‘नयाँ’को खोज डा. कृष्णहरि बरालका गीतका बिशेषता हुन् । यही विशेषताले उनका गीत बजारमा ‘हिट’ हुन्छन् /छन् । सकेसम्म अरूले नभनेका कुरा फरक शैलीमा प्रस्तुत गर्ने ध्याउन्नमा उनी हुन्छन् । कहिल्यै कापी कलम लिएर गीत लेख्न बस्दैनन् । मनमा लेखिन्छ, अनि कापीमा उतार्छन् । मनमा कतिबेला लेखिन्छ भन्ने उनलाई पनि पत्तो हुँदैन, त्यसैले उनको खल्तीमा एकदुई पाना कागज र कलम भने टुट्दैन । उनै गीतकारले आफ्ना चर्चितमध्येका पाँच गीतको पृष्ठकथा यसरी बताए:
के भूल भयो प्रिया
०४२ तिर लेखेको गीत हो यो । नेपालीमा एमए गर्दै थिएँ । मेरो गाइड डा. बासुदेव त्रिपाठी हुनुहुन्थ्यो । त्यतिबेला भर्खरै शोधपत्रको सट्टा सिर्जनापत्र पनि बुझाउन पाइने भएको थियो । जसमा उपन्यास कथा, गीत, गजल, कविता, निबन्धजस्ता सिर्जनात्मक विधा लेखेर बुझाउन सकिन्छ । त्यसबेलासम्म मेरो केही गीत चर्चामा आएका थिए । म भक्त हुँ यो देशको…, बाधा परून् जति नै सारा सहन्छु म…आदि । त्यसैले त्रिपाठी सरले मलाई सिर्जनात्मक पत्र बुझाउन भन्नुभयो । त्यसको लागि २० भन्दा बढी गीत लेख्नुपर्ने थियो । अर्कातिर त्यति नै बेला म्युजिक नेपालले मलाई १० गीत दिन भनेको थियो एलबमको लागि । त्यसमा मलाई फरक–फरक शैलीका गीत चाहिएको थियो । त्यसमा ‘रिसाउँदा झनै राम्री रिसाइदेउ न बिन्ती’ भन्ने गीत राख्ने निर्णय गरेँ । एलबमको नामै त्यही गीतबाट ‘रिसाइदेउ न बिन्ती’ राखेँ । त्यसमा अलि ‘स्याड सङ’ चाहिएको थियो । त्यसैले सिर्जनापत्र र एलबम दुवैमा हाल्न मिल्ने गीत सोचिरहेको थिएँ । त्यतिबेलासम्म कोही मायालु रिसाउँदा संवाद गर्ने गीत सुनेको थिइनँ । त्यसैले त्यसै बिषयमा लेख्नुपर्छ भन्ने लागिरहेको थियो । एक दिन अचानक गीत आयो मनमा–
‘के भूल भयो प्रिया हे तिमी मसँग बोल्दिनौ,
उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ ।’
नरेन्द्र प्यासीभर्खरै गाउन थाल्नुभएको थियो । तर उहाँले बेजोडै गाउनुभयो । जुन गीत अहिले पनि धेरैको छनोटमा पर्छ ।
झ्याउरे लयमा गीत बन्यो । बिम्बात्मक पनि भयो । अनि त्यसलाई एलबममा समावेश गर्ने सिलसिलामा मदन दिपविमलाई संगीत गर्न दिएँ । संगीत गर्ने क्रममा उहाँले पहिलो हरफको ‘हे तिमी’ हटाइदिनुभयो । तर राम्रो सुनियो । त्यसैले मैले स्वीकारेँ ।
गायनको लागिचाहिँ म्युजिक नेपालका सन्तोष शर्माले अलि सिनियर गायक चाहिन्छ भन्नुभएको थियो । किनभने बजारको पनि कुरा थियो । तर दिपविमले ‘नरेन्द्र प्यासीले यसलाई न्याय गर्न सक्छ’ भन्नुभयो । उहाँ त्यतिबेला भर्खरै गाउन थाल्नुभएको थियो । तर उहाँले बेजोडै गाउनुभयो । जुन गीत अहिले पनि धेरैको छनोटमा पर्छ ।
यी हल्लाहरू हुन् तिमीले सुनेका
०४५ तिर यो गीत लेख्दा पनि मेरो मनमा त्यही अरुले नभनेको बिषय भन्ने कुरा नै खेलिरहेको थियो । दीपक जंगमसँग राम्रो बसउठ् थियो । उहाँले जहिले पनि नयाँ गीत सोधिरहनुहन्थ्यो । म अरुभन्दा नयाँको खोजमा थिएँ । त्यतिबेला कसैले प्रेमीप्रेमिकालाई अरुले कुरा लगाइदियो भने के प्रतिक्रिया दिने भन्ने गीत थिएनजस्तो लाग्यो । त्यही कुरा मनमा खेलाइरहेको थिएँ ।
कालीमाटीमा गाडीबाट झरेर ताहाचल क्याम्पस जाँदा वसन्तपुरतिर जाने पुलमा आइपुगेपछि दिमागमा एउटा पंक्ति आयो– यी हल्लाहरू हुन् तिमीले सुनेका, कसैसँग मैले मुटु साट्या छैन ।
०४३ देखि ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस पढाउन थालेको थिएँ । । किर्तिपुर बस्थें । कालीमाटीमा गाडीबाट झरेर ताहाचल क्याम्पस जाँदा वसन्तपुरतिर जाने पुलमा आइपुगेपछि दिमागमा एउटा पंक्ति आयो– यी हल्लाहरू हुन् तिमीले सुनेका, कसैसँग मैले मुटु साट्या छैन ।
ती पंक्ति मैले कागजमा टिपेँ । क्याम्पस गएँ, पढाएँ । त्यसको २ दिनपछि अर्को पंक्ति आयो । ‘नपत्याए हेर चिरेर यो छाती, तिमीलाई मैले कहिल्यै ढाँट्या छैन ।’ त्यसपछि मैले दुई अन्तरा थपेर दीपकसरलाई दिएँ । उहाँले तेस्रो अन्तराचाहिँ मन पराउनुभएन । भन्नुभयो, ‘यो कविताजस्तो भयो ।’ स्थायीमात्रै संगीत गरेर छाड्नुभयो । त्यसपछि मैले त्यो हटाएर ‘यो मनमा तिमी छ्यौ, वचनमा तिमी छ्यौ’ भन्ने अन्तरा बनाएको हुँ । त्यो पुरानो पंक्ति त मलाई अहिले याद पनि छैन । अलि बढी नै बिम्बात्मक थियो । त्यसपछि उहाँकै सल्लाहमा आनन्द कार्कीलाई गाउन दिइयो । जसले अहिले पनि स्रोताको मन जितिरहेकै छ ।
यहाँ देशको छ चिन्ता
देश द्वन्द्वमै भएको बेला लेखेको हुँ । ५० को दशकको अन्त्यतिर । द्वन्द्वको घटनाले मन आहत थियो । त्यसैबेला यो गजल आयो–
यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ,
साँच्चै नबुझ्ने छौ कि नबुझ्ने जस्तो बन्छ्यौ ।
त्यसपछि अर्को शेर लेख्दा मलाई जनकपुरको सरको सम्झना भयो । उहाँ द्वन्द्व र त्यसमाथि पहाडिया र तराइवासीबीचको मनमुटावको सुरुवातले तनावमा हुनुहुँदोरहेछ । काठमाडौँमा भेट भयो । उहाँले आफू पनि काठमाडौंमै आउन चाहेको बताउनुभयो । भन्नुभयो, ‘राम्रा मान्छे पनि छन्, जसले नजा भनिरहेका छन् । तर खराब मान्छे पनि छन्, तिनको अगाडि छोरीबुहारी जोगाउनै गाह्रो भयो ।’ त्यो कुराले मलाई छोएको थियो । त्यसैको सन्दर्भमा ‘तिम्रै सुरक्षा गर्न’ भन्ने शेर लेखेँ । अनि यस्तो अवस्था रह्यो भने देश के होला भन्ने चिन्ताभावका साथ ‘भोलिका सन्ततिको आधार खोज्दैछु म’ भन्ने शेर थपेँ ।
पर्सियन साहित्यमा आँखी भौँलाई तरबारसँग तुलना गर्छन् । यहाँ मैले युद्ध र भावनात्मक प्रेमबाट पनि मुक्तिको खोजलाई बिम्बात्मक अर्थ दिएको थिएँ ।
अर्को पनि एउटा शेर थियो– तरबार आखीभौँ रे तरबारदेखि आज, म मुक्ति खोजिरहेछु, तिमी भावमा बहन्छ्यौ । योचाहिँ गाउन अफ्ठ्यारो भएकाले राखिनँ । पर्सियन साहित्यमा आँखी भौँलाई तरबारसँग तुलना गर्छन् । यहाँ मैले युद्ध र भावनात्मक प्रेमबाट पनि मुक्तिको खोजलाई बिम्बात्मक अर्थ दिएको थिएँ ।
त्यसबेला संगीतकार गैरे सुरेशले मेरो गजल एलबम ‘बिम्ब’को सम्पूर्ण संगीत गर्नुभएको थियो । त्यसलगत्तै उहाँ इन्सपेन्टर भएर पर्वत जानुभयो । काठमाडौँ आएको बेला ‘यो गीत तपाईंलाई हुन्छ’ भनेर दिएँ । उहाँले पनि ‘हो रहेछ’ भनेर खल्तीमा हाल्नुभयो । त्यतिखेरै रेकर्ड गर्ने सोच पनि आएन । एकबर्षपछि सरुवा भएर हलचोक आइसकेपछि भन्नुभयो, ‘मैले धून हालेको छु । रेकर्ड गर्ने होइन ?’ त्यसपछि एकजना गायकलाई भनियो । तर उहाँले समय दिन सक्नुभएन । त्यसपछि मैले नै दीपक लिम्बुलाई भनेँ । उनले गाए । गीत अपेक्षा गरेभन्दा पनि बढी चर्चित भयो । यसमा भएको विचार र कलाको संयोजन म आफैंलाई पनि मन परेको छ । मलाई लाग्छ– विचार कोरा रूपमा आयो भने त्यो साहित्य हुँदैन ।
मर्ने कसैलाई रहर हुँदैन
एकदिन छोरीले भनिन्, ‘मृत्युबारे पनि गीत लेख्नु न ।’ त्यही सोचिरहेको थिएँ । एक दिन आयो–
मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन ।
गाउँमा त यसै मर्छन् । उपचारको अभाव छ । अब त्यहाँबाट भागेर सहरमा आउँछन्, तर त्यहाँ पनि मरि नै रहन्छन् । त्यसलाई मैले गजलमा उतारेँ । संगीत पनि सुरेश गैरेले गर्नुभयो । त्यसको अर्को पंक्ति थियो–
मरिरहेछु म त घातले नै, मार्ने केवल यहाँ जहर हुँदैन ।
त्यसैबेला विकास आचार्यले मलाई ‘नाइँ नभन्नू ल–२’ को कथा सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नाइँ नभन्नू ल’ रिदमको गीत एकदमै चल्यो । अब ‘नाइँ नभन्नू ल–२’को त्योभन्दा जबर्जस्त गीत चाहियो ।’ संगीतकार सोधेँ, वसन्त सापकोटा हुनुहँुदोरहेछ । उहाँलाई मैले भनें, ‘सुरेश गैरेले सङ्गीत गरेको एउटा गीत छ, सुन्नुस् त ।’ सुनेपछि उहाँले भन्नुभयो, ‘ल खोजेकै यस्तै हो ।’ उहाँ त्यस गीतमा सुरेशजीकै संगीत राख्न तयार हुनुभयो ।
तर कथाअनुसार यस गीतको दोस्रो पंक्ति मिलेन । किनकि त्यहाँ त कसैले घात गर्दैन । बरु केटो मर्छ । त्यसैले फेरेँ– हुँदैन मान्छेमात्रै नजाति, दैव पनि रहेछ पक्षपाती ।
अर्को पंक्ति ‘जीवन कहिले यहाँ चल्दैन उस्तै, बत्ती किन दियोमा बल्दैन उस्तै’ लेख्दाचाहिँ तिहारको दिपावली सम्झेँ ।त्यसबेला कुनै बत्तीमा तेल हुँदैन तैपनि पिलपिल बलिरहेको हुन्छ । कुनैमा भरी तेल हुन्छ, तर निभिसकेको हुन्छ । त्यो बिम्बले बडो गज्जब काम गरेको छ ।
यो गीत गाउने सन्दर्भमा चाहिं बच्चा श्वर चाहिएको थियो । वसन्त सापकोटाजीलाई प्रेम परियारले राम्रो गाउँछन् भन्ने थाहा रहेछ । प्रेमलाई महेश खड्काजीहरूले ल्याएर पढाउनुभएको छ भन्ने कुरा थाहा भयो ।
गीत रेकर्ड भइसक्दा पनि यो गीत यति धेरै चर्चित होलाझैँ लागेको थिएन मलाई चाहिँ । तर विकास आचार्यचाहिँ आशावादी हुनुहुन्थ्यो । ‘सिनेमामात्रै होइन, नेपाली संगीतमै राम्रो गीतको रूपमा आउँछ’ भन्नुहुन्थ्यो । उहाँकै कुरा सत्य भयो ।
यो गीत गाउने सन्दर्भमा चाहिं बच्चा श्वर चाहिएको थियो । वसन्त सापकोटाजीलाई प्रेम परियारले राम्रो गाउँछन् भन्ने थाहा रहेछ । प्रेमलाई महेश खड्काजीहरूले ल्याएर पढाउनुभएको छ भन्ने कुरा थाहा भयो । ‘तर कसैलाई लैजान दिदैनन् रे । थुनेर राखेर पढाउँछन् रे’ वसन्तजीले भन्नुभयो । मैले भनेँ, ‘त्यसो भए चिन्ता नगर्नुस् । म ल्याइदिन्छु ।’ म शिक्षा क्षेत्रमै छु । धेरै स्कूलमा म र नेत्र एटम सरको किताब पढाइ हुन्छ भन्ने आँटले भनेको थिएँ । पत्ता लगाउँदै जाँदा युनाइटेड एकेडेमीमा पढ्ने थाहा भयो । मलाई सजिलो भयो । किनभने त्यहाँ डा. कविराज वान्तवा हुनुहुन्छ । फिजिक्सको प्रोफेसर । पिएचडी डाक्टर । उहाँ र म १० बर्षसँगै पढाएका पनि थियौं । उहाँलाई फोन गरेर भनेँ, ‘राम्रो छ गीत, यसले उसलाई पनि केही हुन्छ ।’ नभन्दै गरे पनि । उनले धेरै अवार्ड पनि पाए । वास्तवमा यो गीतलाई यति माथि पु-याउनचाहिँ सिनेमाको पनि हात छ ।
यी आँखामा तिमी छौ
यो गीत पनि चलचित्र ‘नाइँ नभन्नू ल–२’ कै लागि लेखेको हुँ । वसन्तजीले संगीत गर्नुभयो । प्रेमले नै गाएका छन् ।
बच्चाको लागि सरल भाषामा लेख्नु थियो । र, यस्तो प्रेम देखाउनु थियो । जहाँ केटालाई यस्तो रोग लागेको छ कि उ मर्दैछ । त्यही सन्दर्भमा लेखेको हुँ–
यी आँखामा तिमी छौँ, यो मनमा तिमी छौं
देखाउन पो त गाह्रो, जीवनमा तिमी छौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ,
बरु सासले दिन्छ धोका तिमीले दिन्नौ थाहा छ ।
यसमा केटीले धोका दिन्न । बरु सासले धोका दिन्छ । तर उसले यस्तो कुराको संकेत पहिले नै गरेको छ । यस्तो भावलाई अंग्रेजीमा ‘फोर स्याडोयिङ’ भनिन्छ । यो पूर्व संकेत हो त्यो । हिन्दी फिल्ममा पनि यस्तो प्रशस्तै प्रयोग भएको छ ।
यो गीतले त अहिलेसम्म पनि अवार्ड पाइरहेको छ ।
०००