Logo

६ चैत्र २०८१, बुधबार

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन टेलिकम सेवा निःशुल्क

इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय


काठमाडौँ, १८ कात्तिक : नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।

हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ । कम्पनीले यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमितरुपमा सञ्चालन राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले उल्लेख गरेको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिनुभयो ।

उक्त सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुने उहाँले बताउनुभयो । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ ।

त्यस्तै सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर’ (इटीसी)लाई सक्रिय बनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले क्लष्टरलाई सक्रिय बनाउने निर्णय गरेको हो । बैठकले भूकम्प प्रभावित क्षेत्रमा टेलिफान तथा इन्टरनेट सेवा सञ्चालन गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सेवा प्रदायकहरुले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दु र सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहने पनि बैठकले निर्णय गरेको छ । बैठकले भूकम्प प्रभावित क्षेत्रबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।

बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ । बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिनुभएको थियो । बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल पत्रकार महासङ्घलगायत दूरसञ्चार तथा आमसञ्चार क्षेत्रका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *