Logo

४ चैत्र २०८१, सोमबार

रातो गुलाफ

भर्खरै
प्रवाहित भयो मेरो कोठामा
गाढा सुगन्ध गुलाफहरूको ।

त्यसपछि आइन्
एक वसन्त कुमारी
बाक्लो रातो स्कर्ट लगाएर ।

उनी गइन् ऐनानिर
टोलाइन् र छाडी गइन्
सुगन्धको शीशी र गुलाफी वस्तु
आफ्ना कुर्कुच्चा पछिल्तिर ।

त्यस उप्रान्त
केही रहेन मेरो कोठामा ।

एक सुन्दर गुलाफ
एकाएक हरायो मेरो कोठाबाट
मेरो टेबलको गमलाका
अनेकन गुलाफहरूमध्येबाट ।

हालासालै देखें मैले
शहीदको रगत गुलाफहरूमा
हालासालै सुँघे मैले
शहीदको रगत गुलाफहरूको सुवासमा ।

स्वागत छ सबै राता गुलाफहरूलाई
हार्दिक स्वागत छ मेरो कोठामा
विन्ती छ भित्र पस, बस वा जाऊ
तर आफ्नो छालाबाट बहन नदेऊ ।

उठ्न देऊ त्यसलाई
तिम्रो रगतबाट ।

म चाहन्छु पैदा गर्न
शहीदहरूको सुगन्ध

सबै दुर्गन्धबाट जोगिन ।
ए… शुभचिन्तकहरू हो !
काँडे गुलाफ टिपेर
आफ्ना कोटमा नसिउर ।

नगर गुलाफको हत्या कसैले पनि
हत्केलामा तिनलाई किचिमिचि पारेर ।
ती त सम्मिश्रण हुन् रगत र सुवासका
ती त सम्मिश्रण हुन् रगत र अभिलाषाका ।
(अंग्रेजीबाट अनुवाद: खगेन्द्र संग्रौला)

प्रकाशित मिति: २९ असार २०७८, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *