Logo

५ चैत्र २०८१, मंगलबार

यसपटकको स्थानीय निर्वाचन गत निर्वाचनभन्दा केही भिन्न छ । अधिकांश स्थानीय तहमा युवा उम्मेदवार छन् । केही पुराना पनि छन् र केही वैदेशिक रोजगारीबाट फर्किएकाहरू पनि नेतृत्वको दौडमा छन् ।

केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका नुवाकोट म्यागङ गाउँपालिका–६ का ३५ वर्षीय छिरिङ तामाङ जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन् । वडा नम्बर ६ को वडाध्यक्षका उम्मेदवार बनेका तामाङ विदेशमा हुँदा गरेको दुःख सम्झेर नै गाउँ सुधारका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् ।

बिहानैदेखि बेलुकासम्मै गाउँमा मतदाताको दैलोमा भोट माग्न व्यस्त छन् उनी । विदेशमा रहेका बेला पनि उनले आफ्नो गाउँको विकास र सामाजिक अभियानहरूमा सहयोग गर्दै आएका थिए । ‘विदेश होस या स्वदेश जहाँ भए पनि मेरो मन त नेपाली नै हो । बाहिर हुँदा पनि गाउँकै चिन्ताले सताउँथ्यो,’ उनले भने ।

कतार र कुवेतमा १६ वर्ष

प्रमाणपत्र तहसम्म शैक्षिक योग्यता हासिल गरेका तामाङले रोजगारीकै लागि १६ वर्ष प्रवासमा बिताएका छन् । चार वर्ष कतार र पछिल्लो १२ वर्ष कुवेतमा कन्स्ट्रक्शन तथा ग्यास, तेलको क्षेत्रमा सिभिल सुपरभाइजरका रुपमा काम गरेका छन् ।

उनले त्यहाँ काम गर्दा देखेभोगेका कुरा र आर्थिक उन्नतीका सम्भावनालाई गाउँमै लागू गर्ने योजना बनाएका छन् ।

सुन्दा सामान्य लागे पनि उत्पादनमुलक कामको लागि समयको सदुपयोग, अनुशासन, सरसफाई, खानपान र दैनिक आचरण सुधारबाट मात्रै परिवर्तन सम्भव भएकाले त्यस्ता कुरामा आफ्नो प्राथमिकता रहने उनको भनाइ छ ।

उनी भन्छन्, ‘आवश्यकतालाई प्राथमिकीकरण गरेर काम गर्न सके ठाउँ सुहाउँदो विकास गर्न असम्भव पनि छैन ।’ वैदेशिक रोजगारीले रेमिट्यान्स भित्रिए पनि धेरैको परिवार नै विखण्डनको स्थितिमा पुगेको उनी बताउँछन् ।

‘यहिँ रोजगारी भएको भए त्यो अवस्था आउँथेन होला । त्यसैले मेरो पहिलो प्रयास नै स्थानीयतस्तरमै रोजगारीको पहल हुनेछ’, उनी भन्छन् । गाउँमै रोजगारी सिर्जना गर्न सके पारिवारिक विखण्डनको दुष्चक्र अन्त्य हुने उनको विश्वास छ ।

भ्रष्टाचार र कमिशन अन्त्य

सात वर्षअघि नै कुवेतमा रहँदा गठन भएको नयाँशक्ति पार्टी कुवेतको उपाध्यक्ष भएर काम गरेका छन् तामाङले । उनको राजनीतिक जीवन त्यसैबेलादेखि नै सुरु भएको हो । नेपालका ठूला पार्टीले लामो समय काम गर्दा पनि विकास नभएको भन्दै अब जनता समाजवादीको भरोसा गर्न अनुरोध गर्दछन् ।

उनी भन्छन्, ‘भ्रष्टाचार र कमिशनको अन्त्य गर्ने, समृद्धि र विकासका लागि न्यूनतम कामहरू गर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाका गर्ने र कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउने मेरा मुख्य एजेण्डा हुन् ।’

कृषि उत्पादन बढाउन सहज सिंचाईको व्यवस्था गर्ने, घर–घरमा स्वच्छ खानेपानीका धारा जडान गर्ने, टोल–टोलमा सरसफाइ र फोहोरमैला व्यवस्थापन गर्दै सुन्दर छोल बनाउने, समाज केन्द्रित विकासका काम गर्ने, स्वास्थ्य केन्द्र निर्माण र जनशक्ति व्यवस्थापन, सरकारले निःशुल्क उपलब्ध गराएका सबै औषधि पाउने व्यवस्था गर्ने, अशक्त र विपन्नलाई निःशुल्क उपचारको व्यवस्थापन लगायतका उनका योजना छन् ।

विकास निर्माणका काममा अहिलेसम्म वडादेखि पालिकासम्म भ्रष्टाचार हुँदै आएकाले आफूले नेतृत्व लिएमा त्यस्ता गतिविधि नियन्त्रण गर्ने उनको दावी छ । कमिशनमा लिप्त हुने जो–कोहीविरुद्ध पनि आफू आवाज उठाउन तयार रहेका छन् ।

दुई वर्षको तलब विपन्नलाई

उनले आफ्नो पहिलो दुई वर्षको तलब र सुविधा विपन्न वर्गलाई प्रदान गर्ने संकल्प गरेका छन् । छाता चिन्ह लिएर निर्वाचनमा होमिएका तामाङले दुई वर्षसम्म आउने जतिसुकै तलबसुविधा स्थानीय विपन्न वर्गको उत्थानमा खर्च गर्ने बताएका हुन् ।

दुई निर्वाचन केन्द्र रहेको उक्त वडामा दुई हजार ४ सय मतदाता छन् । उनले एकपटक दल भन्दा पनि काम गर्नसक्ने मानिसलाई नै मतदान गर्न जनतालाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *