Logo

८ बैशाख २०८२, आइतबार

विपश्यनाको शाब्दिक सार वस्तुलाई तिनकै वास्तविक स्वरूपमा देख्नु हो, जस्ताका तस्तै देख्नु हो । यसलाई सबैभन्दा पुराना ध्यान प्रविधिहरूमध्ये एक मानिन्छ । गौतम बुद्धले झन्डै २५०० वर्षअघि यो ध्यान विधिको पुनर्खोज गर्नुभएको थियो। जसले यसलाई सबै रोगहरूको सार्वभौमिक उपचारका रूपमा, अर्थात्, एक जीवन जिउने कला को रूपमा सिकाउनुभएको थियो। यो कुनै पनि सम्प्रदायमा सीमित नभएको विधि हो, जसको उद्देश्य मानसिक अशुद्धिहरूको पूर्ण रूपमा उन्मूलन गर्नु र त्यसबाट प्राप्त पूर्ण मुक्तिको परम आनन्द अनुभूति गर्नु हो।

विपश्यना आत्म-अवलोकनको माध्यमबाट आत्म-परिवर्तन गर्ने उपाय हो। यो शरीर र मनबीचको गहिरो अन्तरसम्बन्धमा केन्द्रित हुन्छ, जसलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सकिन्छ—शरीरमा उत्पन्न हुने भौतिक संवेदनाहरूमा अनुशासनपूर्वक ध्यान दिएर। यी संवेदनाहरू नै जीवनको आधार हुन्, जुन निरन्तर रूपले शरीर र मनलाई परस्पर जोड्छन् र परस्पर असर गर्छन्। मन र शरीरको साझा जडसम्म पुग्ने यो आत्म-अन्वेषण प्रक्रियाले मानसिक अशुद्धिहरूलाई नष्ट गर्छ, जसका कारण प्रेम र करुणाले भरिएको समतायुक्त मन विकसित हुन्छ।

यस ध्यानमार्फत व्यक्तिको सोच, अनुभूति, निर्णय र संवेदनाहरूलाई संचालित गर्ने वैज्ञानिक नियमहरू स्पष्ट रूपमा बुझ्न सकिन्छ। प्रत्यक्ष अनुभवको माध्यमबाट, कसरी व्यक्तिले आत्म-विकास गर्छ वा पतनमा जान्छ, कसरी पीडा सिर्जना गर्छ वा आफूलाई पीडाबाट मुक्त गर्छ भन्ने कुरा बुझ्न सकिन्छ। त्यसपछि जीवन झन् सजग, भ्रमरहित, आत्मसंयमयुक्त र शान्तिपूर्ण बन्दै जान्छ।

परम्परा

बुद्धको समयदेखि विपश्यना गुरुहरूको हस्तान्तरण शृङ्खला अविच्छिन्न रूपमा हस्तान्तरण हुँदै आएको थियो । यस परम्पराका पछिल्ला गुरु दिवंगत एस.एन. गोयन्का हुनुहुन्थ्यो। भारतीय मूलका गोयन्का बर्मा (हालको म्यानमार) मा जन्मिएका र त्यहीँ हुर्किनुभएको थियो । त्यहाँ बस्दा, उहाँले आफ्नो गुरु सायागी ऊ बा खिन बाट विपश्यना सिक्ने अवसर प्राप्त गर्नुभयो, जो त्यस समय बर्माका एक उच्च सरकारी अधिकारी थिए।

चौध वर्षसम्म आफ्नो गुरुबाट प्रशिक्षण प्राप्त गरेपछि, गोयन्का भारत फर्किनुभयो र सन् १९६९ मा सायागीबाट आधिकारिक रूपमा विपश्यना सिकाउने अनुमति प्राप्त गर्नुभयो। आफ्नो जीवनकालमा उहाँले पूर्वीमात्रै होइन, पश्चिम विश्वका हजारौं जातजाति तथा धर्मावलम्बीलाई विपश्यना सिकाउनुभयो। सन् १९८२ मा विपश्यनाका बढ्दो माग पूरा गर्नका लागि उहाँले सहायक गुरुहरू नियुक्त गर्न सुरु गर्नुभयो। सन् २०१३ मा उहाँको निधन हुनुअघि, उहाँले भविष्यका गुरुहरूलाई प्रशिक्षण दिन र नियुक्त गर्नका लागि एक व्यवस्थित प्रणाली तयार गर्नुभयो, जसले परम्परालाई निरन्तर अघि बढाउन मद्दत गरिरहेको छ।

गोयन्काको निधनपछि, विपश्यना परम्परामा कुनै व्यक्तिगत गुरु भने  नियुक्त गरिएको छैन। उहाँले एउटा संस्थागत प्रणाली निर्माण गर्नुभएको थियो, जसअन्तर्गत सहायक आचार्यहरूलाई प्रशिक्षण दिइएको छ, जसले विपश्यना सिकाउने कार्य निरन्तर रूपमा अगाडि बढाइरहेका छन्।

गोयन्काको मार्गदर्शनमा स्थापित धम्म गद्दी प्रणाली अन्तर्गत ध्यान केन्द्रहरू सञ्चालन भइरहेका छन्, जहाँ प्रशिक्षित शिक्षकहरूले मूल विधिलाई जस्ताको तस्तै राख्दै पाठ्यक्रमअनुसार प्रशिक्षण दिनुहुन्छ। यसरी विपश्यना परम्परा कुनै व्यक्तिगत गुरुमा केन्द्रित नभई विधिको शुद्धता र संस्थागत शिक्षामा आधारित रूपमा अघि बढिरहेको देखिन्छ।

पाठ्यक्रम

यो विधिमा दस-दिन लामो आवासीय अभ्यास गराइन्छ , जहाँ सहभागीहरूले एक निश्चित अनुशासन संहिता पालन गर्नुपर्छ, विधिको आधारभूत पक्षहरू सिक्नुपर्छ, र यसको लाभदायक परिणाम अनुभव गर्न पर्याप्त अभ्यास गर्नुपर्छ।

यसको पाठ्यक्रमले गम्भीर परिश्रम र समर्पण माग्छ। प्रशिक्षणका तीन चरणहरू हुन्छन्। पहिलो चरण, अभ्यास अवधिभर हत्या, चोरी, यौन कृयाकलाप, असत्य बोली र मादक पदार्थ सेवनबाट टाढा रहनुपर्छ। 

यस्ता सरल नैतिक अनुशासन मनलाई शान्त पार्नका लागि प्रयोगमा ल्याइन्छ, किनकि अशान्त मन आत्म-अवलोकन गर्न असमर्थ हुन्छ। 

दोस्रो चरणमा, मनलाई नियन्त्रण गर्ने अभ्यास गरिन्छ, जसका लागि सास नाकबाट भित्र-बाहिर हुने प्राकृतिक प्रक्रियामा ध्यान केन्द्रित गरिन्छ। यस्त अभ्यास तीन दिन गरिसकेपछि चौथो दिनसम्म मन थप स्थिर र एकाग्र बन्छ, जसले विपश्यनाको वास्तविक अभ्यास गर्न सक्ने अवस्थामा पुर्‍याउँछ। 

यो अभ्यासमा सम्पूर्ण शरीरभर उत्पन्न हुने संवेदनाहरूलाई अवलोकन गर्ने, तिनीहरूको वास्तविक स्वरूप बुझ्ने, र कुनै प्रतिक्रिया नगरी समान भाव (समत्व) विकास गर्ने प्रक्रियाहरू समावेश हुन्छन्। अन्तिम दिन, सहभागीहरूलाई मैत्रीभावना ध्यान सिकाइन्छ, जसमा पाठ्यक्रमभरि विकसित गरिएको शुद्धता सबै प्राणीसँग बाँड्ने अभ्यास गरिन्छ।

समग्र रूपमा, यो एक मानसिक प्रशिक्षण हो। जसरी शारीरिक स्वास्थ्य सुधार गर्नका लागि व्यायाम गरिन्छ, त्यस्तै विपश्यनाले मनलाई स्वस्थ बनाउन मद्दत गर्छ। यो विधि अभ्यास गर्दा यसको मौलिक र शुद्ध स्वरूप जोगाइराख्ने कुरामा ध्यान दिइन्छ। यो व्यवसायिक रूपमा बेचिँदैन, पूर्ण रूपमा नि:शुल्क प्रदान गरिन्छ। यसलाई सिकाउने कोही पनि व्यक्तिले भौतिक पारिश्रमिक लिनुहुन्न। अभ्यासका लागि कुनै शुल्क लाग्दैन—खानपान र आवास खर्च समेत। सम्पूर्ण खर्च तिनै व्यक्तिहरूको स्वेच्छिक दानबाट जुटाइन्छ, जसले अभ्यास पूरा गरेपछि विपश्यनाको लाभ अनुभव गरिसक्नुभएको छ र अरूलाई पनि अवसर प्रदान गर्न चाहनुहुन्छ।

स्वाभाविक रूपमा, परिणामहरू निरन्तर अभ्यासबाट क्रमशः प्राप्त हुन्छन्। केवल दस दिनमा नै सबै समस्याहरू समाधान हुने अपेक्षा गर्नु स्वभाविक होइन। तर, यस अवधिमा विपश्यनाका आधारभूत पक्षहरू सिक्न सकिन्छ, जसलाई दैनिक जीवनमा लागू गर्न सकिन्छ। जति बढी अभ्यास गरिन्छ, उति नै दुःखबाट मुक्ति पाइन्छ, र पूर्ण मुक्तिको परम लक्ष्यतर्फ नजिकिँदै जान सकिन्छ भन्ने यस ध्यान विधिको ध्येय देखिन्छ । तथापि केवल दस दिनकै अभ्यासले पनि जीवनमा प्रत्यक्ष लाभ र स्पष्ट परिवर्तन ल्याउन सक्छ।

***

सन्दर्भ स्रोत: धम्म

प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *