, तर कर्मशील हातहरूले नै इतिहास लेख्ने हुन्। जीवन संघर्षमय यात्रा हो। यहाँ निरन्तर लागिरहे मात्रै सफलता सम्भव छ। एक्लैले बाटो हिँड्न कठिन छ, तर सहयात्रीहरू पाइन्छन्। सही दिशामा अघि बढ्ने संकल्प गर्यौं भने, लक्ष्य धेरै टाढा छैन,’ उहाँको अभिव्यक्तिमा उर्जा सुनिन्छ । उहाँ आत्मविश्वासपूर्वक भन्नुहुन्छ—‘नेपाल हाम्रो मातृभूमि हो। हामी यसको सन्तान हौं। यदि हामीले हाम्रो राष्ट्र बनाइनौं भने, अरू कसले बनाउने?’

अहिले त, उहाँ एसएससी परीक्षाको तयारी स्कुलको होस्टेलमै बसेर गरिरहनुभएको छ। त्यो पहिलो प्राथमिकता पनि हो। त्यसपछि भविष्यले बाटो तय गर्ने नै छ ।

प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *