Logo

८ बैशाख २०८२, आइतबार

वर्षा हुँदा चोटामा दह जम्थ्यो
भिज्दै धुरीमा चढ्थेँ र टालटुल गर्थें ।
हावा चल्दा, कहिलेकाहीं छाना नै उडाइदिन्थ्यो
हुरी थामिएपछि फेरि बटुल्थेँ
र, धुरीमा चढेर ओत मिलाउँथेँ ।

चिसो महिनामा
तप्तप् शीत खसेर झन् चिसो हुन्थ्यो
एकैछिन पछिको न्यानो कल्पेर बस्थेँ ।
–पानी चुहिन्छ
–शीत तप्किन्छ
हुरीले छानोनै भत्काई दिन्छ
लाग्थ्यो, बरु घरै भत्के पनि हुन्थ्यो
कति दुःख दिएको यो घरले ?

भुइँचालोको इपिसेन्टर नजिकैको मेरो घर
जब ढल्यो गल्र्यामगुर्लुम
कहिल्यै पानी चुहिने चिन्ता भएन
न शीतको
न हुरीको चिन्ता हुने भो ।

घर ढल्यो
र, त्यही घरले नै पुर्‍यो मेरो– कविता
धुलोपिठो भयो मेरो– हार्मोनियम
सानो छँदा आमाले इन्द्रचोकमा किनिदिनुभएको– मुरली
बुबाले बाह्रबिसेमा किनिदिनुभएको– बच्छेबाजा
केही पनि रहेनन्
मैले भेट्न नपाएको दिवंगत हजुरबुबाको
चिनो भनेर राखेको थिएँ सन्दुकमा– सेतो पटुका
हजुरबुबाको स्पर्श ठानेर राखेको थिएँ
उहाँले पढ्ने वेदको पुस्तक
र, उहाँकै केही हस्ताक्षर
हजुरआमाले सुनाउने– रामायणको पुस्तक
बुबाले गाउने– भजनको डायरी
बुबाका युवाकालीन –तस्वीरहरू
सबै टुक्रा–टुक्रा भएछन् ।

आमाले जतनगरि राखेको– स्वयंवरको सिन्दुर
र, लगनको पोते
केही पनि बाँकी रहेनन्
आमाकै सन्दुकमा थियो,
मेरो जन्मकुण्डली
मैंले बाल्यकालमा पाएका– अनगिन्ती तक्माहरू
सबै पुरिएछन् ।

खै कहाँ आनन्द हुँदो रहेछ र ?
घर भत्किएपछि
त्यही
पुरानो घरको सम्झनामा छु
चुहिने नै सही– छानो थियो ।
पुरानो नै सही – घर थियो ।

प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *