Logo

१२ कार्तिक २०८३, बिहिबार

भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्व सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने महोत्सवमा १४ देशका ४० चलचित्र प्रदर्शन गरिनेछ।महोत्सवमा आजमीसँगै सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक तथा चलचित्र महोत्सवका अनुभवी निर्देशक मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा सहभागी हुनेछन्।

कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा आजमीसँग ‘फिल्म्स, फेस्टिभल्स एन्ड अ लाइफ वेल लिभ्ड’ विषयमा अन्तरसंवाद हुनेछ। चलचित्र क्षेत्रमा उनको अनुभव, फिल्म महोत्सवको भूमिका र उनको कलायात्राबारे छलफल गरिनेछ। सोही दिन नाकामुराले जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिनेछन्।

कात्तिक १५ गते मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवमा चलचित्र सौन्दर्यशास्त्रको महत्त्व’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन्। यसमा ग्लोबल साउथका चलचित्रको कलात्मक भाषा र अन्तर्राष्ट्रिय महोत्सवमा तिनको उपस्थितिबारे चर्चा हुनेछ। सोही दिन नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्यबारे पनि छलफल आयोजना गरिनेछ।

महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रसँगै नेपाली सिनेमाको इतिहासलाई पनि विशेष स्थान दिइएको छ। सन् १९७० र १९८० को दशकका नेपाली चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिनेछन्। अन्तर्राष्ट्रिय पानोरमा विधामा चीन, भारत, दक्षिण कोरिया, फ्रान्स, अमेरिका र अन्य देशका चलचित्र समावेश छन्। फ्रान्सिस फोर्ड कोपोलाको चर्चित चलचित्र ‘द गडफादर’ पनि प्रदर्शन गरिने कार्यक्रम छ।

स्थानीय नयाँ प्रतिभालाई प्रोत्साहन गर्न ‘नेपाल पानोरामा सर्ट्स’ अन्तर्गत खुला आह्वानबाट प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ। छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ। त्यस्तै, ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकको युवा भिडियो प्रतियोगितामा ३५ मध्ये ११ भिडियो छनोट भएका छन्।

काठमाडौंको संस्कृति, परम्परा र मूर्त तथा अमूर्त सम्पदालाई चलचित्रमार्फत अभिलेखीकरण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ। महोत्सवका कार्यक्रम वसन्तपुर, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय सभागृह, जय नेपाल सिनेमा र बौद्ध क्षेत्रमा सञ्चालन हुनेछन्। चलचित्र प्रदर्शन निःशुल्क भए पनि दर्शकले सिट आरक्षणका लागि टिकट लिनुपर्ने बताइएकाे छ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *