Logo

६ चैत्र २०८१, बुधबार

केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएको छ । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएको हो ।

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका हुनुहुन्थ्यो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उहाँ सहयोगी एवं उपकारी स्वभावका हुनुहुन्छ । सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसामा अध्ययन गर्नुभएका उहाँ २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको एकाइ सभापति हुनुभएको थियो ।

उहाँले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गर्नुभयो । विसं २०५२ सालमा नेविसङ्घको क्याम्पस एकाइ सभापति हुनुभएका उहाँ त्यसपछि नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहनुभयो । उहाँ हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित हुनुभयो । उहाँले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभयो । मन्त्रीका रुपमा उहाँले मन्त्रालयलाई बेरुजु मुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिनुभएको थियो । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्नुभएका कार्कीका पत्नी, दुई छोरा हुनुहुन्छ ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तिपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशसभा सदस्यहरूकाे सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार (५) अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मकरूपमा लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधान, ऐनअनुसार मुख्यमन्त्रीलाई प्राप्त अधिकारअनुसार जनताको हितका लागि काम गर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले शपथग्रहणपछि मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *