एनआरएनएभित्र मलाई ‘मिलाउने महेश’ भनेर चिन्छन्
◆ महेशकुमार श्रेष्ठ, अध्यक्षका उम्मेद्वार, गैरआवासीय नेपाली संघ (एनआरएनए)

उपाध्यक्षबाट अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ । ढुक्क भइसक्नुभयो कि अझै हिसाबकिताब मिलान बाँकी छ, किनकि यहाँ त जे हुन्छ अन्तिम प्रहरमा नै हुन्छ ?
विश्वभरिका नेपालीहरूलाई एकताको बलियो मालामा जोड्ने सपना बोकेर गैरआवासीय नेपाली संघमा जोडिएको पनि झण्डै डेढ दशक भइसकेछ । यो दौरानमा विभिन्न देशमा पुगेका नेपाली दाजुभाइ–दिदिबहिनीको सुखदुःखको साझेदारी हुने अनेक अवसर जुट्यो । क्रमशः संस्थाको नेतृत्वमा अगाडि बढ्दै जाँदा विभिन्न देशको यात्रा गरेँ, त्यहाँ रहेका नेपालीहरूसँग भेटेँ । मैले कतै उत्साहले उचालिएका साथीहरू भेटेँ, कतै देश छोेडेको नोस्टाल्जियाले विरक्तिएका अनुहार पनि भेटेँ ।
खासगरि निराश देखिएका साथीहरूलाई थोरै भएपनि नेपालीपनको बोध दिएर हिडेँ । अर्को भेटमा उहाँहरूको अनुहारमा उज्यालोको संकेत देख्दा लाग्थ्यो, व्यापार–व्यवसाय त जसले पनि गर्छ, पैसा नै कमाउन त जसले पनि सक्छ, तर सात समुद्रपारि पराया भूमिमा आफ्नो देश र माटो सम्झेर अत्तालिरहेका बन्धुहरूका निम्ति सान्त्वनाको सद्भाव दिन पाउनु ठूलो कुरा जस्तो लाग्न थाल्यो ।
अब निर्वाचित अध्यक्ष नै भएर संस्था र सम्पूर्ण एनआरएनबीच बलियो सम्बन्ध बनाउन, नेपाली समाजसँग जोडिरहरन म प्रतिबद्ध भएर लाग्छु ।
ती नेपाली म जसरी नै देश छोडेर परदेश पुगे, तर परदेशमा हजार भुक्तमान खेपिरहेका श्रमिक वर्गका नेपालीको दुःख देख्दा तिनका पक्षमा केही त बोल्नुपर्छ भन्ने हुटहुटी जाग्न थाल्यो । सुरक्षित र उज्यालो भविष्यका खातिर सपनाको बाटो पछ्याउँदै परदेश पुगेका नेपालीले आफ्नो बसाइ र गरिरहेको पेशा–व्यवसायलाई सुरक्षित बनाउन सम्बन्धित देशको नागरिक हुनुपर्ने वा अन्य परिचयपत्र धारण गर्नुपर्यो । त्यसरी अर्कै समाज पुगेर, त्यहीँ परिवार निर्माण गरेर बस्ने धेरै नेपाली छन्, जसका छोराछोरी पुस्ता नेपाली माटो र पनबाट बञ्चित हुने भए । त्यो पुस्तालाई कसरी नेपालसँग जोडिदिने भन्ने अर्को चिन्ताको विषय हुन्थ्यो ।
यसरी नेपाली जहाँ गए पनि रहे पनि नेपाली हुँ भनेर बाँच्ने रहर, देशसँगको रगतको साइनो जोगाउने उद्देश्यले म एनआरएनएको नेतृत्वमा अघि बढ्दै जाँदा यसअघिको कार्यकालमा उपाध्यक्ष भएको हुँ । अब निर्वाचित अध्यक्ष नै भएर संस्था र सम्पूर्ण एनआरएनबीच बलियो सम्बन्ध बनाउन, नेपाली समाजसँग जोडिरहरन म प्रतिबद्ध भएर लाग्छु । यसकारण अहिले म अध्यक्षको दौडमा नै छु । म निष्पक्ष र लोकतान्त्रिक पद्धतिसहित आएको हुनाले अरु धेरै हिसाबमिलान गर्नुपर्ने केही छैन । मैले गरेको संगठनप्रतिको योगदानको कदर मतदाताहरूले गर्नु हुनेछ भन्नेमा म ढुक्कै छु ।
तपाईंका चुनावी मुख्य एजेन्डा के–के हुन् ?
हामीले एनआरएनसम्बन्धित धेरै मुद्दामा काम गर्नु छ । यस आधारभूत आवश्यकताका आधारमा मैले रणनीतिक रूपमा नीतिगत प्राथमिकतालाई पाँच भागमा बाँडेको छु । आगामी २०२३–२५ को २ वर्षे कार्यकालमा मैले गर्ने कामलाई पाँच नीतिगत प्राथमिकतामा विभाजन गरी ठोस कार्ययोजनाहरू प्रस्तुत गरेको छु । ‘एनआरएनएको संकल्पः नेपालको समुन्नति’, ‘जन्मभूमिका नेपालीलाई, कर्मभूमिका नेपालीको साथ’, ‘अबको कार्यभारः एनआरएनएको हक, हित र अधिकार’, ‘एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास’ । ‘मेरो प्राथमिकताः युवा, महिला तथा दोस्रो पुस्ता’ यी मेरा मुख्य नीतिगत योजना हुन् ।
अब समृद्धि भन्ने बित्तिकै लगानीको कुरा आयो । सीप र प्रविधिलाई हस्तान्तरणको कुरा आयो । दोस्रो, विदेशमा बस्ने नेपालीहरूको थुप्रै समस्या छन् । ती मुद्दालाई कसरी समाधान गर्ने भन्ने छ । तेस्रो, नेपालीहरूको नागरिकताका सवाल, मतदान अधिकार, सामाजिक सुरक्षाको सवालमा सम्बोधन गर्नु मेरो दायित्व हुनेछ । त्यस्तै एनआरएनएको संस्थागत सुधार गरी संरचनात्मक विकासमा पनि राम्रै ढंगले काम गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

यी सबै काम गर्न संस्थामा विश्वासको वातावरण हुनुपर्छ । हामीलाई नेपाल भित्रका र बाहिरका नेपालीले विश्वास गर्नु पर्यो । अहिले विश्वासको वातावरण बन्न सकेको छैन । संस्थालाई संस्थाभित्र र बाहिरबाट अविश्वास गरेको अवस्था छ । संस्थाको विभाजनले गर्दा पनि अविश्वासको वातावरण बन्यो । त्यसकारण अविश्वास ल्याउनका लागि संस्थामा एकताको आवश्यकता छ । संस्थालाई भावनात्मक र सांगठनिक दुवै रूपमा एक बनाउनु पर्ने दायित्व छ ।
त्यसपछि त कामै गर्ने हो । विश्वासको वातावरण बनेपछि फटाफट काम गर्ने वातावरण बन्ने छ । मेरो पहिलो प्राथमिकतामा एकता गराउनु नै हुने छ ।
एकताको लय चाँडै फर्केला त ?
एउटा आधार त बनिसकेको छ । केही प्राविधिक कारणले गर्दा नमिलेको हो । म निर्वाचित भएर आएँ भने तीन महिनाभित्र यसलाई मिलाएरै छोड्छु । मलाई संस्थाभित्र पनि ‘मिलाउने महेश’ भनेर चिन्छन् । म काम गरेरै देखाउँछु । संस्थाभित्र कहीँ कतै झगडा परे वा बुझाइमा समस्या रहे म नै पुग्छु ।
‘टिम महेश’ सार्वजनिक भएको छ, यसरी प्यानल घोषणा गरेर निर्वाचन गर्न पाइने भएको हो वैधानिक रूपमै अब ?
हाम्रो विधानमा चाहिँ यो टीम बनाउने, प्यानल बनाउन त पाइँदैन । अर्को कुरा, यस चुनावमा कुनै एउटै चुनाव चिन्ह लिएर नभइ व्यक्ति स्वयम् नै चुनावमा लड्ने हो । तर पनि मेरो नेतृत्वलाई स्वीकार गरेर जानेहरू त्यसमा जोडिन चाहन्छन् । कमसेकम एउटा विचार मिल्नेहरूबीच एउटा सम्बन्ध त भइहाल्छ । यसरी यो एक अनौपचारिक समूह मात्रै हो ।
तपाईं त अर्कै बाध्यतामा परेर अध्यक्षमा उम्मेदवार हुनुभएको छ भन्ने गाईंगुईं सुनिन्छ । महासचिवका उम्मेदवार गौरीराज जोशीले त्यही कारण तपाईंको टिम छोडेको भन्ने कुरा आयो उहाँबाट पनि, के बाध्यता हो वा कुनै त्यस्तो महत्वपूर्ण मुद्दा पो छ कि जसकारण तपाईं निर्वाचनमा होमिनुभएको ?
यसअघि तीन जना अध्यक्ष बनाउने बेलामै मलाई ‘अर्को पल्ट अध्यक्षको अध्यक्ष तपार्ईं हो’ भनेर स्वीकारेको अवस्था थियो । म उपाध्यक्षबाट आएको हुँदा पनि म अध्यक्षको स्वभाविक दाबेदार हुँ ।
तपाईंले अहिले एकताबद्ध एनआरएनएको मुद्दालाई प्राथमिकता दिएको देखिन्छ । मुद्दामा त कोही पनि एकताविरोधी नदेखिने, भित्र चलखेल हुने के हो यस्तो, चुनावको मुखमा नाम लिन त नमिल्ला, तर कस्ता व्यक्ति वा प्रवृत्ति छन्, एनआरएनलाई एक हुन नदिने, स्पष्ट पारिदिनुस् न, जसले गर्दा तपाईंको प्रयत्नलाई बुझ्नेहरू स्पष्ट होउन् ।
वास्तवमा हाम्रोजस्तो संस्था विभाजन नुहुन पर्ने थियो । किनभने उद्देश्य, लक्ष्य पनि सबैको एउटै छ । तर मानवीय स्वभावजन्य हिसाबले केहीमा इगो पलायो ।
त्यस्तै कार्यशैलीको कारणले पनि त्यस्तो किसिमको कुराहरू आउँदो रहेछ । अलिकति कार्यशैली मिलायो भने धेरै कुरामा यस्तो समस्या आउँदैन । त्यही भएर नेतृत्व चाहिँ समन्यव गर्ने, इगोलाई पनि नियन्त्रण गर्नेसक्ने, सबैलाई मिलाएर जानसक्ने हुनुपर्छ । अहिलेको सन्दर्भमा मेरो नेतृत्व आवश्यक पर्नुको कारण पनि मुख्य यही हो ।
अब कस्तो भयो भने जसले जति लुकाए पनि चुनावको कुरामा राजनीतिक दलको निकटताको प्रश्न उठि नै हाल्छ, अरू दुई मुख्य पार्टीनिकटका चाहिँ एक–एक उम्मेदवार भए, तपाईंको पार्टीबाट चाहिँ दुई उम्मेदवार भए, त्यसैले कमजोर हुने देखियो भन्ने पनि चर्चा छ, के भन्नुहुन्छ ?
यसलाई फरक ढंगले बुझ्नु आवश्यक छ । हामी निर्वाचनमा होमिइसकेपछि कसै न कसैप्रति लोयल हुने र उसले जितिदेओस् भन्ने भावना राख्नु त स्वभाविक नै हो । यस्तो धारणा राख्दा केही आधारहरूलाई लिएको हुन्छ कि कसैले आफ्नो घर–गाउँको क्षेत्रका मानिसका रूपमा लेला, कसैले मेरो जातको भनेर आइरहेको हुन्छ । कसैले युवा वा कसैले बौद्धिक व्यक्तित्व भनेर नजिक ठान्ला । यसरी छनोट गर्ने एउटा आधारहरू हुन्छन् । यस्तै मध्येको अर्को वैचारिक आधार पनि हुन्छ । आफ्नो विचारसँग मिल्ने कोही व्यक्ति उठेको छ र उसले जितिदिए हुन्थ्यो भनेर नैतिक समर्थन गर्नु स्वभाविक हो ।
दोस्रो कुरा, अहिले विदेशमा बस्ने नेपालीहरूसँग अथाह सम्भावना र स्रोत छ । नेपालको निर्वाचनलाई प्रत्यक्ष असर गर्ने खालको संख्या पनि छ । अहिलेको सूचना–प्रविधि र सामाजिक सञ्जालले पनि नेपालको निर्वाचनहरूमा झन ठूलो प्रभाव पारेको छ ।

यस्तो अवस्थामा राजनीतिक दलहरूको चासो हुनु स्वभाविक हो । किनभने राजनीतिक पार्टीले उठाएका मुद्दाहरू र हामीले उठाएका मुद्दाहरू एउटै छन् । राजनीतिक पार्टीहरूले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न र ती मुद्दालाई कार्यान्वयन गर्न पनि हामीसँग सहकार्य गर्नु पर्ने आवश्यकता छ । सहकार्य गर्नलाई सही नेतृत्व पनि आवश्यक छ । सही नेतृत्व आओस् ताकि ऊसँग सहकार्य गर्न सकियोस् भन्ने सोच्नु त्यो राजनीतिक पार्टीहरूको धर्म पनि हो, प्रकृति पनि हुन्छ । त्यही भएर उनीहरूले कोही न कोही प्रतिनिधिप्रति बढी लोयल देखिनुलाई म त्यति अस्वभाविक मान्दिनँ । तर यो संस्थाभित्र आइसकेपछि दलीय राजनीति गर्नुहुँदैन भन्ने कुरामा सचेत छौँ ।
यो सबै एनआरएनको साझा संस्था हुनुपर्छ भन्ने जोडमा छौं । यो संस्था श्रमिकदेखि व्यवसायी तथा बौद्धिकसम्मको साझा संस्था हो भन्ने भावना सबैमा जगाउनुपर्छ । त्यसको नेतृत्व चाहिँ मैले गर्न सक्छु भन्ने विश्वास हो ।
संस्थालाई साझा बनाएरचाहिँ जान किन नसकेको ? लोगो प्रयोगका विषयमा कुरा उठिरहेको छ, अर्कातिर विनोद कुवँर छुट्टै एनआरएनएको अध्यक्ष हुनुहुन्छ । अन्त ग्लोबल एनआरएनएको छुट्टै संरचना पनि बनिरहेको देखिन्छ । खास, यस्ता कुरा किन हल हुन सकिरहेको छैन ? स्पष्ट पारिदिनुस् न ।
संस्थाको लोगो हामीले पहिले नै नेपालमा दर्ता गरिसकेका छौं । बाहिर अरू कसैले दर्ता गरेको भए पनि त्यो लोगोको हामीलाई अर्थ राख्दैन । विनोद कुँवरहरूको जुन कुरा छ, मैले धेरै कुरा माथि भनिसकेको छु । त्यसलाई त म मिलाएरै छोड्छु ।
एनआरएनए भावनात्मक रूपमा जोडिएको संस्था रहेन, अब आर्थिक जोडघटाउ धेरै थाल्यो, पार्टीलाई कसले कति बढी बुझाउँन सक्छ, उसैले चुनाव जित्छ । जुन पार्टी शक्तिशाली छ, उसैले चुनाव जित्छ भन्नेजस्ता आरोप मिथ्या हुन् कि खुल्ला सत्य ?
त्यस्तो आर्थिक चलखेल भएर सर्पोट गर्ने भन्ने हुँदैन । विचारको आधारमा नैतिक समर्थन गर्ने कुरा त हुँदैछ । आर्थिक कुरामा जुन भ्रम छ, त्यो चाहिँ अहिले हैन । अब निर्वाचनका बेला अलिलि सबैले सहयोग गरेकै हुन्छन् । गर्नु पनि पर्ने हुन्छ, त्यो किसिमको लाभ लिऔं भन्ने हुन्छ जस्तो मलाई लाग्दैन । जहाँसम्म हाम्रो निर्वाचनका बेला आर्थिक प्रलोभनको प्रसंग छ, त्यो किसिमको खेला कमसेकम मैले चाहिँ गरेको छैन ।
खासमा एनआरएनएले नेपालमा गर्न सक्ने के के छन् ? लगानीमा के छ ? नीति निर्माणमा कति गर्न सक्छन् ? नेपालले कति अपेक्षा गर्न सक्छ एनआरएनसँग ?
नेपाल भूपरिवेष्ठित देश भएको हुनाले कस्तो क्षेत्रमा लगानी गर्ने भन्नाखातिर हाम्रो सोचमा अलिकति परिवर्तन त हुनु जरुरी छ । जस्तो कि पहाडी इलाकामा जमिन एकदमै कम छ । पहाडी इलाकामा खेतीयोग्य भूमि एकदम कम छ । त्यहाँ अब ‘मास प्रडक्सन’मा भन्दा पनि गुणस्तरीय ‘प्रडक्सन’मा ध्यान दिनुपर्छ ।
कम उत्पादन भए पनि त्यसको बजार भाउ महँगो होस् । त्यस्तो किसिमको व्यवसायिक कृषिमा लगानी ल्याउन सकिन्छ । जस्तो स्विट्जरल्याण्ड हाम्रो जस्तै भूपरिवेष्ठित देश हो । यस्ता देशहरूको सबभन्दा ठूलो समस्या भनेकै ‘ट्रान्सपोर्टेसन’ हो । उत्पादन गरी अर्को ठाउँमा लैजान वा निर्यात गर्न ढुवानी महँगो पर्न सक्छन् । त्यसकारण स्विट्जरल्याण्डले एकदमै महँगो घडी बनायो । ताकि निर्यात वा ढुवानीमा समस्या हुँदैन ।
नेपाल सरकारले नै लगानी गर्नुपर्ने क्षेत्रको प्राथमिकता निर्धारण गरेको छ । सोही क्षेत्रमा लगानी गर्न सक्छौं ।
हामीले पनि हाम्रा खाली जमिनमा त्यस्तै महँगा फलफूल खेती गर्न सक्छ । जस्तो हामीले न्यूजिल्याण्ड, जापानमा गर्छौं । त्यहाँतिर गोल्ड किबिको खेती गर्छौं । जुन सामान्य किबिभन्दा असाध्यै महँगो पर्छ । अथवा आइटी सेन्टरको काम गर्न सकिन्छ । यसका लागि ढुवानीको खास प्रभाव पर्दैन । स्वभाविक रूपमा जलविद्युत त हुने नै भयो ।
अर्को कुरा, नेपाल सरकारले नै लगानी गर्नुपर्ने क्षेत्रको प्राथमिकता निर्धारण गरेको छ । हामी पनि सोही क्षेत्रमा लगानी गर्न सक्छौं ।

विदेशमा बस्ने होस् वा स्वदेशमै केही गरौं भन्ने ‘इनोभेटिभ आइडिया’सहितका ‘स्टार्ट अप कम्पनी’हरू छन् । अहिले सबभन्दा लगानी गर्नुपर्ने क्षेत्र यो पनि हो । उनीहरूसँग नविनतम आइडिया त हुन्छ तर लगानी हुँदैन । पुँजीको अभाव हो ।
विदेशमा त्यस्ता कम्पनीका लागि पुँजी जति पनि प्रवाह गर्न सक्छौं । त्यो तहको पुँजीलाई कसरी नेपालमा भित्र्याउने भन्ने कुरा अहिले महत्वपूर्ण छ । ठूलाठूला पुँजी त हामी प्राथमिक सेयर जारी गरेरै गर्छौं । साना–साना पुँजी कसरी संकलन गर्ने ? जस्तो ५० लाख–एक करोडको पुँजीबाट केही काम गर्नुपर्यो भने त्यसमा केही कानुनी कुराहरू छन् । ती व्यवधान हटाउन सकियो भने धेरै ‘स्टार्ट अप कम्पनी’हरू जन्माउन सक्छौं । त्यसका लागि सरकारले स्टार्ट अप कम्पनीका लागि ऐनमा परिवर्तन गर्नुपर्छ ।
अहिले नेपालमा ‘प्रमोटर सेयर’ हुनका लागि त नेपाल आउन पर्यो । कम्पनी रजिष्ट्रारको कार्यालय जानु पर्यो । जुन साह्रै झन्झटिलो प्रक्रिया छ । त्यो प्रक्रियालाई सहज बनाउने र विदेशबाटै सहज ढंगले उसको स्वामित्व हुने हो भने धेरै यस्ता खालका लगानी र आइडिया धेरै भित्रिन सम्भव छ ।
ठूला लगानीका लागि भएका धेरै असहजतालाई सरकारले सम्बोधन गरिसकेको छ । सर्वप्रथम लगानी गरेपछि अलिकति प्रतिफल पनि आउनु पर्यो । प्रतिफल दिनसक्ने अवस्था सिर्जना भयो भने लगानी चाहिँ भित्रिइहाल्छ ।
त्यसैले विदेशबाटै कसैले ५० हजार रुपैयाँ पठायो भने पनि यहाँ उसको स्वामित्व रहने व्यवस्था भयो भने यस्ता धेरै लगानी हामी ल्याउन सक्छौं जस्तो लाग्छ । विशेष गरी अहिले नेपालमा ‘प्रमोटर सेयर’ हुनका लागि त नेपाल आउन पर्यो । कम्पनी रजिष्ट्रारको कार्यालय जानु पर्यो । जुन साह्रै झन्झटिलो प्रक्रिया छ । त्यो प्रक्रियालाई सहज बनाउने र विदेशबाटै सहज ढंगले उसको स्वामित्व हुने हो भने धेरै यस्ता खालका लगानी र आइडिया धेरै भित्रिन सम्भव छ ।
यसरी लगानी गरी काम गर्न उत्साहित त स्वदेश–विदेश दुवै ठाउँमा युवाहरू उत्साहित छन् । यस्ता कार्य नेपालको निजी क्षेत्रसँग पनि गर्न सक्छौं । तर त्यसका लागि अझै पनि केही कानुनी कुराहरूमा केही सुधार गर्नुपर्ने आवश्यकता छ ।
एनआरएनएको आकार र लक्षित वर्गको दायरा निकै फराकिलो भइसकेको देखिन्छ, यसका लागि नीतिगत तयारी, समयको लगानी, जनशक्ति व्यवस्थापन आदिमा कस्तो योजना बनाउनुभएको छ ?
संस्था आफैं चल्नका लागि हामीले लिने सदस्यता शुल्क नै हो । दोस्रो, ‘मेम्बरसीप बेनेफिट प्रोग्राम’हरू ल्याउँदै छौं । तेस्रो, हामीसँग आबद्ध कम्पनीहरूको सामाजिक उत्तरदायित्व अन्तरगतका कोषहरू प्राप्त हुँदै छन् । हाम्रै कार्यालय भाडा पनि एउटा आम्दानी हो । यी चाहिँ संस्था सञ्चालनका लागि हो । अन्य लगानी विभिन्न कोषहरूबाट हामीले सञ्चालन गर्छौं ।
वास्तवमा एनआरएनए संस्था आफैंले लगानी गर्दैन । यसले लगानीकर्तालाई सहजिकरण गरिदिने मात्रै हो । लगानीका लागि कम्पनी त अरु नै खोल्नु पर्ने हुन्छ नि । त्यही भएर त्यो लगानी भित्र्याउने त छुट्टै कम्पनीले गर्छ ।
एनआरएन नेतृत्व हुनुभएको हिसाबले धेरै भन्दा धेरै नेपाली विदेश आउन् र मैले नेतृत्व गरेको संस्थाको सदस्य संख्या झनै ठूलो होस् भन्ने चाहनु हुन्छ कि अहिलेसम्म जति गए गए, अबको युवा पुस्तालाई नेपालमै स्वरोजगार र रोजगारी सिर्जना गर्ने वातावरणमा एनआरएनएको भुमिका हुनुपर्छ भन्ने तपाईंको सोच हुनेछ ?
वास्तवमा हाम्रो जनसांख्यिक संरचना हेर्ने हो भने यहाँ युवाहरू बढी भएको अवस्था हो । २५–३० वर्षमा त्यो जनसंख्या बुढ्यौलीमा प्रवेश गर्ने छ । युवाहरू कम हुने हुन्छ । अहिलेको अवस्थामा वास्तवमा विदेशमा जानु नपर्ने हुनुपर्ने हो । नेपालमै केही गर्नुपर्ने आवश्यकता हो । उल्टो भइरहेको छ ।
हाम्रो जनसंख्याको अनुपात हेर्दा खासमा अहिले विदेशमा जानु पर्ने अवस्था नरहनु पर्ने हो । त्यो भएर अहिले कुनै पनि हालतमा बाहिर विदेशमा पठाउने हैन कि अहिलेको १५–२० वर्ष नेपालमै युवा पुस्तालाई रोकेर देशको समृद्धिका निम्ति अहोरात्र खटाउनु पर्ने हो । हाम्रो उद्देश्य यसरी ह्वारह्वारी विदेश पठाउने त हुँदै नहुनु पर्ने हो । सीप विकास वा उच्च अध्ययनका लागि जानु स्वभाविक हो । केही वर्ष पढेपछि वा सीप सिकेपछि नेपाल नै फर्कन सक्ने वातावरण यहाँ तयार गर्नु आजको आवश्यकता हो ।

अर्को कुरा, हामीले अहिलेसम्म बाहिर पुगिसकेका नेपालीलाई एउटै मालामा गाँस्ने प्रयत्न हो । तर हामीलाई आफ्नो देशप्रतिको माया र दायित्वबोध छ । त्यसकारण विदेशमा सीप, ज्ञान र स्रोत हासिल गरेका नेपाली खासगरी युवालाई सकेसम्म नेपाल नै फर्काएर यही नवीनतम योजना, आयोजना र उद्योग धन्धामा लगाउने मेरो सोच र इच्छाशक्ति पनि छ । तर यसका लागि एनआरएन एउटा पाटो हो भने नेपाल र नेपाल सरकार अर्को बराबर जिम्मेवार पक्ष हो । किनभने देशभित्र विदेशिएका नेपाली फर्किने वातावरण बनाउनु राज्यको पहिलो दायित्व हो ।
वास्तवमा यो सम्भावना निकै उच्च छ । अहिले विदेशमा बस्ने नेपालीको वार्षिक आम्दानी २० खर्ब भन्दा बढी छ । १० खर्ब रेमिट्यान्सका रूपमा नेपाल आउँछ । त्यसबाहेक पनि एनआरएनले उतै कमाएर राखेका सबै सम्पत्ति नेपालको कुल गार्हस्थ उत्पादनभन्दा पाँच गुणा बढी छ । त्यत्रो ठूलो सम्भावनालाई नेपाल भित्र्याउन सकियो भने त धेरै ठुलो कुरा हुन्थ्यो । नेपालमा लगानीको आवश्यकता छ, अभाव र बेरोजगारी छ, त्यहाँ स्रोत र सम्भावना छ । यही बिचको सेतु चाहिँ एनआरएनए बन्नुपर्छ । यहाँका सरकार, निजी क्षेत्र तथा अन्य संघसंस्थासँगको संयुक्त प्रयासले नेपालको कायापलट गर्न सकिन्छ ।
***