
‘नर्थ स्टर्न रेलवे हेडक्वाटर’मा काम गर्ने काका कर्णबहादुर साहनीसित सन् १९६३ तिर म गुवाहाटी, मालीगाउँ पुगेको थिएँ । पुग–नपुग एक वर्षजति बस्दा काकाले मलाई सारा गुवाहाटी घुमाउनु भयो । उहाँले चिनजानेका सबै मान्छे चिनाउनु भयो । आफूले कविता कोर्न थालेकाले होला, मलाईचाहिँ कुनै साहित्यकारसँग पनि परिचय भइदिए हुन्थ्यो भन्ने लागेको थियो । तर काकाको चिनजानमा कुनै साहित्यकार निस्किएनन् । मलाई लाग्यो– गुवाहाटीमा नेपाली साहित्यकार वा पत्रकार नै छैनन् होला ।
झण्डै एक वर्ष गुवाहाटीमा बिताएपछि म सन् १९६४ मा राबरघारी लोकरा, दरंग जिल्ला (हाल शोणितपुर), असम पुगेँ । सन् १९६६ सम्म त्यहाँ बसेर हाइस्कुलको पढाइ पूरा गरेँ । त्यहाँ भेटिएका साथीमध्ये एक थिए– ज्ञानबहादुर कार्की । उनले मलाई एउटा उपन्यास पढ्न दिए, जसको नाम थियो– बसाइँ । नेपाली पुस्तक मुश्किलले पाइने ठाउँमा उपन्यास नै पाउनु गज्जब कुरा थियो । अनि अर्को गज्जबको कुरा, उपन्यासका लेखक थिए– लीलबहादुर क्षेत्री । जो मैले ‘कोही साहित्यकार छैनन् होला’ भन्ने ठानेको ठाउँ गुवाहाटीकै रहेछन् । उनले अर्थशास्त्रमा एमए गरेको र आर्य विद्यापीठ कलेजमा प्रध्यापन गरेको कुराचाहिँ मैले पछिमात्रै पाएँ ।
साथीबाट लिएको ‘बसाइँ’ मैले एकै सासमा पढेको थिएँ । उपन्यास मलाई निकै राम्रो लाग्यो, निकै मन पर्यो । सोही कुरा उल्लेख गरेर मैले चिठी लेखेँ र उपन्यासमा उल्लेखित क्षेत्रीको ठेगानामा पठाएँ । त्यो चिठी नै मेरो समीक्षा वा समालोचना गर्ने पहिलो अभ्यास थियो । त्यसैले त्यसको महत्व मेरो साहित्यिक जीवनमा ठुलो छ । तर, त्यतिबेला भने मैले त्यसरी सोचेको थिइनँ । सामान्य पाठकको प्रारम्भिक प्रतिक्रियास्वरूप उपन्यासको उच्च मूल्यांकन गरेको थिएँ ।
क्षेत्रीसँग मेरो पहिलो भेट भने सन् १९६६ मा ‘असम गोर्खा लिग’को बाह्रौं अधिवेशनका क्रममा दरंगको गढपालमा भएको थियो ।

भेटमा अनेक प्रसंग
वि.सं. २०४५ मा मेरो यात्रा संस्मरणको पुस्तक ‘आसामदेखि मणिपुरसम्म’को प्रकाशित भयो । जसमा लागि मैले त्यस भेगका विभिन्न साहित्यकारसँग भेटेर कुराकानी गरेको थिएँ । त्यसै दौरान सन् १९८६ को जनवरीमा लीलबहादुर क्षेत्रीलाई गुवाहाटीमा उनकै निवासमा भेटेँ । उक्त भेटमा उनीसँग अनेक प्रसंगमा कुराकानी भयो । उनले असमको साहित्यको चर्चा त गरे नै नेपालको बाग्लुङ र मुस्ताङ घुम्न जाने इच्छासमेत प्रकट गरेका थिए ।
त्यतिबेला उनले मलाई भनेका थिए, “नेपाल गए पनि मैले त तपाईंलाई यतैको लेखक ठानेको छु । यताको साहित्य र साहित्यकारको चर्चा गर्दा तपाईंको नाम पनि उल्लेख गर्दछु ।” उनले त्यसो भनिरहँदा मैले अनुराग प्रधानको सम्पादनमा प्रकाशित हुने पत्रिका ‘हाम्रो ध्वनि’मा उनले लेखेको लेखे सम्झिएको थिएँ । जसमा उनले मलाई एकजना उत्साही युवकको रूपमा चित्रित गरेका थिए ।
असमको साहित्यको प्रसंगमा उनले यसको सुरुवात काव्य र विशेषगरि सवाई लेखनबाट शुरु भएको बताए । गद्यमा पनि असमेली साहित्यकारले कलम चलाएको प्रसंग उनले उठाए । असमेली राम्रा गद्य गोर्खा र गोर्खा संसारमा प्रकाशित भएको कुरा उल्लेख गरे । त्यसै मेसोमा दरंग (हाल शोणितपुर) जिल्लाका लेखकहरू हरिनारायण, मास्टर गंगाधर, रामचन्द्र शर्मा आदिको कलम गद्य साहित्यमा राम्ररी चलिरहेको बताएका थिए ।
कुराकानीका क्रममा उनले शिलाङका कवि पद्य ढुंगाना, लेखक तथा पत्रकार मणिसिंह गुृरुङ, लेखकहरू बबुर राना, हर्षबहादुर शाही , भोलानाथ गुरुङ आदिले लघु उपन्यास, कथा तथा नाटक लेखेको चर्चा गरे । मिजोरामका पण्डित रामप्रसाद उपाध्याय ज्ञवालीले बनारसबाट काशीबहादुर श्रेष्ठको सम्पादनमा प्रकाशित हुने ‘उदय’मा लेख, कथा आदि लेखेको उल्लेख गरे । अविनाश श्रेष्ठ, नव सापकोटा, भविलाल लामिछाने, पद्म क्षेत्री आदि युवा साहित्यकारहरू पनि हरिभक्त कटुवालको परम्परामा रहेको उनको बुझाइ थियो । साहित्यकारहरूकै प्रसंगमा उनले लामडिङका केबी नेपाली र नव गाउँका हरिप्रसाद शर्माको साहित्यिक योगदानबारे पनि चर्चा गरे ।
असमका साहित्यकारहरूलाई अध्ययनको लागि पुस्तक, पत्रपत्रिका तथा पुस्तकालयको ठूलो अभाव भएको उनको गुनासो थियो । असमेली साहित्यकारले विविधखाले साहित्यिक समस्या बेहोर्नु परिरहेको तर समस्याकै बिचबाट साहित्यको विकास हुने कुरामा उनी आशावादी देखिएका थिए । अनि उनको अर्को जोड थियो– असमेली साहित्यकारहरूको दार्जिलिङ र नेपालतिरका साहित्यकारहरूसित पनि राम्रो सम्बन्ध हुनुपर्दछ ।
क्षेत्रीसँग साहित्यका कुरा गर्दागर्दै आफ्नै सन्दर्भमा गज्जब कुरा थाहा पाएको थिएँ । उनले मलाई बताए कि मेरो कथा ‘पसिनाको गन्ध’ डा. दयाराम संभव श्रेष्ठले पञ्चायतको रजत जयन्तीको सन्दर्भ पारेर प्रकाशित गरेको ‘भारतीय नेपाली कथा’मा समावेश भएको छ । शिलाङबाट छानिएका चार कथाकारहरूमा म पनि समावेश भएको रहेछु ।
उक्त कथाको पुस्तक प्राप्त गरेपछि थाहा पाएँ– त्यतिबेला काठमाण्डौँबाट उत्तम कुँवरको सम्पादनमा प्रकाशित हुने चर्चित पत्रिका ‘रूपरेखा’को पृष्ठ दुईबाट साभार गरेर मेरो कथा त्यसमा समावेश गरिएको रहेछ । मैले ‘रूपरेखा’ पत्रिकाका मेरो कथा छापिएको कुरा तेह्र वर्ष पछिमात्र थाहा पाएको थिएँ । यस्ता सन्दर्भले पनि लीलबहादुर क्षेत्रीसँगको त्यो भेट मेरा लागि अविस्मरणीय छ ।

सोध्न नपाएका प्रश्न
लीलबहादुर क्षेत्रीले ‘बसाइँ’पछि पनि अरु तीन उपन्यास लेखे । तर अन्य उपन्यासले ‘बसाइँ’लाई उछिन्न सकेनन् । ‘बसाइँ’ले नै उनलाई नेपाली साहित्यका ठुला लेखक वा उपन्यासकारको रूपमा चिनाएको छ । जसरी लक्ष्मीप्रसाद देवकोटालाई दर्जनौं पुस्तक लेखे पनि ‘मुनामदन’ले स्थापित गरेको छ, त्यसरी नै क्षेत्रीलाई ‘बसाइँ’ले । जसरी हिन्दीमा एउटा बेजोडको कथा ‘उसने कहा था’ लेखेर चन्द्र शर्मा गुलेरी अमर कथाकार बनेका छन्, त्यसरी नै उत्कृष्ट उपन्यास ‘बसाइँ’ लेखेर लीलबहादुर क्षेत्री अमर उपन्यासकार बनेका छन् ।
क्षेत्री उपन्यासकार मात्रै होइनन्, कथाकार पनि हुन् । उनका किपट, बेसाहा, चिठ्ठाजस्ता कथा उत्कृष्ट कोटीमा चर्चित छन् । ‘तीन दशकः बीस अभिव्यक्ति’मा संग्रहित उनका कथाहरूबारे स्याङ्जाबाट प्रकाशित हुने ‘ज्याग्दीखोलाको तरंग’ (वर्ष ५, पूर्णाङ्क १७, कार्तिक–पुष २०७६) मा मैले समालोचनात्मक लेख लेखेको छु ।
‘मादल’को चौथो घन्काइ (सन् १९७४) मा ‘पूर्वाञ्चलको साहित्य र साहित्यकार’ शीर्षकमा मेरो समालोचनात्मक लेख प्रकाशित भएको थियो, म शिलाङ छँदै । जसमा मैले लीलबहादुर क्षेत्रीबारे पनि चर्चा गरेको छु । उनको चर्चित उपन्यास ‘बसाइँ’को प्रशंसा गरेको छु भने दोस्रो उपन्यास ‘अतृप्ति’प्रति निकै तिखो आलोचना ।
उक्त आलोचनाले क्षेत्रीलाई निकै आक्रोशित बनाएको मलाई कसैले सुनाएका थिए । उक्त टिप्पणीप्रति म अहिले पनि कायम नै छु, तर भाषा अलिक अपाच्य वा अशिष्ट भएजस्तो अनुभूति मलाई पनि भएको हो । त्यसैले समालोचनात्मक संग्रह प्रकाशित गर्दा समावेश गर्दा सच्चाउने र सुपाच्य बनाउने मनस्थितिमा थिएँ । तर मेरो समालोचनात्मक लेखको संगालो प्रकाशित नहुँदै फागुन २९ गते २०८१ (१३ मार्च २०२५¬) को बेलुकी क्षेत्री बिते । उनको कृतिबारे परिमार्जित भाषासहितको विचार अवगत गराउने मेरो सोच अधुरै रह्यो । संग्रह प्रकाशन गर्दा त्यसको भाषालाई सुपाच्य तथा शिष्ट बनाउने मनस्थितिमा भने अवश्य नै छु ।
हुन त क्षेत्रीले मेरो उक्त टिप्पणीप्रति भेटमा कुनै चर्चा चलाएनन् । उनले मौखिक रूपमा आक्रोश व्यक्त गरेको भनी तेस्रो व्यक्तिबाट सुनेकोमात्रै हुँ, त्यसैले खासै अर्थ त छैन । तर पनि आफू त्यसको भाषा परिष्कार र केही अंश परिमार्जन गर्ने सोचमा रहेको कुरा कैयौंपल्ट भेट हुँदा उनीसँग प्रकट गर्न पाएको भए मलाई यतिबेला कुनै गुनासो रहने थिएन । मैले मनको कुरा मनमा नै राखेँ, त्यसैले उनले अनुभूत गर्न पाएनन् । तर उनीसित असम वा नेपालमा भेट हुँदा अत्यन्त सुमधुर तथा सौहार्दपूर्ण संवाद भए । कहिल्यै पनि मैले टिप्पणीमा प्रयोग गरेको भाषा वा त्यसले त्यसमा व्यक्त गरेको आक्रोश अभिव्यक्त भएन । त्यस्ता प्रसंग नै निस्किएनन् । त्यतिमात्रै होइन, अरू पनि त्यस्ता केही प्रश्न छन्, जो मैले कहिल्यै उनलाई सोधिनँ । ती अब अनुत्तरित नै रहनेछन् ।
एकपल्ट भेटमा उनले मसित भनेका थिए– मेरो लेखनबारे चर्चा गरिएका सबै कुरा म संग्रह गरेर राख्दछु । के मैले सन् १९६४ मा उनको उपन्यास ‘बसाइँ’ पढेर प्रतिक्रिया लेखेको पत्र पाए ? के त्यो पनि संग्रह गरेर राखेका थिए ? मैले यो कुरा उनलाई कहिल्यै सोधिनँ ।
त्यस्तै, डा. शान्ति थापाले सम्पादन गरेको ‘असमेली कथा यात्रा’मा समावेश उनको कथा ‘मुँगाको चोलो’बारे मैले गरिमा (वर्ष २७, अंक १२, पूर्णांक ३२४, मंसिर २०६६) मा टिप्पणी लेखेको थिएँ । के उनले त्यो पढ्ने मौका पाए र संग्रह गरेका होलान् त ? योबारे पनि मैले उनलाई सोधिनँ, न उनले नै भने ।
‘तीन दशकः बीस अभिव्यक्ति’मा समेटिएका उनका कथाबारे ‘ज्याग्दीखोलाको तरंग’मा मैले लेखेको समालोचना पनि उनले पढ्न पाए कि पाएनन् ? त्यसको उत्तर मलाई थाहा छैन, जसरी मैले लेखेको पहिलो पत्र उनले पाए कि पाएनन् भन्ने कुरा नै मैले थाहा पाइनँ । न त मैले भेटमा उक्त प्रश्न सोधेँ, न मैले उक्त पत्रको जवाफ पाएँ ।
मैले नसोधेका यस्ता प्रश्नलाई अनुत्तरित नै छाडेर भारतमा साहित्य अकादमी (सन् १९८७), पद्मश्री (सन् २०२०) र नेपालमा जगदम्बाश्रीजस्ता सम्मानप्राप्त लेखक लीलबहादुर क्षेत्री ९३ वर्षको उमेरमा असम, गुवाहाटीबाट बिदा भए । जसले नेपाली साहित्य जगत्को एउटा गुल्जार स्थानमा शून्यता छाएको अनुभूति भएको छ । उनको अभाव नेपाली साहित्य जगत्लाई निकै खट्किरहेको छ ।
चैत्र २ गते २०८१ (१५ मार्च २०२५)