Logo

८ चैत्र २०८१, शुक्रबार

संसदमा विपक्षी धेरै भए

उदयशम्शेर जङ्गबहादुर राणाको संसद अनुभव

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने पाउने पद्धतिमा परिमार्जन गर्ने बेला आएको बताउनुभएको छ ।

कुरा गर्दै उहाँले संसदमा कुनै मुद्दा उठेपछि सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नै पर्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उल्लेख गर्नुभयो । संसदको लामो प्रक्रियाका कारण कतिपय अवस्थामा दिक्क पनि लाग्छ तर त्यही प्रक्रिया र वृहत छलफलका कारण पारित भएका विधेयक दिगो हुने उहाँको तर्क छ । यसलाई दुबै दृष्टिकोणले हेर्न सकिने उहाँले बताउनुभयो । सांसद राणाले भन्नुभयो, “यसको अर्थ मैले संसदीय प्रक्रिया ‘सर्टकट’ बनाउनुपर्छ भन्न खाजेको होइन तर यसबारेमा सोच्नुपर्ने बेला आएको छ ।”

गठबन्धनका कारण सरकारमा धेरै पार्टी छन्, विधेयक ल्याउन पनि समय लाग्ने, संसदमा पनि पार्टी धेरै छन्।

ललितपुर क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्दा संसदले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो । “विपक्षी पनि धेरै भए । केही दल र संसद अपरिपक्व रुपमा प्रस्तुत हुँदा पनि सदन अवरोध हुने गरेको छ”, उहाँले भन्नुभयो । सरकारले पर्याप्त विजनेश दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उहाँको बुझाइ छ , “गठबन्धनका कारण सरकारमा धेरै पार्टी छन्, विधेयक ल्याउन पनि समय लाग्ने, अर्को कुरा संसदमा पार्टी पनि धेरै छन्”। संसद राणाले भन्नुभयो ।

अमेरिकाबाट स्नातकोत्तर अध्ययन गर्नुभएका उहाँले मुलुकका पछिल्ला भ्रष्टाचारका प्रकरण र अनियमितताका विषयमा सत्य, तथ्य छानविन गरी त्यसमा संलग्न दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ ।”

संविधानअनुसार हामीले जनतामा गरेको वाचा पूरा गर्न पनि केही विकास निर्माणमा सहभागी हुनैपर्छ, अहिलेको प्रणालीमा यो कहीँ न कहीँ जोडिन्छ ।

सांसद राणाले संसद्को सांसद विकास कोषलाई कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको विषयप्रति असन्तुष्टि जनाउँदै यसले विधायिकी अधिकार कुण्ठित भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानअनुसार हामीले जनतामा गरेको वाचा पूरा गर्न पनि केही विकास निर्माणमा सहभागी हुनैपर्छ, अहिलेको प्रणालीमा यो कहीँ न कहीँ जोडिन्छ । यसलाई अस्वभाविक रूपमा लिनु हुँदैन । आफ्नो क्षेत्रको विकासको जिम्मेवारी हाम्रो पनि हो । तर यसमा पारदर्शी हुनुपर्छ भन्नेमा सबै स्पष्ट हुनुपर्छ ।”

यो राज्यको शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्तविपरीत भएको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, “यसबाट संसदको अधिकारमाथि हस्तक्षेप भएको भन्ने मलाई लागेको छ ।”

सांसदको पहिलो काम कानुन निर्माण भएको र त्यसबाहेक जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि केही गर्नुपर्ने उहाँको भनाइ छ ।

केही सांसदले कहिलेकाही प्रोपागाण्डा बनाउन र सामाजिक सञ्जालमा छाउनका लागि अनेक किसिमले उटपट्याङ कुरा बोलेको पनि देखिन्छ, यसको उत्पादकत्व भने केही पनि छैन ।

विसं २०२६ मा ललितपुरमा जन्मनु भएका उहाँ १९ वर्षको उमेरदेखि नै नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको सक्रिय राजनीतिमा लाग्नुभएको हो । राजनीतिक परिवारमै हुर्किनुभएका उहाँ नेपाल तरुण दलमा विभिन्न भूमिका निर्वाह गरी केन्द्रीय अध्यक्ष बन्नुभएको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य रहनुभएका संसद राणासँग यस अघि दोस्रो संविधानसभामा सांसद र सभासद्को भूमिका निर्वाह गरेको अनुभव पनि छ । सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद राणाले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसदमा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, सांसद राणाले भन्नुभयो, “केही सांसदले कहिलेकाही प्रोपागाण्डा बनाउन र सामाजिक सञ्जालमा छाउनका लागि अनेक किसिमले उटपट्याङ कुरा बोलेको पनि देखिन्छ, यसको उत्पादकत्व भने केही पनि छैन ।”

पूर्वअर्थ राज्यमन्त्री समेत रहनुभएका उहाँले संसदलाई प्रभावकारी बनाउन सांसदहरुले संयम रुपमा प्रस्तुत हुनुपर्ने र नैतिकवान बन्नुपर्ने धारणा राख्नुभयो । सामाजिक सञ्जालमा छाउनेभन्दा पनि राष्ट्र निर्माणमा योगदान हुने गरी सदन र संसदीय समितिमा आफ्ना कुरा राख्नुपर्ने उहाँको भनाइ छ । उहाँले विभिन्न ४० भन्दा बढी मुलुकको भ्रमण गर्नुभएको छ ।

भीष्मराज ओझा . रासस

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *