Logo

८ बैशाख २०८२, आइतबार

गितारको गीत

स्वयं
संगीतको स्रोत हुँ
तर
यति पनि स्वतन्त्र छैन कि
आफ्नै धुन गुनगुनाउन सकूँ !

मबाट निसृत धुनहरू
मेरो स्वत्वमाथि
निर्धक्क सलबलाउने
निरंकुश शासकजस्ता
निर्दयी औँलाहरूद्वारा निर्धारित हुन्छन् ।

मदारीले झैं
स्वतन्त्रताको धुनमाथि
जब स्वेच्छाचारी चाबुक चलाउँछौ
इच्छाका निजी धुनहरू दबाएर
तिम्रै धुन भुनभुनाउन थाल्छु ।

तिम्रा उन्मत्त औँलाहरू
विस्मातमा पनि मैसँग खेल्छन्
खुशी हुदा पनि मैमाथि रजाइँ गर्छन् ।

मेरो नाजुकतामाथि
तिमी औँला चलाउँछौ कि जादु ?
ममाथि
यसरी नचाउँछौ कि औँलाहरू
तिम्रो खुशीमा
दबाएर पीडाको करूण धुन
खुशीको धुन झुनझुनाउन थाल्छु
तिमी दुःखी हुँदा
पन्छाएर सारा खुशीहरू
विरहको धुन गुनगुनाउन थाल्छु !

मनको आकाशमा
कहरको बादल मडारिएको बेला
भावनाका घायल तारहरूमाथि
तिमी
भैरव रागका औँलाहरू नचाउँछौ
तब
तिम्रै लागि
समर्पणको गीत गाउन अभिषप्त हुन्छु ।

आजसम्म
जति पनि संगीत भरेँ
ती सबै संगीतहरू
मेरो चाहनाका संगीत होइनन्
आजसम्म
जति पनि धुन सिर्जना गरें
ती सबै धुनहरू
मेरा इच्छित धुनहरू होइनन् ।

कुनैदिन
रेट्दा–रेट्दै भएँ भने खुकुलो
बज्दा–बज्दै सुनिएँ भने कर्कश स्वर
तन्किदा–तन्किदै चुडिएँ भने झिनो तार
तिमी सजिलै नयाँ खरिद गर्छाै
र बिर्सिदिन्छौ पुरानोलाई
तर
कसरी सक्छु म तिमीलाई बिर्सन
जबकि
तिमीले दाबेर छाडेका
दबाबका डोबहरू
यादका फ्रेट्सहरूमा सधैँ दुखिरहन्छन् ।

प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *