Logo

८ बैशाख २०८२, आइतबार

लीलबहादुर क्षेत्री (क्षत्री)ले इहलीला त्यागे ९३ वर्षको उमेरमा । भारतीय नेपाली साहित्यकारलाई कि नेपालले तान्छ कि रक्सीले खान्छ भन्ने एउटा उखान छ तर लीलबहादुर क्षेत्री यस विषयमा अपवादमा परे । उनलाई उमेरले लग्यो । जनकवि हरिभक्त कटुवालपछि पूर्वाञ्चल भारतबाट सर्वाधिक चर्चामा आउने साहित्यकारमा पर्छन् लीलबहादुर क्षेत्री । हरिभक्तका सरल र मार्मिक कविता मेची तरेर बृहत्तर नेपाली जनमानसमा छाउन सफल भए भने लीलबहादुरका उपन्यास र कथाले नेपालका सिङ्गै एक पुस्तालाई मुङ्लानका दुःख र व्यथासँग परिचित गराइदिए । हरिभक्त पञ्चतत्त्वमा विलीन भएको ४४ वर्ष भइसक्यो भने लीलबहादुर क्षेत्रीले हालै मात्र भौतिक शरीर बिसाए ।
लीलबहादुर क्षेत्रीलाई सशरिर भेट्ने अवसर दुई महिना अगाडिको असम भ्रमणमा सम्भव हुनसकेन । उनको स्वास्थ्य स्थिति ठिक नभएको खबर पाएपछि धार्मिक स्थल कामाख्या मन्दिर पुगे पनि साहित्यिक तीर्थस्थल उनको निवास जाने उत्कण्ठा अधुरै रह्यो । लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यास पाठ्यक्रममा नै भएकाले यो उपन्यास र क्षेत्रीले नेपालमा व्यापक साहित्यिक चर्चा पाए । यसको अंग्रेजीमा अनुवाद गरे माइकल हटले र यो उपन्यासले विश्वव्यापी चर्चा पायो । सन् १९५७ प्रकाशित भएको ‘बसाइँ’को सान्दर्भिकता अहिले पनि सम्पूर्ण नेपाली समाजमा उत्तिकै छ ।
यस कुराको पुष्टि अंग्रेजी अनुवादमा गरिएको एन हन्किन्स, कवि र अनुवादक, को सानो टिप्पणीले गर्छन् ‘मार्मिक कथा हो, जसले गाउँले जीवनको विविधतालाई अत्यन्त समृद्ध विवरणमा चित्रण गर्छ । दैनिक खेतीपाती र घरायसी काम, गफगाफको श्रृङ्खला, साप्ताहिक बजार, सीमित अवसरहरू, गरिबमाथि सिकार गर्ने लोभी धनीहरू र महिलाहरूको विशेष कमजोरीहरू । यो कथा पढ्नाले गरिब गाउँलेहरू किन माओवादीमा सामेल हुन्थे भन्ने कुरा बुझ्न मद्दत गर्न सक्छ ।’
जगदम्बा प्रकाशनले प्रथमपल्ट प्रकाशन गरेको यो उपन्यास साझा प्रकाशनबाट सर्वाधिक बिक्री हुने पुस्तकमा पर्छ । उनको योगदानलाई कदर गर्दै त्यही संस्थाले उनलाई सन् २०१६ मा ‘जगदम्बाश्री सम्मान’ प्रदान गर्‍यो । यो उपन्यासमा आधारित चलचित्र पनि बनेको छ । उनको अर्को उपन्यास ‘ब्रह्मपुत्रको छेउछाउ’ले सन् १९८७ मा भारतीय साहित्य अकादमी पुरस्कार पायो । उक्त कृति साझा प्रकाशनबाट पुनः प्रकाशित भएको छ । विषय र शिल्पको दृष्टिकोणले ‘ब्रह्मपुत्रको छेउछाउ’लाई उनको उत्कृष्ट उपन्यास मान्छन् ।

आफ्नै जीवनकालमा आफ्नै नाममा पुरस्कार स्थापना हुनु आफैँमा एउटा ठुलो उपलब्धि हो, यस अर्थमा उनी निक्कै भाग्यमानी पनि हुन् ।

सन् १९६९मा प्रकाशित ‘अतृप्त’ उपन्यास पनि पछि गएर साझा प्रकाशनले प्रकाशित गरेको छ । तर भारतमा भने उनको उपन्यासहरू उपलब्ध नभएको खाँचोलाई पूर्ति गर्दै असमको इन्द्रेणी प्रकाशनले रुद्र बराल र ढाकाराम काफ्लेको सम्पादकत्वमा उनको ९३औं जन्मदिनको अवसरमा मार्च १, २०२५मा ‘लीलबहादुर क्षत्री उपन्यास समग्र’ प्रकाशित गरेको छ । उक्त ग्रन्थमा ‘बसाइँ’, ‘ब्रह्मपुत्रको छेउछाउ’, ‘अतृप्त’ र ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यासहरू समावेश छ । यही अवसरमा उनको नाममा स्थापित ‘लीलबहादुर क्षेत्री पुरस्कार’ डुबर्सका कथाकार अबीर खालिङ्गलाई उनको कथा संग्रह ‘विस्थापन’ को निम्ति प्रदान गरिएको थियो । आफ्नै जीवनकालमा आफ्नै नाममा पुरस्कार स्थापना हुनु आफैँमा एउटा ठुलो उपलब्धि हो, यस अर्थमा उनी निक्कै भाग्यमानी पनि हुन् ।
लीलबहादुर क्षेत्री एक राम्रा कथाकार हुन् तर भारतीय नेपाली साहित्यले यो यथार्थलाई आत्मासात गर्न सकिरहेको देखिँदैन । भारतीय साहित्य अकादमीले प्रकाशित गरेको ‘स्वतन्त्रोत्तर भारतीय नेपाली कथाहरू’ (सन् २०२०) र नेशनल बुक ट्रस्ट, इन्डियाद्वारा प्रकाशित ‘स्वतन्त्रोत्तर नेपाली कथाहरू’ (सन् २००८)मा लीलबहादुर क्षेत्रीको कुनै कथा समावेश छैन । उनको कथा समावेश नुहुनुले यी दुवै कथा संग्रहले आफ्नो महत्त्व घटाएको अनुभूति हुन्छ । तर नेपाल प्रज्ञा प्रतिष्ठानले उनको कथा संग्रह ‘लीलबहादुर क्षत्रीका कथाहरू’ वि.स. २०५३ तदानुसार सन् १९९६मा नै प्रकाशित गरेको छ । यस कथा संग्रहको भूमिकामा प्रसिद्ध साहित्यकार तत्कालीन प्राज्ञ रमेश विकल लेख्छन्, ‘लीलबहादुर क्षत्रीको प्रस्तुत कथासङ्ग्रहमा परेका १८ वटा कथाहरूमा स्वदेशवासी र प्रवासी दुवैथरी सामान्य मानिसका (जनजीवनको) विविध पक्षहरू समेटेर मार्मिक चित्रहरू प्रस्तुत भएका छन् ।’
सोझासाझा जनताका पीडा, निरिहता, दुःख अनि टाठाबाठाहरूको धूत्र्याइँ, फट्याइँ र अहङ्कारपूर्ण मानसिकतालाई सहज भाषाशैलीमा चित्रण गरेर नेपाली मौलिक संस्कृति, सरल मानसिकता, जीवन पद्धति र स्वाभाविक महत्त्वाकांक्षा, इच्छा र सपनाहरूको सरल र मार्मिक अभिव्यक्ति दिने यी कथाहरूलाई सङ्ग्रहका रूपमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएर कथा साहित्यको भण्डारमा एउटा अर्को निधि थपेको छ । यस पुस्तकले नेपाल प्रज्ञा प्रतिष्ठानको गरिमा बढाएको छ । पङ्कज पल्लव प्रकाशनद्वारा सन् १९८३ मा प्रकाशित कथा सङ्कलन ‘तीन दशकः बीस अभिव्यक्ति’ पछि यो कथा संग्रह प्रकाशित भएको कुरा लीलबाहदुर क्षेत्री किताबमा लेख्छन् । उनका कथाहरू सरल र सरस हुँदाहुदै पनि गहन हुन्छन् । उनको कथाहरूले किनाराकृत वर्ग र भुइँमान्छेको व्यथा बोक्छ, संघर्षका कथा बोल्छ ।

बसाइँ र अतृप्त उपन्यासका लोकप्रिय बहुचर्चित उपन्यासकार लीलबहादुर क्षेत्रीको व्यक्तित्व नाटककारका रूपमा पनि सुस्पष्ट छ ।


पद्मश्री पाउने तेस्रो नेपालीभाषी लेखक
नेपालभन्दा पृथक पृष्ठभूमिमा बाँचिरहेका मान्छेहरूको कथा लेख्ने लीलबाहदुरको पनि आफ्नै संघर्षको कथा छ । तर उनको संघर्षले सारा भारतीय नेपाली र गोर्खालीलाई गौरवान्वित तुल्याएको छ । भारत जस्तो विशाल मुलुकमा साहित्यमा पद्मश्री पुरस्कार पाउने उनी तेस्रो नेपालीभाषी सहित्यकार हुन् । सन् २०२०मा उनले यो पुरस्कार भारतको राष्ट्रपतिबाट पाएका थिए । उनीभन्दा पहिले सिक्किमका सानु लामा र केदार गुरूङले पाएका थिए । उनीपछि असमका गीता उपाध्यायले सन् २०२४ मा यो पुरस्कार पाइन् । गीता उपाध्याय उमेरले लीलबहादुर क्षेत्रीका समकालीन लेखिका हुन् र उनले पनि भारतीय साहित्य अकादमी पुरस्कार पाइसकेकी छिन् ।
‘बसाइँ’ प्रकाशित हुनुभन्दा दुई वर्षअगाडि नै उनले ‘लक्ष’ सामाजिक नाटक लेखेका थिए, जुन मञ्चन समेत भएको थियो । उनको सम्पूर्ण नाटकहरू संकलन गरी साहित्यकार तथा अध्येता गोविन्दराज भट्टराईको सम्पादकत्वमा ‘लीलबहादुर क्षत्रीका चर्चित नाटकहरू’ नामक पुस्तक वि.सं. २०७८ मा प्रकाशित भएको छ । सन् १९७८ मा प्रकाशित प्रसिद्ध साहित्यकार रामलाल अधिकारीद्वारा सम्पादित ‘नेपाली एकाङ्की यात्रा’ नामक पुस्तकमा लीलबहादुर क्षेत्रीको नाटकमाथि अधिकारी लेख्छन्, ‘बसाइँ र अतृप्त उपन्यासका लोकप्रिय बहुचर्चित उपन्यासकार लीलबहादुर क्षेत्रीको व्यक्तित्व नाटककारका रूपमा पनि सुस्पष्ट छ । भारतको पूर्वाञ्चल क्षेत्रमा त्यहाँका स्थायी बासिन्दा भारतीय नेपालीहरूबीच नेपाली नाटकको समृद्धिका निम्ति उहाँ जति मरिमेट्नुभएको छ, त्यति त्यसतर्फको अन्य कसैबाट भएको छैन ।’

आकाशवाणीको गौहाटी केन्द्र स्थापित भएकै समयदेखि (सन् १९५९) उहाँ उक्त केन्द्रमा प्रायः सात वर्षसम्म उद्घोषकको पदमा रहनुभएको हुँदा त्यस अवधिमा उहाँले प्रशस्त रेडियो नाटकहरू लेख्नुभएको देखिन्छ ।

बसाइँभन्दा पहिले नाटक
पुस्तकाकारमा प्रकाशित दोबाटो (सन् १९६७) नाटकले उहाँलाई नाटककारका रूपमा परिचित गराएको भए पनि विभिन्न समयमा आकाशवाणी गौहाटी केन्द्रद्वारा प्रसारणार्थ र स्थानीय रङ्गशालाहरूमा मञ्चनार्थ रेडियो नाटक, पूर्णाङ्गी र एकांकी नाटकहरू धेरै पहिल्यैदेखि नै उहाँद्वारा लेखिएका देखिन्छन् । आकाशवाणीको गौहाटी केन्द्र स्थापित भएकै समयदेखि (सन् १९५९) उहाँ उक्त केन्द्रमा प्रायः सात वर्षसम्म उद्घोषकको पदमा रहनुभएको हुँदा त्यस अवधिमा उहाँले प्रशस्त रेडियो नाटकहरू लेख्नुभएको देखिन्छ । यस्ता रेडियो नाटक र फिचरहरूमध्ये उहाँका परिवर्तन, कन्यार्थी, कामाख्या मन्दिर, हिमालयको पुकार, शान्तनुको शोक, निभेको आगो, पचास वर्षको अवधिभित्र एक जोर परेवा, तीज, धामी सुधार इत्यादि प्रमुख र विशेष रोचक पनि छन् । यीबाहेक पनि नेपाली लोक संस्कृतिसम्बन्धी प्रशस्त रेडियो फिचरहरू लेख्नु हुने क्षेत्रीज्यूले असंख्य रेडियो रूपकहरू अन्य भारतीय भाषाबाट नेपाली भाषामा अनुवाद पनि गर्नुभएको छ ।’
लीलबहादुर क्षेत्रीको सम्पूर्ण व्यक्तित्वलाई उजागर गर्नेहेतु गोविन्दराज भट्टराईको अग्रसरतामा उनले लेखेका भूमिकाहरूको संकलन पनि प्रकाशित भएको छ । ‘लीलबहादुर क्षत्रीका चर्चित नाटकहरू’को सम्पादकीय टिप्पणीमा भट्टराई लेख्छन्, ‘लीलबहादुर क्षत्रीका प्रसिद्ध नाटक एउटा ऐतिहासिक महत्त्वको संकलन हो । यसमा एक दुई प्रकाशित र अरू अप्रकाशित वा छरिएका रचना संकलित छन् । नाटकभित्र आसामको सिंगो नेपाली समाज छ । अन्य जाति, जनगोष्ठी, भिन्न भूगोल, संस्कृति, प्रशासन यन्त्रको परिप्रेक्ष्यमा नेपाली जातिको उपस्थितिको अर्थ यहीँ देख्न पाइन्छ । यसरी गर्दै लाँदा आज बल्ल तयार भएको छ । यो एक ऐतिहासिक उपलब्धि हो । आसामका नाटक क्षेत्रका वृत्तान्त र उपलब्धिहरूको अध्ययन मूल्याङ्कन श्री पूर्ण कुमार शर्मा, मुक्ति बराललगायतका अध्येताले सामग्री प्रकाशित गर्नु भएको छ ।

लीलबहादुर क्षेत्रीले धर्तीबाट बिदा लिए पनि उनले छाडेर गएको विरासत नयाँ पुस्ताका साहित्यकारहरूले पूर्वाञ्चल भारतमा सशक्त रूपमा अगाडि बढाइ रहेका छन् । यो नै उनीप्रतिको साँचो श्रद्धाञ्जली हो ।

नेपाल र भारतका विश्वविद्यालयमा लीलबहादुर क्षेत्रीेबारेका अध्येता र अनुसन्धाताहरू बढ्दै छन् । ती बढिरहने छन् । उनका कृतिहरू पाठ्यक्रममा लाग्ने र अनूदित हुने क्रम बढ्दैछ । उनले गरेका कर्महरूको तीक्ष्ण सारको रूपमा यी नाटक उपस्थित भएका छन् ।’ क्षेत्रीको साहित्यिक व्यक्तित्वको सिंहावलोकन गर्न सन् २०१६मा खगेन शर्माको सम्पादकत्वमा प्रकाशित ‘लीलबहादुर क्षत्री व्यक्तित्व र कृतित्व’ अभिनन्दन ग्रन्थले ठूलो मद्दत गर्छ ।
लीलबहादुर क्षेत्री पूर्वाञ्चल भारतको दोस्रो पुस्ताका साहित्यकार हुन् । त्यो भेगबाट प्रकाशित धनवीर भण्डारीको अब्बर पहाडको सवाई १८९४ (विस १९५१) मा प्रकाशित भएको थियो । पद्मप्रसाद ढुङ्गाना (सन् १९०२–१८४४) ले कर्तव्य शिक्षा (सन् १९३७), रामायण शिक्षा पद्मप्रकाश सप्त रत्न (सन् १९३८), धनुष भङ्ग (सन् १९४०) र रामायण सप्त रत्न (सन् १९४४) आदि काव्यकृति लेखेको थिए । बबुरबहादुर रानाले सपना कि विपना (सन् १९४८) लघु उपन्यास लेखेका थिए । गोकुल जोशीले तरुण लिगको सहयोगले बाँच र बाँच्न देऊ (सन् १९५७) प्रकाशित गरेका थिए ।
पत्रपत्रिकामा सन् १९३६ मा मणिसिंह गुरुङको सम्पादनमा गोर्खा सेवक साप्ताहिक पत्रिका प्रकाशित भएको थियो । सन् १९५५ मा ध्रुवनाथ जोशी, भोलानाथ गुरुङ, कर्णबहादुर क्षेत्रीको सम्पादनमा फिलिङ्गो त्रैमासिक पत्रिका प्रकाशित भएको थियो । यही क्रमलाई निरन्तरता दिँदै लीलबहादुर क्षेत्रीको साहित्य साधना सन् पचासको दशकदेखि शुरू भएको थियो । पुष्पलाल उपाध्याय, हरिप्रसाद गोर्खा राई, लीलबहादुर क्षेत्री, हरिभक्त कटुवाल, कृष्णप्रसाद ज्ञावाली, गोपीनारायण प्रधान, गीता उपाध्याय, आशारानी राई, अनुराग प्रधान आदिले मलजल गरेर तेस्रो पुस्ताका रूद्र बराल, इन्दुप्रभा देवी, चम्पा उपाध्याय, देवेन सापकोटा, भवानी अधिकारी, खगेन शर्मा, पुरूषोत्तम उपाध्याय दाहाललाई हस्तान्तरण भएको नेपाली साहित्यको विरासत अहिले चौथो पुस्ताका प्रतिभावान साहित्यकारहरू (नैना अधिकारी, गोमा अधिकारी, पूजा आचार्य, निलीमा आचार्य, फिराग गोर्खाली आदिले अगाडि बढाइरहेको छन् । लीलबहादुर क्षेत्री (जसलाई औपचारिक रूपमा लीलबहादुर क्षत्री पनि लेखिँदोरहेछ) यस धर्तीबाट बिदा लिए पनि उनले छाडेर गएको विरासत नयाँ पुस्ताका साहित्यकारहरूले पूर्वाञ्चल भारतमा सशक्त रूपमा अगाडि बढाइ रहेका छन् । यो नै उनीप्रतिको साँचो श्रद्धाञ्जली हो ।
***

प्रकाशित मिति: ७ चैत्र २०८१, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *