गत वर्ष विश्वव्यापी फैलिएको कोरोना भाइरसले मानव जगतमा तहसनहस बनायो । महामारीबाट थिलथिलो भएको मावन जगत पुनःजागरणको चरणमा थियो । तर दोस्रो लहर फैलियो । महामारीका अझ नयाँ–नयाँ लहर आइरहेको वैज्ञानिकहरू बताइरहेका छन् । कोरोनाको दोस्रो लहरले नेपालमा गत वर्षभन्दा धेरै प्रभाव पारिरहेको छ, जनजीवन त्रस्त भएको छ । यस्तो बेला काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षार्थ गरिरहेको कार्यबारे नगर प्रमुख सन्तोष चालिसे–
कोरोनाको महामारीबाट विश्व नै आक्रान्त बनेको बेला हाम्रो नगरपालिका पनि अलग रहने कुरा भएन । यसपटकको लहरमा शुरूमा अत्यासलाग्दो स्थिति आयो । यसपटक नगरभित्र १ हजार ६ सय जना संक्रमित देखिए । जेठ ९ गतेसम्मको तथ्यांकअनुसार २८ जनाको मृत्यु भएको छ ।
यो संकटको घडीमा नगरपालिकाले नगरवासीको जीवन रक्षाको पहलमा आफ्नो ध्यान केन्द्रित गरेको छ । हाल नगरपालिकासँग चार ओटा अस्पताल कोभिड संक्रमितको उपचारमा संलग्न छ । नेपाल मेडिकल कलेजमा १ सय जना, खाङ्ग्री इन्टरनेसनल हस्पिटलमा ४० जना उपचाररत छन् । शंखरापुर हस्पिटलका २५ शैय्यामा कोभिडका बिरामीका लागि उपयोग भइरहेको छ । गोकर्णस्थित गोकर्णेश्वर अस्पतालमा कोभिडका बिरामीका साथै यसबाहेकका बिरामी तथा प्रसुतिसहितको सेवा पनि जारी छ । नेपाल अर्थोपेडिक अस्पताल पनि हामीसँग आबद्ध छ । मास्क, सेनिटाइजरजस्ता अत्यावश्यक वस्तुको मागअनुसार नगरपालिकाले उपलब्ध गराइरहेको छ ।
नगर क्षेत्रभित्र २ ओटा एम्बुलेन्स २४ घण्टा सेवामा खटाइएको छ । केही समय अक्सिजनको अभाव खड्कियो । हालै अक्सिजन आपूर्तिको व्यवस्था पनि मिलाइएको छ । यही आउने बुधबारदेखि गोकर्णको सहिदपार्कस्थित नगरपालिकाकै भवनमा अक्सिजनसहितको २५ शैय्याको आइसोलेसन गृह सञ्चालनमा ल्याउँदै छ । जहाँ क्लोज सर्किट क्यामेरा, टेलिभिजन, सुविधासम्पन्न शौचालयलगायत सम्पूर्ण व्यवस्था गरिएको छ । गत वर्ष नै तयारीको धेरै काम सकिएको सम्पूर्ण सुविधासहितको उक्त आइसोलेसन गृहका लागि लगभग २५ लाख रुपैयाँ लगानी भएको छ । गोकर्णेश्वर अस्पतालका तीन जना डाक्टरको निगरानी हुने गरी अनमीसहित चार जना नर्स, तीन जना नगरप्रहरी, दुई जना सफाइ कर्मचारी खट्ने छन् । लायन्स क्लब अफ काठमाडौं ३२५–१ सँगको सहकार्यमा नगरपालिकाले आइसोलेसन गृह सञ्चालनमा ल्याउँदै छ ।

हामीले यस्तो बेला पनि सुरक्षा मापदण्ड अपनाएर नगरपालिका र सबै वडा कार्यालय खुल्ला नै राखेका छौं । बिहान ९ बजेदेखि कामको आधारमा १ देखि २ बजेसम्म खोलिन्छ । नगरपालिकाभित्र रहेका ६ ओटा स्वास्थ्य चौकी पनि सञ्चालनमा छन् ।
नगरपालिकाको स्वास्थ्य सेवा इकाइ दिनैभरि नागरिकको सेवामा घुमिरहेको हुन्छ । नेपाल मेडिकल कलेज र चामुण्डा माध्यमिक विद्यालयमा कोभिडको खोप हालसम्म ८ हजार नागरिकले लिइसकेका छन् । बुधबारसम्म लगाइने खोपमा कमसेकम १० हजार लाभान्वित हुने आँकलन गरिएको छ । गोकर्णेश्वर शंखरापुर अस्पतालबाट हप्ताको दुई दिन पिसिआर परीक्षण पनि भइरहेको छ । आकस्मिक जाँचका लागि नेपाल मेडिकल कजेलमा २४सै घण्टा सुविधा छ ।
घरघरै खाना
गत वर्षको कोरोना कहरमा एक महिनासम्म नगरपालिकाले १९ ठाउँमा खानाको व्यवस्था गरेको थियो । त्यहाँबाट दैनिक १४ हजार मानिसलाई खाना खुवाइयो । स्थानीय महिला तथा युवाको विशेष पहलमा स्वस्थकर र अग्र्यानिक खाना व्यवस्थापन गरिएको थियो । यो मानवसेवाको कर्म राम्रो हुँदाहुँदै पनि क्रमशः भीड अनियन्त्रित हुँदै गयो । सुरक्षाकर्मीलाई नै भीड नियन्त्रण गर्न कठिन हुन थालेपछि हामी सेवा बन्द गर्न वाध्य भयौं । यो वर्ष हामी स्वास्थ्यसेवा आपूर्तिमै बढि केन्द्रित छौं । तर नगरपालिकामा ‘भोकै परियो’ भन्ने गुनासोसहितको फोन आउने क्रम बढेको छ । यसैबीच दुई-तीन ओटा संस्थासँग छलफल चलिरहेको छ । तर गत वर्षको जस्तो भीड नगरिकन घरैमा तयारी खाना पु-याइने छ । नगरपालिकाको टिमले फोन सम्पर्कका आधारमा कमसेकम दैनिक २ सय जना जतिलाई खाना लगिदिने तयारी भइरहेको छ ।
कछुवा गतिमा विकास
अहिले हाम्रो ध्यान जनताको ज्यान बचाउनेतिर छ । यसकारण अन्य गतिविधि गौण भए । महामारीले गत आर्थिक वर्षको विकास निर्माण पनि नराम्रोसँग प्रभावित ग-योे । यसपालि पनि ठिक्क त्यस्तै समयमा परेको छ । तीव्र गतिले काम भनेकै चैत्रदेखि असार मसान्तसम्म हो, यही बेला यस्तो परेको छ । यद्यपि काम ठप्पै भने भएको छैन । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर नगरक्षेत्रभित्रका विकास निर्माण कार्य सुस्त गतिमा सञ्चालन हुँदैछ ।
चालू आर्थिक वर्षमा नगरपालिकाले ठूला प्रोजेक्ट सञ्चालन गरिरहेको छ । दुई-दुई करोड रुपैयाँको स्वास्थ्य चौकी भवन, चार÷चार करोड रुपैयाँ लगानीका तीन ओटा वडा कार्यालय भवन डिपिसीपछि अलिअलि काम हुँदैछ । नगरपालिका कार्यालयसमेत रहने सात तले गोकर्णेश्वर भवनको काम टेण्डर प्रक्रिया सकिए पनि अघि बढ्न पाएन । २८ करोड रुपैयाँ लागत रहने सो प्रोजेक्ट हालको जनस्वास्थ्यको अवस्थामा केही सुधार आए शिलान्यास गर्ने सोचमा छौं ।

यसैबीच जोरपाटी–सुन्दरीजल जोड्ने ४ किलोमिटर मुख्य सडक कालोपत्रे गरिएको छ । यसरी सुस्तरी अघि बढाइएका गतिविधिले यस क्षेत्रमा कार्यरत धेरै मजदुरको अहिले पनि चुलो जलिरहेको छ ।
चालू आर्थिक वर्षमा नगरपालिकाले २ अर्ब १७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । त्यसमा लकडाउन हुनुअघि ६० प्रतिशत काम सम्पन्न भएको विवरण उतारिएको थियो । अहिले १० प्रतिशतको दरले मात्र अघि बढेको छ । असार मसान्तसम्मा जेनतेन ८० प्रतिशतसम्म सम्पन्न भए पनि ठूलो कुरा मान्नु पर्छ । गत आबमा महामारीबीचमै पनि ९४ प्रतिशत बजेट खर्च भएको थियो ।
प्रकृतिमाथि अत्याचारका प्रतिफल
संसारमा बेला–बेला किन यस्तो महाविपत्ति आइलाग्छ मानव जगतलाई ? यसबारे मेरो मनमा केही सवाल आउँछन् र सँगै केही जवाफ पनि । मेरो आध्यात्मिक चिन्तनका आधारमा भन्नु पर्दा, पछिल्लो समय हामीले हाम्रा धर्मसंस्कृति, परम्परा र पहिचानलाई छोड्दै गयौं ।
दोस्रो, प्रकृतिलाई अनावश्यक तवरले हस्तक्षेप गर्न थाल्यौं । यसमा विश्व समाज नै जोडिन्छ । सम्भावित नतिजाका ख्यालै नगरी तत्कालीन स्वार्थ र लोभमा मानव जगतले प्रकृतिको दोहन गरिरहेको छ । गत वर्ष भएको आगलागीमा परेर अष्टे«लियामा मात्रै ५ करोड वन्यजन्तुले ज्यान गुमाए । के यो पृथ्वी मान्छेका लागि मात्रै हो ? पक्कै होइन ।
हामी कहाँ नै हेरौं, पैसा कमाउने नाममा जताततै खोलामा डोजर चलेका छन् । वन फँडानीको अवस्था उस्तै छ । वनका कर्मचारी, उपभोक्ता समिति, प्रहरी–प्रशासन ती स्वयम् तस्करी र फँडानीमा लागेका छन् । अन्यसबै प्राणीको निश्चित आहारा हुन्छ । तर, मानिस नै त्यस्तो प्राणी हो प्रकृतिमा भएका सारा प्राणीको मासु खान लागि परेको छ । तब शरीरले धान्न र पचाउनै नसक्ने, अभ्यस्तै नभएको प्राणीको मासु खान लागेपछि विभिन्न किसिमका भाइरस पशुपक्षीबाट मान्छेमा स-यो । आज विश्व नै लासको थुप्रो बन्दै गएको छ । भोलि अझ भयानक कुरूप समय नआउला भन्न सकिन्न । रक्षक नै भक्षक भएपछि प्रकृतिको पनि सहने सीमा होला नि ! अब सीमा नाघ्दै गयो भन्ने बुझौं । कमसेकम अब त सचेत बनौं ।