
यदाकदा संवाद हुन्छ कुमारी लामासँग । उनीसँगको संवादका लागि म आफैँ उत्सुक हुन्छु । एक दिन उनी अलि दिक्क मान्दै थिइन् । भनिन्, “अचेल कुरा काट्नेहरू पो अलि बढे कि जस्तो लाग्न थालेको छ, दाइ !”
“के हुन्छ त कुरा काट्ने, ईष्र्या गर्नेहरूको सङ्ख्या बढ्दा ?”
“अलि नमज्जा लाग्दो रहेछ”, कुमारीले यस्तो अनुभूति पोखेपछि उनलाई सहानुभूति होइन, बधाई समर्पण गर्न मन लाग्यो । भनेँ, “तपाईंं आफैँ ईश्र्यालाग्दो काम गर्नुहुन्छ । तपाईंंको ईष्र्या नगरिए अरू कसको गर्ने त ?”
ईश्र्या कुनै पदार्थ भए त्यसलाई ठोकठाक, तानतुन, पोलपाल, निचोर–नाचार गरेर ठीक ठाउँमा ल्याउनु हुन्थ्यो । ईष्र्या त यस्तो रोग हो, यसको उपचार स्वास्थ्यविज्ञानबाट सम्भव छैन । ईष्र्या यस्तो जलन हो, जसले ईष्र्या गरिनेलाई होइन, ईश्र्यालु स्वयम्लाई जलाएर खरानी बनाउँछ । यी वृत्तान्तका साथ कुमारीलाई भनेँ, “त्यसैले मलाई त तपाईंंको ईष्र्या गनेहरूको सङ्ख्या अझै धेरै बढ्दै गएको पो देख्न मन लाग्छ । आफ्नो ईष्र्या गर्नेहरूको सङ्ख्या बढाउँदै लैजानु भएकोमा तपाईंलाई बधाई छ ।”
उनी हाँसिन् मात्र ।

…
भर्खरै मात्र थाहा भयो, उनको पहिलो पाठशाला त लेउती खोलाको बगर पो रहेछ । धरान–धनकुटा राजमार्ग बन्दै गर्दा ठेक्कापट्टा गर्दै धादिङ, छत्रेदेउरालीबाट त्यहाँ पुगेका रामबहादुर र भोजपुरकी मीनाको भेटबाट सुखद संयोगको रूपमा नेपाली समाजले कुमारी लामा नामको स्रष्टा पायो ।
लेउती खोला बग्ने केही भागको दायाँ–बायाँ कडा चट्टानले बनेको छ । कुमारी लामाले पनि लेउती खोलाको दायाँबायाँका कडा चट्टानलाई तोडेर आफ्नो बाटो बनाउने लेउती खोलाजस्तै कडा सङ्घर्षको बाटो भएर हालसम्मको यात्रा तय गरेको पनि भर्खरै मात्र थाहा भयो । जसरी लेउती खोलाको प्रवाह दक्षिणबाट उत्तरतिर बहन्छ, उस्तैगरी बगिरहेछ कुमारीको लेखनको प्रवाह पनि । परम्परागत नेपाली लेखनको वैपरित्य समाएर कुमारीले सिमान्तकृतहरूको आवाज मुखरित गर्दै आएकी छिन् । त्यसैले उनको शब्दकोशमा हजुरिया शब्दहरू भेटिन्नन् । उनको लेखनमा भजनका लयहरू होइनन्, लेउती खोलामा गिट्टी बालुवा गर्नेहरूको स्पन्दन सुनिन्छ । “जिन्दावाद–मुर्दावाद”को कर्कशबाट मुक्त शालीन विद्रोह चेत छ, कुमारीको लेखनमा ।
प्रज्ञाबोधका लागि कुमारीलाई पढ्नैपर्ने वा सुन्नैपर्ने बाध्यकारी परिस्थितिहरू सिर्जना भइरहेको बेला उनको दमदार उपस्थिति ईष्र्यापूर्ण हुँदैन त ?
ईष्र्यालुहरूको ईष्र्याको मात्रा आँकलनबाट पनि लेखक कुमारीको उचाइ मापन गर्न सजिलो हुने रहेछ, हामी पर्यवेक्षकहरूलाई । त्यसैले मैले समकालीन लेखनमा उनको ईष्र्यापूर्ण उपस्थितिका लागि बधाई दिन भ्याएको हुँ । ईष्र्यालुहरू त सहानुभूतिका पात्र हुन् ।
…
धरानबाट नागबेली उकालो हुँदै भेडेटार थुम्कोबाट फेरि नागबेलीको लयमा ओह्रालो झर्दै लेउतीको किनारमा पुगेपछि मूलघाटसम्म तेर्सिन्छ, कुमारीका बुबाको पनि विवेक र पसिना परेको धरान–धनकुटा राजमार्ग । धनकुटा बसपार्कदेखि चार सय मिटर जतिको दूरीमा रहेको धनकुटा अस्पतालमा कुमारीको जन्म भएको पनि भर्खरै थाहा पाएँ ।
धनकुटा बसपार्कबाट चार किलोमिटर उत्तरमा रहेको एउटा सानो बस्ती छ, भोटेचौतारा नामको । त्यही भोटेचौतारा छेउबाट सडकखण्ड उत्तर तन्किएपछि छेउको एक प्राथमिक विद्यालयलाई हेरेर यात्रु चढाउन र ओराल्न सजिलोका लागि यात्रुवाहक बसका सहचालकले यो ठाउँको न्वारान गरिदिए, “स्कुलडाँडा” । त्यही स्कुलडाँडाछेउको सानो तामाङबस्ती भोटेचौतारामा ताप्लेजुङ, हाङपाङबाट हामी एक घर लिम्बू परिवारले जरोकिलो सार्यौं । हाम्रो परिवारका सदस्यमध्ये एक जना दाजु, एक जना दिदी, म र बहिनीको जन्म पनि त्यही तामाङ बस्तीमा भयो । त्यही तामाङ बस्तीमा जन्मेका एक विलक्षण प्रतिभा रेख ब्लोनको सामीप्यता पाएँ मैले । उनै अग्रजले मलाई स्कुलसम्म डोर्याउँदै पुर्याए । कलिलो मष्तिष्कमा चेतनाको बीजारोपण गरिदिए । परिणामतः आज यतिको लेख्न र पढ्न सक्ने भएको छु ।

आज पनि तामाङ सखासखीसँग कहिले मिलेर हाँस्दै रमाउँदै गुच्चा खेलेको, कहिले छुच्चा हुँदै घुस्सा खेलेको सम्झना साँच्चिकै सुमधुर लाग्छ, अमला खाएपछि पानी पिउँदा आउने आनन्दजस्तै ।
२०५७ सालको अन्तिमतिर काठमाडौँको एक डबलीमा प्रा. माणिकलाल श्रेष्ठको एउटा प्राज्ञिक प्रवचन सुन्ने अवसर पाएको थिएँ । प्रवचनका क्रममा उनले तामाङहरूले इतिहासमा भोगेको ताडना र वर्तमानमा बल्झदो र दुख्दो त्यसको असरका बारेमा मसिनो ढङ्गले विश्लेषण गरेका थिए । उनको त्यही प्रवचनले तामाङ बस्तीमा जन्मी हुर्केको मेरो मस्तिष्कको तन्तु हल्लाइदिँदा तामाङहरूको इतिहासको पाना पल्टाइटोपल्न मन भयो । ओहो, यी “मासिन्या मतवाली”ले इतिहासमा भोग्न परेको पीडा पनि कति रहेछ कति !
यिनै मासिन्या मतवालीकी छोरी कुमारीको साठीको दशकबाट एक लेखकको रूपमा उदय भयो ।
लेखकका रूपमा उनले मलाई छाडेको प्रभाव सुरुमा औसत अनुपातको थियो । त्योभन्दा पनि बढी उनको प्राज्ञिक वृत्तिले उनीप्रति म बढी आकर्षित भएको थिएँ । सम्पूर्ण तथ्याङ्क र बाक्लो जनसम्पर्क त छैन, मसँग । तर अल्पज्ञानी मैले आफ्नो जीवनमा पहिलो पटक भेटेको विश्वविद्यालयको पाठ्यक्रम पढाउने तामाङ महिला थिइन्, कुमारी लामा । उनलाई भेट्दा म पनि एउटा कलेजमा पढाइरहेको थिएँ । त्यही कलेजमा पढाउने अर्का, किताबका किरो, प्राध्यापक टिकाराम जिरेलले कुमारीको भर्खरै प्रकाशनमा आएको निबन्धकृति “उज्यालो अन्धकार” आद्योपान्त छिचोलिसकेर ठूलै विस्मयसाथ जिब्रो टोक्दै किताब देखाउँदै मलाई “यो मान्छे चिन्नुहुन्छ सर ?” भनेर सोधेपछि मात्रै मैले उक्त निबन्धकृति पढ्न सुरु गरेको थिएँ ।
त्यसैले एक सिमान्तकृत समाजबाट निबन्ध र समालोचनाजस्तो बौद्धिक विधा लिएर भुइँफुट्टाजस्तो फुत्त देखापरेकी कुमारी लामाको उपस्थितिलाई तामाङ जातिको इतिहास अध्ययनमा रुचि राख्दै आएको मलाई गौरवपूर्ण लाग्नु कुनै आश्चर्यपूर्ण रहेन । म त आफूबाट पूरा हुन नसक्ने कैयौँ दार्शनिक सपनाहरू उनको आँखामा सल्बलाइरहेको पाउँछु ।
यस्तो दार्शनिक सपनाका सम्भावनाहरू बास्तवमै ईष्र्यापूर्ण हुन्छन् ।

“दाइ, मैले एमफिल सकेँ नि”, पाँच वर्षअघिको एक टेलिफोनिक संवादमा उनीबाट यस्तो सुखद खबर सुनेर खुसीले उफ्रिएको थिएँ । खुसीको गणित बुझाउने मापनयन्त्रको आविष्कार भएको भए त्यसको परिमाण देखाउन सजिलै हुन्थ्यो ।
त्यो खबरले सायद उनीभन्दा बढी खुसी भएको थिएँ म । कुमारीको दु्रतमार्ग हुँदै वेग मार्दै गरेको प्रगतिको खबरले ईष्र्या गर्ने मात्रै होइन, उत्साहले पाइला उचाल्ने हामीहरू पनि छौँ ।
कुमारीका निबन्ध र समालोचनाबाहेक उनले चलाएको अन्य प्राज्ञिक गतिविधिलाई पनि सुक्ष्मतम रूपमा नियाल्न पाउने दाहिने किनाराका साक्षीमध्येको एक हुँ म । उनले आफ्ना अनुसन्धानमूलक जर्नल लेखहरूको पाठक बनाएकी छन् मलाई । त्यसैले उनको प्राज्ञिक प्रतिभाको परख गर्ने अवसर पाएको छु । उनी मेरो एक आदरणीय लेखक तथा अनुसन्धाता हुन् ।
अब त विश्वविद्यालयकै उपप्राध्यापक भएपछि उनका लेखनले प्राज्ञिक आधिकारिकताको अभाव झेल्नुपर्ने अवस्था छैन । यसले पनि हामीलाई ठुलो भरोसा मिलेको छ ।
…
कुमारीसँग अहिलेसम्म मेरो प्रत्यक्ष भेटघाटको सङ्ख्या गणना गर्दा एउटा हातको पाँच औँला चाहिँ पुरा हुने रहेछ । “उज्यालो अन्धकार”को घुम्टो खोलिएको दिन हो, हाम्रो पहिलो ‘हाई हेलो’ भएको । दोस्रोपटक उनी आफ्नो पुस्तक लिएर सामाखुसीस्थित मैले पढाउँदै गरेको कलेज आएकी थिइन् । उपेन्द्र सुब्बाको “लाटो पहाड” सार्वजनिक हुँदा र अर्को एक दिन सङ्गीतकार बसन्त मुकारुङले सञ्चालन गरेको रेष्टुरेन्टमा भेज मःम खाँदा हाम्रो प्रत्यक्ष भेट भएको थियो । अनि पाँच वर्षअघि मेरो “आदिवासी विद्रोहको इतिहास” विमोचन हुँदा उनलाई दर्शकदीर्घामा देख्दा म मञ्चमा थिएँ । हामीले टाढैबाट हात हल्लाएका थियौँ ।
तर लेखन र अनुसन्धानले निर्माण भएको सम्बन्धका लागि प्रत्यक्ष भेटको अनिवार्यताले उतिसाह्रै महत्त्व नराख्दो रहेछ । जस्तो कि पढेरै अहिले म उनको लेखनको कट्टर पक्षपोषणमा उभिएको छु, एक असल पाठक हुने धृष्टता गर्दै ।
…
नेपालबाट सात समुद्रपार बेलायतमा दीक्षित भई मातृभूमिकै मृत्तिका सुम्सुम्याउन उनी स्वदेश फर्किन् । उनी र मबीच एकप्रकारले लुकामारी खेलेजस्तै भयो । उनी स्वदेश फर्केर कलेज पढाउन थालिन्, म चाहिँ कलेज पढाउँदा–पढाउँदै परदेश हान्निएँ । अहिले परदेशमै दुःखजिलो गर्दै कुमारी लामाजस्ता प्राज्ञिक प्रतिभाहरूसँग मेरो सघन परामर्शहरू चलिरहेछ । यस्ता परामर्शले मलाई अवसादहरूबाट मुक्तिका लागि ठुलो औषधिको काम गरेको छ । ऊर्जाभरा मन बोकेर किताब र कलमबिना टिक्नै नसक्ने भएको छु । यो सात समुद्रपारिको दूरदेशमा पाइला हालेको सुरुको समयमा निराशाका निष्पट्ट अँध्यारो मात्रै देख्थेँ । रहर वा बाध्यता जेसुकैले होस्, देश छाडेकोमा पछुतोबाहेक केही थिएन मसँग । आँतले होइन, केवल दाँतले हाँस्थेँ साथीहरूका माझ । पत्रकारिता र प्राध्यापनबाट अर्को बाटो रोज्दा परदेशमा मेरो लागि मजदुरी एउटै मात्र विकल्प थियो । कठै, मजदुरी गर्ने आँटसमेत जुट्न सकिरहेको थिएन ।
रोबोट लिम्बू र राजेन्द्र शेर्पा भेटिए, मेरो बिथोलिएको मनस्थितिलाई बुझेर साहनुभूतिले सुम्सुम्याउनेहरू । गीतकार सुनील संगमले हो, मलाई एउटा रेष्टुरेन्टमा कामको लागि हुलिदिएको, त्यो दिनदेखि मेरो बेरोजगारीको अन्त्य भयो । म युरोपको श्रमबजारमा बिक्री भएँ ।
बेरोजगार भएर बसिरहेको बेलाको एक दिन । “लौ दाइ, यसरी झोक्राएर बस्न हुँदैन, हिड्नुस् मेरोमा दशैँ मनाउन”, विमल गौतमले यसो भनेपछि उनको पछि लागेँ ।
छोरा विक्की गौतमले भर्खरै स्कुल सुरु गरेको थियो । विमल, कल्पना बहिनीसँग गफिँदै खानपान चलिरहेको बेला विक्की घरिघरि मेरो काखमा आफैँ आएर बस्थ्यो ।
विक्की बेलायतमा जन्मेको । उसलाई देखाउँदै विमलले भने,“यो जन्मेको बेला हामीलाई त्यति गाह«ो भएन । किनभने हामीले बेलायतमा एक जना असल अभिभावक पाएका थियौँ ।”
विक्की जन्मदा कुमारी पनि बेलायतमै रहिछन्, विमल र कल्पना दम्पतिको छिमेकीको रूपमा । उनैले परिपक्व धाईआमाको भ्ूमिका खेलेको आभारपूर्ण सम्झना विमल र कल्पनाबाट सुन्न पाउँदा कम्ति खुसी लागेन । ओहो, एक जना लोकप्रिय लेखक, परिपक्व धाईआमाको भूमिकामा !
हिजो नवजात शिशु विक्की र उनकी सुत्केरी आमालाई स्याहार्ने कुमारी लामा अहिले लेखनको माध्यमबाट धाईआमाकै भूमिकामा छिन् । उनी आफ्नो लेखन र अनुसन्धानबाट भुइँमान्छेहरूलाई स्याहार्न दत्तचित्त छिन् ।

…
लेखनको लागि कुमारीको भागमा कुनै पैतृक वा मातृक विरासत परेन । माथि पनि भनिसकियो, उनी त फुत्त निस्किन्, एक भुइँफुट्टाजस्तै ।
उनी गमलाको फुलेको फूल होइन, पहरामा फुलेको फूल हुन् । दुई दिन मात्रै पानी हालिएन भने गमलाको फूल कुन हालतमा पुग्छ ? अगणित आँधी, असिना, हिउँ, तुषारो, धुलो मैलोसँग अभ्यस्त पहराको फूललाई हत्तपत्त कसैले निमोठेर पत्थरको मूर्तिलाई चढाउने दुस्साहस गर्दैन । मलाई त पहरामा फुलेको फूलझैँ लाग्छ, यी नेपालका ५० मध्येकी एक प्रभावशाली नारी ।
निबन्धमार्फत् “उज्यालो अन्धकार”को आत्मपरक लेखनदेखि “दज्र्यु संलाप” को सिमान्तकृतहरूको आवाज उठानसम्म आइपुग्दा बीचमा मान्छेको मान्यता पाउन सङ्घर्षरत मान्छेहरू विषयक समालोचनाकृति “समकालीन नेपाली कथामा तेस्रोलिङ्गी चेतना” उनीबाट नेपाली समाजले पाएको गहकिलो प्राज्ञिक खुराक हुन् । मूलतः कुमारीले उठाएको सवाल भुइँमान्छेकै कथा व्यथा हो । बलेको आगो ताप्ने लेखकहरूको बढ्दो जमातसम्मुख कुमारीको बिरलाकोटी उपस्थिति एक गजबको व्यङ्ग्य पनि हो । उनको यो उपस्थिति नेपाली लेखनमा साविकको अँध्यारो चिर्ने उज्यालो पनि हो । तर दुख्ने आँखाहरूलाई कहाँ उज्यालो मन पर्छ र ?
भुइँकै कुरा गर्दा बुद्धकालीन एक घटना यहाँ पस्कनु सान्दर्भिक हुनेछ ।
गौतम बुद्धले धर्माेपदेश दिने क्रममा एक दिन उनी भुइँमा बसेर उपदेश दिइरहेका थिए । उनलाई एक भक्तले सोधे, “तथागत, तपाईंको लागि आसन तयार छ, तर किन तपाईं भुइँमा बसेर उपदेश दिनुहुन्छ ।”
त्यो बेला गौतम बुद्धले भने, “तथागतलाई भुइँ नै मन पर्छ । किनकि भुइँमा बसेको मान्छे कहिल्यै तल झर्दैन ।”
लेउती र सर्दु खोलाको बगर, छत्रेदेउरालीको भिरालो पाखा र काठमाडौँको चिसो भुइँसँगको गहिरो आत्मीयता छ उनको । त्यसैले हामीजस्ता भुइँमान्छेहरूका लागि लेखक कुमारी लामाको ईष्र्या गर्नेहरूको सङ्ख्या बढ्नुलाई शुभ सङ्केत नमानी सुखै छैन । माथि भनिसकियो, दुख्ने आँखालाई उज्यालो मन पर्दैन ।
***