काठमाडौँ, २५ भदौ — सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री शाहको नेतृत्वमा महासभामा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो।
बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आइजीएससी)को बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।
अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
त्यस्तै, काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहमा पहिचान भएका १७ हजार ४३८ गरिब घरपरिवारको सूची मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाल नियुक्त भएका छन्।
मन्त्रिपरिषद्ले दुई सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्दै प्रदेशका प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
सहसचिव विनोदबहादुर कुँवरलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।
त्यसैगरी, सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।




