Logo

१८ बैशाख २०८३, बिहिबार

नेकपा माओवादीलाई अन्तर सङ्घर्षले थिलथिलो पारेको थियो । यदि पार्टीभित्र वाबुराम प्रचण्डबिच वा मोहन वैद्यबिच अन्तर सङ्घर्ष नभएको भए नेतृत्वको उचाइ यतिको बन्ने थिएन र क्रान्तिकारी आन्दोलन कम क्षतिबाट यहाँसम्म आइपुग्ने थिएन । पार्टी हेडक्वाटर विशेष क्षेत्रमा आइसकेको थियो । क्रमशः नेताहरूको केन्द्रीय कमिटीको बैठकको केन्द्रीकरण हुँदै थियो । सबैका सेल्टरहरू अलग–अलग थिए । जनमुक्ति सेना वा नेतृत्वको सल्लाह बिना नेताहरुसँग भेट्न कठिन थियो । म पनि वैठकको लागि रोल्पा पुगेँ । विशेष क्षेत्र मुख्यत रोल्पामा क.सीमा र वलावती शर्मा उहाँको त्यही हुनुहुन्थ्यो । मैले क.वाबुराम भट्टराई (लालध्वज) लाई भेट्ने कुरा इन्चार्ज कमरेडसँग राखें । वहाले भन्नुभयो– ‘यसबारे भोली खबर गर्छु ।’

सायद हेडक्वाटरसँग सल्लाह गरेर भेट्न दिने सोच हुनु पर्छ । अर्को दिन मेरो स्टाफलाई बुझ्न पठाएँ, उताबाट अनुमति आयो । भेट्न जाने कुरा भएपछि म क.सीमालाई लिएर साँझतिर डा.भट्टराईको सेल्टर पुगें । उहाँसँग गहन छलफल भए । उहाँको भनाइ थियो ‘विचारको बहस एक ठाउँमा छ, तर शङ्का अर्कातिर ।’ हामी बेलुका वहाँकै सेल्टरमा बसेर बिहान फर्कियौं । म विशेष क्षेत्रको भएकोले बैठकको तयारीमा पनि जुट्नु थियो । रोल्पाको त्यो दुर्गम ठाउँ फुन्टीवाङ ! झरी परिरहेको साउनको महिना । त्यस क्षेत्रमा ठूला घरै थिएनन्, एक सय देखि डेढ सय मान्छे अटाउने हल कहाँ पाउनु ! बैठक बस्न अस्थाई घर नै बनाउनु पर्ने भयो । केही साथीहरु त्यता जुट्नु भयो । साथै नेताहरु बस्ने सेल्टर पनि बनाउनु पर्ने, खानापान, सुरक्षा सबै व्यवस्था मिलाउनु पर्ने थियो । बैठकका लागि देशको पूर्वी र सुदुरपश्चिम क्षेत्रबाट रोल्पासम्म हिडेर आउनु पर्ने हुँदा २२/२४ नै लाग्थ्यो । फेरि यो बैठक अन्तरसंघर्षको कारण विशेष खालको थियो र सबैलाई तरंगित पनि बनाएको थियो ।

प्रस्तावमा भारतले हामीविरुद्ध कठोर नीति लिएको हुँदा राजासित मिलेर भारतविरुद्ध ‘सुरुङ युद्ध’ लडनु पर्ने योजना आयो । पार्टीका कार्यकर्ता नेतृत्वलाई भारतसित लड्न मुख्यतः वोर्डर क्षेत्र र भित्री घेरा समेतमा वङ्कर खन्ने योजनामा छलफल भयो ।

२०६१ साउन १० गते रोल्पाको फुन्टीवाङमा केन्द्रीय सदस्यहरूको बैठकको शुरुभयो । त्यतिबेला ५५ जनाको केन्द्रीय कमिटी, १५ जनाको पोलिट व्यूरो र ५ जना प्रचण्ड, वाबुराम, पोस्टबहादुर वोगटी, किरण, र रामबहादुर थापा ‘वादल’ को कार्यालय टीम जस्तो थियो । बैठकमा बहस के होला भन्नेबारे बाहिर छरपष्ट नै थियो । ‘राजासित नजिकिने, राष्ट्रियताको पक्षमा उभिएर संसदवादी र भारतीय शासक वर्गसँग सङ्घर्ष गर्ने कि संसदवादी र भारतीय शासक वर्गलाई सन्तुलनमा राखेर राजाविरुद्ध सङ्घर्ष गर्ने ?’ बैठकको मुख्य विषय यतातिर केन्द्रित हुँदै थियो । यसो हेर्दा ‘राष्ट्रियतालाई प्रधान बनाउने कि गणतन्त्रलाई प्रधान बनाउने’ भन्ने मतभेद हुने जस्तो देखिएको थियो । प्रस्तावमा भारतले हामीविरुद्ध कठोर नीति लिएको हुँदा राजासित मिलेर भारतविरुद्ध ‘सुरुङ युद्ध’ लडनु पर्ने योजना आयो । पार्टीका कार्यकर्ता नेतृत्वलाई भारतसित लड्न मुख्यतः वोर्डर क्षेत्र र भित्री घेरा समेतमा वङ्कर खन्ने योजनामा छलफल भयो । त्यसैको पृष्ठभूमि भारतको वैङ्लोर मैसुरमा बैठक रहेछ । त्यहाँको बैठकमा वाबुरामले भिन्न मत राख्नु भएको रहेछ । भावनामा बगेर भारतविरुद्ध लड्ने निर्णय गरिहाल्न हुँदैन । यस्तो कदम जनयुद्धलाई घातक हुन सक्ने तर्क उहाँले राख्नु भएको रहेछ । वाबुरामलाई मैसुरको बैठकमा भारतसित मिलेर शीर्ष नेताहरुको गिरफ्तारी गराएको भन्ने शंका गरिएको थियो । यहाँको बैठकमा पनि त्यो कुरा राख्दा झन प्रमाणित भए जस्तो नै भयो ।

त्यसपछि भारतको विरुद्ध सङ्घर्ष गर्न नेतृत्वमा केन्द्रीकरण हुनुपर्छ भनी वाबुराम भट्टराईलाई क्रान्तिकारी केन्द्रीय परिषदको अध्यक्षबाट हटाएर पार्टी, सत्ता, सेना सबैको नेतृत्व क. प्रचण्डले गर्ने प्रस्ताव आयो । वाबुरामको भनाई थियो यदि पार्टीमा विचार राख्दैमा ममाथि अन्याय गर्छ भने म पोलिट व्यूरोमा बस्दिनँ । एक तह तल झरेर बस्छु भनेर केन्द्रीय सदस्यको हारमा बस्न मञ्चबाट तल झर्नु भयो । वाबुराम भन्नुहुन्छ, ‘प्रचण्डजीले सम्पूर्ण पार्टी, सत्ता, सेना आफूमा केन्द्रीत गर्ने र मलाई भारतले प्रयोग गरेको आरोप लगाएपछि म झस्केको हो’ भन्ने तर्क थियो । तर उहाँ फेरी भन्नुहुन्छ, ‘प्रचण्डजी अल्पमतमा परेपछि कमजोरीको ढाकछोप गर्न, सेन्टिमेन्ट कब्जा गर्न भारतसित अनावश्यक सुरुङ युद्धको घोषणा गर्नु भएको हो ।’

बैठक सकिए लगत्तै प्रचण्डजीले सबै शक्ति आफूमा केन्द्रीत गरेपछि वाबुरामले गणतन्त्र प्रधान हो संसदवादीसित मिलेर राजाका विरुद्ध सङ्घर्ष गर्नुपर्छ भन्ने मुद्दा बनाएर पार्टी हेडक्वाटरमा ४ बुँदे र १३ बुँदे असहमति पत्र पार्टीमा दर्ता गराउनु भयो । किनकीः पार्टीभित्र वाबुरामको मत थियो, ‘२०५८ जेठ १९ गते राजा विरेन्द्रको वंशनास भएपछि अब मुलुकमा राजतन्त्रको अन्त भएको छ । अब गणतन्त्रको नारा बनाएर संसदवादीहरूसित मिलेर यो नक्कली राजतन्त्रलाई प्रहार गर्नुपर्छ ।’ वहाँले कान्तिपुर पत्रिकामा ‘कोतपर्व’ भनेर लेख पनि लेख्नुभयो । वहाँ अगाडि भन्नुहुन्छ ‘संसदवादी शक्तिसित मिल्दा अन्तरराष्ट्रिय अन्य शक्तिसित पनि मिल्न सजिलो हुने कुरा राख्दा मोहन वैद्य किरणजीहरू यो कुरा मान्न तयार हुनु हुँदैनथ्यो ।’ त्यसैले फुन्टीवाङभन्दा पहिले पनि प्रचण्ड–वाबुराम यो विषयमा लामो बहस र अन्तर सङ्घर्ष नै भयो । फुन्टीवाङमा आइपुग्दा राजासित मिलेर भारतका विरुद्ध सङ्घर्ष (सुरुङ युद्ध) गर्ने र संसदवादी दललाई पाखा लगाउने प्रस्ताव पारित भयो वाबुराम मान्न तयार हुनु भएन, वहाँले पुनः आफ्नो मत लिखित राख्नुभयो ।

मैले आफ्नो मत के राखेको थिएँ, मलाई घेरा हाल्ने, धम्काउने काम भयो । कमरेडहरुले त्यहीँ नै आक्रमण गर्छन् कि भने जस्तो स्थिति देखियो । आज पनि म यही पार्टी र आन्दोलनमा छु

२०६१ साउनमा बसेको केन्द्रीय कमिटीको बैठकमा भारतविरुद्ध सुरुङयुद्ध लड्ने योजना बन्यो । हामी भारतको विरुद्ध लड्ने र वाबुरामको ४ बुँदे र १३ बँदे असहमति प्रस्ताव ल्याउने, तर पार्टीको बहुमतको निर्णयलाई नमानी सुखै थिएन । त्यसबेला पार्टीको निर्देशन अनुसार बाबुरामको विचारका विरोध उभिन वाध्य भइयो । म फुन्टीवाङको बैठकपछि गुल्मी, बाग्लुङ र म्याग्दीको इन्चार्ज भएँ । जिम्मेवारी थपिएको थियो, अर्कोतिर पेचिलो अन्तरसङ्घर्षले कसरी काम गर्ने भन्ने थियो । डा. भट्टराईले असहमति पत्र पार्टीमा दर्ता गराउनु भयो । किनकीः वाबुराम (लालध्वज) लाई आरोप थियो– ‘बाबुरामले प्रकान्तरले साम्राज्यवाद, विस्तारवाद र शाही सैनिक फासीवादलाई पक्षपोषण गर्छ उनको जीवन दर्शन मालेमावादी सर्वहारावादद्वारा भन्दा आफूले आफैलाई योग्य विचारक ठान्ने मनोगत वौद्घिक दम्भ र योग्यले राज गर्न पाउनु पर्छ भन्ने नित्सेको चरम व्यक्तिवादी दर्शनद्वारा बढी निर्देशित छ ।’ अझ पार्टीको विचार नीति, योजना, कार्यक्रम र नेतृत्वप्रति समर्थन वा विरोधको एक मात्र सर्त आफ्नो व्यक्तिगत पद र स्थान मात्र रहेको तथ्यलाई दर्शाउछ भनिएको थियो । त्यो प्रतिवेदन अझै पनि तपाई पाठक (सबैले) पढ्न पाउन सक्नुहुन्छ । प्रतिवेदनमा उल्लेख विषयलाई व्याख्या गर्नु थियो तर, तलमाथि हुन्छ कि भनेर निगरानी पनि थियो ।

त्यही बीचबाट पार्टीको प्रतिवेदन बोकेर साथीहरूसित छलफल गरी पार्टीका योजना कार्यक्रमलाई लिएर म गुल्मी, वाग्लुङ, म्याग्दीको कार्यक्रम तय गरेर गुल्मी पुगें । केही दिनको गुल्मी बसाई पछि वाग्लुङको ताराखोलामा प्रशिक्षण गर्ने योजना अनुसार त्यता लागें । त्यस समय मसँग अधिवक्ता खिमलाल देवकोटा र पत्रकार कोमल बराल सँगै हुनुहुन्थ्यो । विशेष क्षेत्रमा वाबुरामको विचारसँग नजिक म मात्र हुदा सबैको ध्यानाकर्षण मैतिर थियो । देवेन्द्र पौडेल ‘सुनिल’ स्कूलिङ विभागमा, रविन्द्र श्रेष्ठ, देव गुरुङ सहितको टिम थियो । हामी थोरै साथी मात्र वाबुरामको विचारसित सहमत थियौं ।

तर त्यहाँ आफ्नो विचार व्यक्त गर्ने वातावरण थिएन । मैले ताराखोलाको प्रशिक्षणको लागि खिमलाल देवकोटा र कोमल बरालसँग पनि छलफल गरेको थिएँ । त्यहाँ प्रतिवेदनको भाव र स्पीड नै राख्नु थियो । मैले त्यही रूपमा कुराहरू राखेँ । ‘सामन्तवादको अन्त्यविना नेपालमा गणतन्त्र पनि आउदैन र गणतन्त्रविना पूँजीको विकास हुँदैन । जनवादी क्रान्ति भन्नु नै पूँजीवादी क्रान्ति हो, त्यसको लागि हामीले सोच्नु पर्छ ।’ मैले आफ्नो मत के राखेको थिएँ, मलाई घेरा हाल्ने, धम्काउने काम भयो । कमरेडहरुले त्यहीँ नै आक्रमण गर्छन् कि भने जस्तो स्थिति देखियो । आज पनि म यही पार्टी र आन्दोलनमा छु, गोपनीयताको सवाल पनि हुन्छ, नाम लिन उचित हुँदैन, तर म त्यो घटनामा जोडिएका कमरेडहरुको अनुहार झल्झली सम्झन्छु । अहिले तिनै कमरेडहरू आँखामा आँखा जुधाएर कुरा गर्ने हिम्मत गर्दैनन् । आखिरी जीत त सत्यको हुँदो रहेछ । तीन वर्षपछि चुनवाङको बैठकमा त्यही लाइन पास भयो– ‘राजनीतिक दलसित सहकार्य गर्ने र राजाको विरुद्ध सङघर्ष गर्ने ।’

(वामदेव क्षेत्री घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)

प्रकाशित मिति: ७ भाद्र २०७८, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *