१५ हजार डलरमा एनआरएनए लोगो बेच्न प्रस्ताव आएको दाबी
लोगो विवाद समाचारको खण्डन गर्दै मरासिनीले लगाए मिडिया प्रयोगको आरोप
गैर आवासीय नेपाली संघका आजीवन सदस्य माधव मरासिनीले एनआरएनए लोगो विवादसम्बन्धि मरुहिटीमा शुक्रबार प्रकाशित समाचारमा समावेश गरिएको संघका महासचिव गौरीराज जोशीको टिप्पणीको खण्डन गरेका छन् ।
मरुहिटीलाई प्राप्त उनको खण्डनपत्रमा संघको आसन्न महाधिवेशन स्थगित गर्न आफूले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र तथ्यमा आधारित भएको दाबी गर्दै त्यसलाई जोशीले प्रोपागान्डा भनेको भन्दै आपत्ति जनाएका हुन् । पत्रमा महासचिव जोशीले मिडियालाई प्रयोग गरी यस्तो टिप्पणी गरेको आरोपसमेत उनले लगाएका छन् ।
लामो समयको अध्ययन, अनुसन्धान र प्रमाणहरूको संकलनपछि मात्र आफूले परराष्ट्र मन्त्रीलाई पत्र पठाएको दाबी गर्दै उनले लेखेका छन्, ‘मैले यो कदम बलियो, पारदर्शी र एउटै मात्र गैर आवासीय नेपाली संघ होस् भन्ने उत्कट चाहनाले चालेको हुँ । मेरा यी कामहरू न प्रोपोगान्डा हुन् नत कोही व्यक्तिलाई बनाउन र बिगार्न गरिएको हो ।’
तथ्य र प्रमाणको आधारमा नैतिकताको जगमा टेकेर उभिएको व्यक्तिलाई मिडियाको प्रयोग गरी महासचिव जोशीले टिप्पणी गरेको भन्दै उनले आफूले प्रस्तुत गरेको बुँदामा प्रमाणसहित छलफलमा आउन चुनौतीसमेत दिएका छन् ।
उनले खण्डनपत्रमा आफू सबै विषयमा बहस गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि पाँच प्रश्न समावेश गरेका छन् । प्रश्न निम्नानुसार छन्ः
१. विनोद कुँवर टिमसँग एकता महाधिवेशन गर्ने सहमति कसले भाँड्यो ? यसको नायक को हो ? यो बिषयमा छलफल गर्ने हैसियत तपाईंसँग छ ?
२. म आइएलओ काण्ड, भाडा काण्ड, एनसिसीहरूका भ्रष्ट्राचार काण्डहरूको सूचीसहित पेश गर्छु, जिम्मा लिने हैसियत र त्यसको न्यायपूर्ण समाधान गर्ने ल्याकत राख्नुहुन्छ ?
३. मेरो स्वामित्वमा रहेको लोगो १५ हजार डलरमा माग्नु भएको हैन ? यदि लोगो तपाइँहरूको भए किन पैसा दिन तयार हुनुभयो ? सम्झौतापत्र तपाइँले नै पठाउनु भएको हैन ?
४. अमेरिकामा बसेर नेता हुँ भन्ने तर १६०० ले भोट हाल्न नपाएको थाहा नपाउनु भएको कि नपाएको जस्तो गर्नु भएको ?
५. पुरानो संस्था हो भने पुरानो लोगो हेर्नु भएको छ ?
(सम्पादकीय नोटः माधव मरासिनीले खण्डनपत्रमा उल्लेख गरेको समाचार लेख्दा पत्रकारिताको नैतिक दायित्व निर्वाह गर्दै उनले लगाएको आरोपबारे हामीले नै गैरआवासीय संघका महासचिव गौरीराज जोशीलाई सम्पर्क गरेर आरोपहरूबारे स्पष्ट पारिदिन अनुरोध गरेका हौं । त्यसैले मरासिनीले पत्रमा उल्लेख गरेको ‘एउटा मिडियाको प्रयोग गरि’ भन्ने वाक्यांशप्रति हामी आपत्ति प्रकट गर्दै यस सन्दर्भमा आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छौं । तथापि कुनै पनि समाचारप्रति चित्त नबुझेमा वा सत्यतथ्यबारे टिप्पणी भएमा खण्डन गर्ने हरेकको अधिकारलाई सम्मान गर्दै उहाँले पठाउनुभएको खण्डनपत्र जस्ताको तस्तै प्रकाशित गरेका छौं)
पत्र हेर्नुहोस्
