Logo

१५ चैत्र २०८१, शुक्रबार

ढोरपाटन (बागलुङ), १५ कात्तिक : तमानखोला गाउँपालिकाले गाउँगाउँ स्वास्थ्य संस्था स्थापना गरेपछि स्थानीयले सहज रुपमा सेवा पाउन थालेका छन् । कुनै पनि नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना गरेको हो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले सेवालाई थप प्रभावकारीसमेत बनाउन थालेको छ ।

स्वास्थ्य संस्था स्थापनासँगै एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ । आफूहरू जनप्रतिनिधि भएर आउनुपूर्व तमानखोलामा तीनवटा स्वास्थ्य चौकी मात्रै रहेको भन्दै अहिले स्वास्थ्य संस्थाहरु धेरै ठाउँमा थपिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, ४ को लाम्मेला र २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ, वडा नं १ को सम्मर, २ को सिल्गुम र ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

आम नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताउनुभयो । अब कोही पनि नागरिक सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भन्नुभयो, “अघिल्लो कार्यकालदेखि नै स्वास्थ्यमा सुधार हुँदै आएको छ, अहिले पनि हामीहरूले नयाँ प्रयासहरु गरिरहेका छौँ, एम्बुलेन्स सेवा थप भएको छ, यसले बिरामीलाई थोरै भए पनि राहत मिल्ने छ, भौगोलिक विकटताका कारण धेरै समस्या हामीहरुले झेल्नु परेको छ, यद्यपी समस्याहरू समाधान गर्नतर्फ लागिरहेका छौँ ।”

आधा दशक अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल अवस्था रहेकामा अहिले नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन पाएको स्थानीय नीमकुमार रसाइलीले बताउनुभयो । गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको भन्दै स्वास्थ्यमा ठूलै समस्या नआएसम्म टाढा जानुपर्ने अवस्था नभएको उहाँ बताउनुहुन्छ । पहिले गाउँमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार नपाउँदै धेरैले ज्यान गुमाउनु स्मरण गर्नुभयो ।

“पहिला हात, खुट्टामा चोटपटक लाग्यो भने दुई/तीन घण्टा लगाएर बोङ्गादोभान जानुपथ्र्यो, अहिले घर छेउमै सामुदायिक स्वास्थ्य इकाइ खुलेको छ, सानातिना घाउ, चोटपटक र सामान्य बिरामीको उपचार यही गराउन पाएका छौँ”, रसाइलीले भन्नुभयो, “पहिलेको जस्तो दुःख छैन, गाउँमै बाटो आयो, मोटर गाडी गुड्छन्, विकास यही होला ।”

स्थानीय वीरबहादुर छन्त्यालले जटिल किसिमको रोग लागे मात्रै बुर्तिबाङ, पोखरा काठमाडौँ जानुपर्ने बताउनुभयो । गाउँमा धामी–झाँक्रीलाई मान्ने प्रचलन रहेको भन्दै पहिलेको तुलनामा स्वास्थ्य संस्था सञ्चालनमा आएपछि कम हुँदै गएको बताउनुभयो । खेती–किसानी गर्दा, घाँस–दाउरा गर्दा कहिलेकाहीँ चोटपटक लागे पनि घर छेउमै उपचार गराउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *