देशमा स्थानीय निर्वाचनको माहोल छ । उम्मेदवारहरू चुनावी घोषणा–पत्रसहित चुनावी मैदानमा उत्रिँदैछन् ।
गत निर्वाचनको पाँच वर्षे कार्यकाल सकिँदा जनप्रतिनिधिबाट के पाइयो, के पाइएन, जनताले पनि हिसाब लगाएकै छन् ।
वास्तविक विकास कति भयो ? कति जनप्रतिनिधिले विकासको नाममा आफ्नो विकास बढी गरे, त्यो चित्र पनि मतदाताको सामु आइसकेको छ । यस्तो परिवेशमा जनप्रतिनिधि बन्न तयार हुनु भनेको मतदाताको सामु परीक्षामा उत्रिनु हो ।
यही खरो परीक्षामा उत्रिएका छन्– सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ का टपिन्द्रप्रसाद तिमल्सिना । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उनले सुनकोशी गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारको टिकट पाएका छन् ।
यदि म निर्वाचित भएँ भनें ५ वर्षभित्र पाउने सबै तलब–सुविधा म लिन्नँ, उक्त रकम गरिब तथा असहायलाई सहयोग गर्ने छु ।
जनताले आफूलाई निर्वाचित गरे पाँच वर्षसम्म कुनै पनि सेवा सुविधा नलिई जनसेवा गर्ने घोषणा उनले टिकट पाएसँगै गरेका छन् । समाजसेवाका सानातिना पाटोमा अन्य क्षेत्रबाट काम गर्न सकिए पनि पालिका प्रमुख भएर एकपल्ट समग्र विकास गर्ने उनको सपना छ ।
जिल्लाको साविक पाङ्ग्रेटार गाविसको कापिङमा २०२९ सालमा जन्मिएका तिमल्सिना सानैदेखि राजनीतिमा चासो राख्थे । २०४६ सालमा तत्कालिन माले हुँदै एमालेबाट राजनीतिक यात्रा सुरु गरेका उनी राजनीतिज्ञहरू निरन्तर क्रियाशील र निष्ठावान् हुनुपर्ने बताउँछन् । उनी लामो समय स्थानीय स्तरमै अनेरास्ववियू र गाउँ कमिटी स्तरका विभिन्न राजनीतिक जिम्मेवारी लिएर गाउँको विकासमा लागि परेका थिए ।
‘आर्थिक रूपमा स्वउपार्जन नगर्ने, राजनीतिबाटै कमाउनु पर्छ भन्ने मान्यता राख्दा देशमा भ्रष्टाचार पनि बढ्यो । जनतामा सिङ्गो राजनीतिप्रति नै वितृष्णा जागेको छ । त्यसकारण यो निर्वाचनमा जनताले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारलाई न्यूनिकरण गर्न प्रतिबद्ध हुने जनप्रतिनिधि छान्नेवाला छन् । म त्यही प्रतिवद्धता लिएर आएको छु,’ उनले भने ।
उनी आफ्नै व्यवसाय गर्छन् । त्यसो हुँदा आफूलाई चाहिने आर्थिक स्रोत जुटाउन राज्यको कोषमा आँखा लगाउनु नपर्ने उनको दाबी छ । २०६६ साल चैत्रमा पार्टीले नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रीय सदस्यको जिम्मेवारी दियो । उनी संघमा केन्द्रीय सचिवालय सदस्य हुँदै सचिवसम्म बने । नेकपा एमालेका बागमती प्रदेश सदस्य समेत बनेका तिमल्सिना हाल पार्टीको सिन्धुपाल्चोक जिल्ला प्रदेश निर्वाचन क्षेत्र ‘ख’को इन्चार्ज पनि हुन् ।
आर्थिक रुपमा स्वउपार्जन नगर्ने, राजनीतिबाटै कमाउनु पर्छ भन्ने मान्यता राख्दा देशमा भ्रष्टाचार पनि बढ्यो । जनतामा सिङ्गो राजनीतिप्रति नै वितृष्णा जागेको छ । त्यसकारण यो निर्वाचनमा जनताले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न न्यूनिकरण गर्न प्रतिबद्ध हुने जनप्रतिनिधि छान्नेवाला छन् । म त्यही प्रतिबद्धता लिएर आएको छु ।
‘म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ’ भन्ने मूल नाराका साथ राजनीतिलाई सेवा बनाएर देखाउने तिमल्सिना बताउँछन् । उनी भन्छन्, ‘यदि म निर्वाचित भएँ भने ५ वर्षभित्र पाउने सबै तलब–सुविधा लिन्नँ, उक्त रकम गरिव तथा असहायलाई सहयोग गर्ने छु । गाउँपालिकाका विकासका लागि सकेसम्म धेरै साधन र स्रोत जुटाउने छु । गाउँपालिकामा आएका बजेटलाई आवश्यकता हेरी पूर्ण रुपले प्रयोग गर्दै फ्रिज हुन दिने छैन । अहिले देशमा धेरै भ्रष्टाचार बढेको छ र धेरैले राजनीतिबाटै कमाउने वा गुजारा चलाउने भनेर आएका छन् । तर म भने राजनीतिलाई नितान्त सेवा बनाउने सोँच लिएर आएको छु । त्यसैले सुनकोशी गाउँपालिकाका जनताले सेवा गर्ने अवसर दिने आशा गरेको छु ।’
उनीसँग पाँच वर्षे कार्ययोजनाको खाका तयार छ । उनीसँग सुनकोशी गाउँपालिकालाई कृषि र पर्यटनको क्षेत्रमा नमूना बनाउने योजना छन् । कृषियोग्य क्षेत्रको माटो परीक्षण गराउने, विज्ञहरूको सुझाव लिएर उपयुक्त बाली लगाउने व्यवस्था मिलाउने योजना छ ।
भन्छन्, ‘त्यसमा बनाउनु पर्ने पूर्वाधार, मल, बिउबिजन र सिंचाइको प्रबन्ध गर्ने छु । हर कुरामा प्रयास गर्ने छु । प्राकृतिक सम्पदाको विकास र संरक्षण, नेपालकै नमूना सामुदायिक वनको संरक्षण तथा पर्यटन क्षेत्रको अथाह सम्भावनाको अध्ययन विकासमा लाग्ने छु ।’ यसले स्थानीय जनताको दैनिकीलाई सहज बनाउने, विकासको स्थायित्वका लागि स्थानीय जनतालाई नै त्यसको पूर्ण उपयोग गर्न सक्षम बनाउनु जरुरी ठान्छन् उनी ।
यसबीच सडक सञ्जालले गाउँ–गाउँ जोडिएको छ, राम्रा बाटोहरू छन् तर जनतासँग सवारीसाधन छैन । सार्वजनिक सवारी साधनको प्रयोग गर्न सक्ने अवस्था छैन । उनीहरूको जीवनमा विकासले के फरक पार्ला र ?
‘यसबीच सडक सञ्जालले गाउँ–गाउँ जोडिएको छ, राम्रा बाटाहरू छन् तर जनतासँग सवारीसाधन छैन । सार्वजानिक सवारी साधनको प्रयोग गर्न सक्ने अवस्था छैन । उनीहरूको जीवनमा विकासले के फरक पार्ला र ?,’ उनको मत छ ।
त्यसैले सबैको जीवनस्तर सुधार्न, आयआर्जन बढाउन सकिने योजनाहरू ल्याउँदै शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक विकास निर्माण मेरो प्राथमिकतामा पर्छ । अहिलेका जनप्रतिनिधिले सुरु गरेका तर सम्पन्न हुन नसकेका योजनालाई पनि आवश्यकता हेरी पूरा गर्ने उनको प्रतिबद्धता छ ।
मैले चुनाव जिते पाँच वर्षको सेवा सुबिधा लिन्नँ, गरिब तथा असहायहरूलाई सहयोग गर्ने छु ।
७ वटा वडा र १२ मतदानकेन्द्र रहेको सुनकोशी गाउँपालिकामा १७ हजार ६ सय ७६ मतदाता छन् । तिमल्सिना भन्छन्, ‘सबै मतदाताहरूले भयरहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण बनाउन सर्वदलीय बैठक पनि बसेका छौँ । कुनै डर–त्रास लिनु पर्ने अवस्था हुनु हुँदैन भन्दै सबै मतदाताले स्वविवेक प्रयोग गरी सक्षम जनप्रतिनिधि छनोट गर्नुपर्छ ।’ मरुहिटीकर्मी हरिकृष्ण न्यौपानेसँग गरिएको कुराकानीमा आधारित