Logo

३० भाद्र २०८३, सोमबार

राष्ट्रिय समाचार समिति (रासस)

म्याग्दी, २८ भदौ। कलाकार प्रकाश दुतराजले आफ्नो जन्मथलो म्याग्दीबाट लोकसङ्गीत ब्यान्ड सुरु गरेका छन्।

बेनीको खुलामञ्चमा म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा दुतराजको ‘दुतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक गरिएको हो।

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएका र सदरमुकाम बेनीमा बाल्य तथा किशोरावस्था बिताएका दुतराजले आफूले नेपालमै पहिलो पटक लोकसङ्गीत ब्यान्ड सुरु गरेको बताएका छन्।

“यो नेपालको पहिलो लोकसङ्गीत ब्यान्ड हो,” उनले भने, “विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसङ्गीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरु गरेको छु।”

दुतराजले अब आफ्ना अधिकांश साङ्गीतिक प्रस्तुति रेकर्ड गरिएको ट्र्याकको सट्टा ब्यान्डको प्रत्यक्ष वाद्यवादनसहित हुने बताए।

“करिब १४ वर्षदेखि मनमा सँगालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट सुरु गर्ने अवसर पाउँदा खुसी र उत्साहित छु,” उनले भने, “ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजाको प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो।”

दुतराजको नेतृत्वमा रहेको समूहमा वाद्यवादकसहित १२ कलाकार छन्। ब्यान्डले नेपालका विभिन्न स्थानमा साङ्गीतिक भ्रमण गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।

दुतराजका ‘मनमाया’, ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’ र ‘ऐना झ्यालैमा’ लगायत लोकगीत चर्चित छन्।

यसअघि १२ भदौमा जनैपूर्णिमाका अवसरमा आयोजना गर्ने भनिएको कार्यक्रम रसुवाको बाढीका कारण स्थगित गरिएको थियो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले सङ्घले आयोजना गरेको महोत्सवबाट गायन यात्रा थालेका दुतराजलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको बताए।

“म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवबाट गायन यात्रा थालेका प्रतिभालाई प्रोत्साहन गर्न हामीले साथ दिएका हौँ,” श्रेष्ठले भने, “विपन्न समुदायबाट आएका प्रकाशको सङ्घर्ष र मेहनत प्रेरणादायी छ।”

दुतराजको ब्यान्डको प्रस्तुति हेर्न म्याग्दीका साथै बागलुङ र पर्वतबाट आएका दर्शकले बेनीको खुलामञ्च भरिएको थियो। निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा सिमसिम पानी परिरहे पनि दर्शकले दुतराजको प्रस्तुतिसँगै नाचेर मनोरञ्जन लिएका थिए।

प्रस्तुतिअघि दुतराजले आफ्नो सङ्घर्षका दिन र त्यस क्रममा साथ दिनेहरूलाई सम्झिएका थिए। उनले आगामी साङ्गीतिक यात्रामा पनि साथ र सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई म्याग्दी उद्योग वाणिज्य सङ्घले सम्मान गरेको थियो।

प्रकाशित मिति: २९ भाद्र २०८३, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *