Logo

२२ आश्विन २०८२, मंगलबार

नदी किनाराको रुख

दिनहरू धेरै बिते
महिनाहरू धेरै बिते
वर्षहरू धेरै बिते
म वरपरका सबै रुखहरू,
कलिला स–साना बिरुवाहरू
माटोका मलिला पत्रहरू
यो निर्दयी बाढीले बगाइसक्यो
सबै सबै नै रित्याइसक्यो ।

पनि बग्न सक्छु
मेरा हरिया हाँगाहरू बग्न सक्छन्
मेरा कोमल पातहरू बग्न सक्छन्
सबै सबै नै अस्तित्वहीन हुन सक्छन्
विस्मृतिको गर्भमा लीन हुन सक्छन्
धरती छेडेर तलतल पुगेका मेरा जराहरू
अग्लदै आकाशलाई अँगालो मार्ने
मेरा हाँगाहरू
कुनै पनि दिन कुनै पनि समय
यो निर्दयी बाढीले बगाउन सक्छ
धरतीको सुन्दर क्यान्भासबाट
मेरो चित्र मेटाउन सक्छ
आहा ! त्यतिबेला पनि
जब म बाढीहरूमा बग्दै जानेछु
जब मेरो स्मृति क्षीण हुँदै जानेछ
जब मेरो अस्तित्व लोप हुँदै जानेछ
म ती प्रलयकारी आँधीहरू सम्झनेछु
म ती मुसलधारे वर्षाहरू सम्झनेछु
गड्गडाउँदै आउने भयानक बाढीहरू सम्झनेछु
तिनीहरूसँग जुझेका संघर्षले भिजेका क्षणहरू सम्झनेछु ।

मरे पनि
बाढीहरू मलाई बगाउन सफल भए पनि
यो धरती कहिल्यै कहिल्यै रित्तिने छैन
तुफानीभन्दा तुफानी नदीका किनाराहरूमा पनि
पहिरोले ताछेका विकट भिर र पहराहरूमा पनि
तमाम दुःख र कष्ट झेल्न तयार भएर
परिस्थितिका आँधीहरूमा खेल्न तयार भएर
हरेक साल हरेक वसन्तमा
बीउहरू झर्दै जानेछन्
विरुवाहरू उम्रदै जानेछन्
रुखहरू झ्यांगिदै जानेछन्
रुखहरू बढ्दै जानेछन् ।

प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार