एक जना मित्रले नेपाली साहित्यको चर्चा हुँदा ‘एउटा सानो–सानो उपन्यास लेख्नुहोस् न’ भनेको म सम्झन्छु । उहाँबाट पाएको प्रोत्साहन लिएर उपन्यास लेख्ने विषयमा निकै विचारेँ, दुई–तीन रात घडीको काँटा एउटै अङ्कमा भेला भएर बजाएका घण्टासम्म टेबुलको छेउमा बसी कलम लिएर झोक्राएँ, कनेँ । तर कहाँबाट थाल्नु ? विषयवस्तु के लिएर थाल्नु ? केही देखा परेन ।
अन्तमा ‘नदुखेको कपाल को दुखाइरहोस्’ भन्ने उक्तिलाई चरितार्थ गरी थन्किन आँटेको थिएँ, यसैबिच एक दिन पान्डुस्टेसनमा भर्खर पहाडबाट आउने दुई जन युवकहरूमाथि दृष्टि पर्न गयो । मेरो प्रथम प्रश्न ‘तपाईंहरू कहाँ जाने ?’ को उत्तरमा मैले पाएँ, ‘यता उँधो हाउ, आरा काट्नु पो हिँडेको हाउ हामी त ।’ मेरा अरू धेरै प्रश्नहरूको उत्तर पनि उनीहरूले आफ्नै ढाँचामा दिए ।
उनीहरूको बोली, ढाँचा, भेष, उनीहरूले दिएको गाउँको वर्णन, सबै कुरा मलाई बिरानो लाग्यो । प्रवासमै जन्मी, प्रवासकै वातावरणमा हुर्केको मजस्तै अरू शिक्षित युवक मेरा ठाउँमा भए उनलाई पनि यी सबै कुरा अवश्य बिरानो लाग्ने थियो ।
विचार आयो, प्रवासमै आफ्नो घर बनाएर बसेका हामीहरूको भविष्य हामी बसेकै देशसित गाँसिएको छ तापनि हाम्रो भाषा, साहित्य, संस्कृति नेपाली नै हो र आफ्नोआफ्नो साहित्य, संस्कृति सबैलाई प्यारो हुन्छ । नेपाली संस्कृतिसित राम्ररी परिचित हुनलाई त्यस ठाउँको वातावरणसित पनि परिचित हुनु आवश्यक छ, जुन ठाउँ नेपाली संस्कृतिको मुटु हो । नत्र ता खाँटी नेपाली बोली बोलेको सुन्दा र नेपाल पर्वतभित्रको गाउँले वातावरणमा खेल्ने संस्कृति विषय कसैले सुनाउँदा बिरानो लाग्नेछ ।
पहाडको गाउँले वातावरणसित साधारण परिचय गराउने मुख्य उद्देश्य लिएर उपन्यास लेख्न आरम्भ गरेँ । नेपाल पहाड छोडेर प्रतिवर्ष नेपालीहरू मधेस तथा मुगलान झर्छन् । के ती रहरले आफ्नो थात–बास छाड्छन् होला, कतिको रहर पनि हुन सक्छ तर धेरैजसोको कुरा अर्कै छ । त्यसको मूलमा छिपेको वेदना र रहस्यलाई नै मैले बसाइँको कथावस्तु छानेँ ।
लेख्ने काम त आरम्भ भयो, तर विद्यार्थी हुनाले छमहिने र तीनमहिने परीक्षाले माझमाझमा सताइरहन्थे । तसर्थ सन् १९५४ मा थालेर माझमा १ वर्षजति स्थगित राख्नुपर्यो । अनि कहिलेकाहीँ मन लाग्दा १–२ पृष्ठ लेख्यो, नभए थन्क्यो, त्यही पाराले ५६ (सन् १९५६–सं.) साल पनि व्यतीत भयो । ५७ सालको अप्रिल महिनामा कुनै विशेष प्रेरणाले बाँकी रहेका भागहरू समाप्त गरेँ ।
बसाइँले पाठकहरूको मनोरञ्जन नहोला, कारण यसको उद्देश्य त्यो होइन । यसमा त नेपाल पहाडभित्रका गाउँहरूको चित्र दिने मात्र प्रयास गरिएको छ । पहाडी जीवन–गाउँलेहरूको सुख, दुःख र तिनको माझमा घट्ने घटनाहरू नै बसाइँको सारांश हो ।
साहित्यको दृष्टिले यसको स्तर उच्च होवैन । कारण, मैले यसमा यथार्थताको आड लिएको छु । यसमा परेका संवाद र कैयौं शब्दहरू नेपाल काठमाडौंबाट सुदूर पूर्व– धनकुटा, ताप्लेजुङ, भोजपुरका भित्र गाउँमा जस्तो व्यवहार हुन्छन्, त्यस्तै राखिएका छन् । साहित्यरूपी कमलको महक यसमा पाइँदैन, पहरा–कन्दरामा फुल्ने उनिउँ, तीतेपातीको गन्ध नै यसले पाठकहरूलाई दिनेछ ।
स्वयं आफू पहाडको वातावरणसित राम्ररी परिचित नभएकोले, पहाडबाट आउने दाजुभाइहरूको उचित सल्लाह लिँदालिँदै पनि कति ठाउँमा मेरो लेखाइ सन्तोषजनक भएन होला वा गाउँको हुबहु चित्र दिन असमर्थ भएँ हुँला । साथै साहित्यक्षेत्रमा भर्खर बामेसम्म सर्न थालेको नानी हुनाले धेरै त्रुटिहरू रहन गएका हुनन् र शैली पनि उति रोचक भएको होवैन । तर उपन्यासको बाटोमा यो प्रथम पाइलो सम्झी पाठकहरूले क्षमा दिँदै उचित सल्लाह दिनुभयो भने भविष्यलाई सतर्क रहनेछु ।
- लीलबहादुर क्षेत्री
बी. वरवा रोड, मराखली
गोहाटी
१७ अप्रिल १९५७
(उपन्यासको भूमिकाबाट)