Logo

७ चैत्र २०८१, बिहिबार

लामो समयदेखि जनताले भन्दै आएका थिए, रुपान्तरका लागि अब नयाँ पुस्ता आउनु जरुरी छ । स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा यो समय आएजस्तो आभास हुन्छ । देशका धेरै स्थानीय निकायमा यसपटक युवा अनुहार देखिएको छ । काठमाडौं महानगरको प्रमुखमा कुनै राजनीतिक पार्टीको हैंसियत बिना स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रताले सिङ्गो राजनीतिमा तरङ्ग पैदा गरेको छ । अन्यत्र पनि पार्टी वा स्वतन्त्रबाट उठेका युवाले जीत हात पारेका छन् । यही श्रृङ्खलामा जोडिएका एक युवा जनप्रतिनिधि हुन् पाँचथरको तुम्बेवा गाउँपालिकाका बाबुराम खड्का । उनी नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनको पारिवारीक पृष्ठभूमि नै नेपाली कांग्रेस पार्टीसँग जोडिएको थियो । उनका हजुरबा र बुबा पनि सोही पार्टीको एक तहको जिम्मेवारीमा थिए । बाबुराम सानैदेखि नेतृत्व गर्न रुचाउने स्वभावका थिए । आफ्ना दौतरीहरू गाउँ छोडेर शहर वा विदेश लाग्दा उनी भने गाउँमै केही गर्ने सोचले अडिए । यसैकारण पार्टीको राजनीतिमा नेपाल तरुण दलमार्फत् जोडिए। यसैक्रममा २०६७ मा उनी नेपाल तरुण दलको सदस्य भए । २०७२ मा दलको पाँचथर जिल्ला कार्य समितिको उपाध्यक्षमा निर्वाचित भए। यसरी युवा पुस्तामाझ नै राजनीति यात्राको जग हालेका उनी २०७८ सालमा तुम्बेवाको पार्टी सभापति निर्वाचित भए । उनी भन्छन्, ‘नेपाली कांग्रेस देशलाई विभिन्न कालखण्डमा नेतृत्व गर्दै आएको पार्टी हो । २०७४ सालमा कांग्रेसकै नेतृत्वमा स्थानीय निर्वाचन हुँदा यो पार्टी मुलुकमा कमजोर स्थानमा देखिएको थियो । त्यसपछि पार्टीलाई गौण ठानी मुलुकलाई माथि उठाउन कांगे्रेसले गरेको पहललाई जनताले यसपटक राम्रै न्याय गरे ।’ नेपालको संविधान २०७२ ल्याउन र कार्यान्वयन गर्न नेपाली कांग्रेसले नेतृत्व गरेको हो । यो मुलुक र जनताको सही ढङ्गले नेतृत्व गर्ने पार्टीको रुपमा उनले नेपाली कांग्रेसलाई पाए ।
पाटीले उठान गरेका प्रजातान्त्रिक समाजवादको वैचारिक मुद्दालाई विश्वास गर्दै आएका बाबुराम जनताबीच विधिवत् रुपमा काम गर्ने आधार चाहन्थे । स्थानीय निर्वाचन आयो । यसअघिको अभ्यास हेर्दा प्रायः अघिल्लो स्थापित पुस्ताले नै नेतृत्व गर्दै आएका हुन् । जनताले पत्याउलान् नपत्याउलान्, टुङ्गो थिएन । जनतामाझ परीक्षणमा जाने हिम्मत जुटाए । पार्टी नेतृत्वले पनि विश्वास गरेर टिकट दियो । संयोगवश नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन बन्यो । उनले माओवादीको पनि साथ पाए । अन्ततः उनी नेकपा एमालेका आफूभन्दा अग्रज पुस्ताका गोविन्द तामाङलाई पराजित गर्दै तुम्बेवाको अध्यक्ष बने ।

चुनाव जितेर जनसेवा गर्ने सपथ लिइसके पनि उनको युवा अनुहारलाई जनताले परीक्षण र आशाको नजरले हेरेका छन् ।
तुम्बेवा, जिल्लाकै दुर्गम बस्ति भएको क्षेत्र भनेर चिनिन्छ । यो पालिका विकास निर्माण अझै पनि निकै पछाडि परेको छ । पालिकालाई माथि उठाउन उनी सबैभन्दा पहिले यहाँको शिक्षाको गुणस्तर विकास गर्नुपर्ने आवश्यकता देख्छन्।

अध्ययन/अध्यापनको परम्परागत शैलीलाई रुपान्तण गरी गुणस्तरमा फड्को मार्नु चुनौतीपूर्ण रहेको उनी बताउँछन् । यसका शैक्षिक क्षेत्रका विज्ञ, स्थानीयबासीहरुसँगको छलफल, सहकार्यमा नयाँ पहल गर्ने उनको सोच छ।

दुर्गम भएकै कारण, बाटो सुविधा गतिलो नभएकै हुँदा समयमा स्वास्थ्योपचार नपाएर अकालमा ज्यान गुमाउनु परेका अनेक घटना उनले गाउँमा देखेका छन्। सामान्य प्राथमिक उपचारकै अभावमा गाउँबासीले ज्यान गुमाउनु पर्ने अवस्थाप्रति किन अघिल्लो सरकार, अधिकारीहरू भनेजति जवाफदेही हुन सकेनन् ? उनलाई यस सवालले घोचिरहन्थ्यो । आफ्नो कार्यकालमा उनी जनस्वास्थ्य लागि प्रभावकारी कदम चाल्ने योजना ल्याउँदै छन् । भन्छन्, ‘भूगोलले धेरै साथ दिदैन होला, तर यथासम्भव सुविधा उपलब्ध गराउने पहल गर्ने छौँ ।’

यो पालिका कुनै समय आठ गाविसको शैक्षिक केन्द्र थियो । समय क्रमसँगै अन्यत्र विद्यालयहरू खुले । संख्यात्मक हिसाबले शिक्षालयहरू धेरै भए, तर तिनको गुणस्तर उठाउने धेरै पहल हुन सकेन। परिणामस्वरुप गुणस्तरीय शिक्षाका लागि स्थानीय विद्यार्थी पनि अन्यत्र जान वाध्य भए। नवनिर्वाचित अध्यक्ष बाबुराम विद्यार्थीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन गर्न प्रतिवद्ध छन्।

टोलटोलमा गाडी, घरघरमा बिजुली
विकासका सबै पूर्वाधारको पनि महत्वपूर्ण आधार सडक सञ्जाल हो । पालिका जोड्ने र यहाँ भित्रको सडक मौसमी प्रकृतिका मात्रै छन् । वर्षायामको भेलबाढी आएपछि बन्द हुने बाध्यतालाई तोड्न उनी सर्वप्रथम बाह्य क्षेत्रलाई जोड्ने मुख्य सडकको प्राथमकितामा राखी स्तरोन्नती गर्ने योजना ल्याउँदै छन्। त्यसपछि क्रमशः अन्य सडकहरूलाई व्यवस्थित गर्ने छन् । उनको सपना छ, प्रत्येक वडामा बस, ट्रक चल्न सक्ने गरी स्तरोन्नती गर्नु पर्ने छ।

पालिकाको केही वडामा विद्युत् सहकारी अन्तर्गत बिजुली जडान हुने क्रम जारी छ । यसलाई थप प्रभावकारी बनाउन चाँडै नै अनुगमन हुने पनि उनको भनाई छ । बाँकी वडामा विद्युत प्राधिकरणमार्फत् पोल टाँग्ने काम भइरहेको छ । त्यसलाई टोलटोलमा पुर्‍याउन यथासक्दो छिटो पहल गरिने भएको छ । भन्छन्, ‘आर्थिक क्षमता हुनेले त वर्षौंदेखि बिजुली नआए पनि सौर्य उर्जा जडान गरी टुकीलाई विस्थापित गरेका थिए । तर, विपन्नहरू आजसम्म पनि टुकी बाल्न मट्टितेल वा दियालोको जोहो गर्नु पर्ने दुःखमै छन् । आजको समयमा पनि अँध्यारोमा बस्न वाध्य हुनु भनेको लज्जाकै विषय हो । हामी चाँडै नै जनतालाई बिजुलीको उज्यालो दिदै छौँ ।’

सुख्खाग्रस्त यस क्षेत्रमा जनताालाई खानेपानीको व्यवस्थापन गर्न लामो अवधिदेखि ‘तमोर वृहत् लिफ्टिङ खानेपानी आयोजना’ निर्माण हुँदै छ । केही महिनाअघि मात्रै आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । पानीका लाइन जडान हुने क्रम जारी छ । केही ठाउँ जनश्रम गरी शाखा लाइन बिस्तार हुन बाँकी रहेका बाहेक ठाउँमा खानेपानी प्रवाह हुन थालेको पनि उनले जानकारी दिए । पालिकाको चार र पाँच नम्बर वडाका लागि नावाखोला खानेपानी लिफ्टिङ आयोजना सञ्चालनका क्रममा छ । उनका अनुसार यी दुई आयोजना पूर्ण भएपछि तुम्बेवा गाउँपालिकाका सबै नागरिकको घरघरमा शुद्ध पिउने पानी पुग्ने छ ।
यहाँका कृषकको आयस्तर उकास्न उनी कृषि क्षेत्रको विकास पनि ठोस योजना ल्याउने बताउँछन् । कृषि अनुदान, बीउ बिजनको उपलब्धता, प्रोत्साहन कार्यक्रम लगायत काममा पालिकाले पहल लिने छ।

अध्यक्ष बाबुराम भन्छन्, ‘म ३५ वर्षको युवालाई स्थानीयबासीले गरेको विश्वासप्रति नतमस्तक छु। यो विश्वासलाई उचो बनाउन म इमान्दारीपूर्वक दिलोज्यान दिएर जनसेवा गर्न प्रतिवद्ध छु । म अग्रज पुस्ताबाट सिक्दै आफ्ना र अनुज पुस्तालाई साथ लिएर काम गर्न चाहन्छु। मलाई र मेरो टीमलाई सकारात्मक खबरदारी गरिदिनुहोस्, म सचेत भएर काम गर्न चाहन्छु।’

युवा सशक्तिकरण तथा खेलकुद क्षेत्रमा बजेट छुट्याएर यी क्षेत्रको विकास गर्ने पनि उनको सपना छ। प्राविधिक शिक्षाका लागि पहल गर्ने, महिला तथा युवालाई सीपमूलक तालिम दिने र आफ्नै ठाउँमा उद्यम गर्न सक्ने बनाउन पनि पालिकाको सक्दो पहल रहने उनको भनाई छ।

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *