Logo

८ चैत्र २०८१, शुक्रबार
  • तक्मा केसी

भनिन्छ– मानिस जन्मनु, सुखमय मोज, धन आर्जन गर्नु मात्र होइन जीवन । मान्छे, मान्छे भएर बाँच्नुपर्छ । जो मान्छे आफ्नो जीवन मात्र बाँच्छ, ऊ मान्छे नभई फगत एउटा प्राणी मात्र हुन जान्छ । जो प्राणी मान्छे भएर बाँच्ने कोशिस गरे र बाँचे, उनीहरूले नै हामीलाई यो संसार–समाज देखाए । ती मध्येका एक मान्छे हुन् कृष्ण सेन ‘इच्छुक’ ।

‘इच्छुक’ले मृत्यु पनि सार्थक र ओजपूर्ण हुनुपर्छ भन्ने बोध गर्दै आफ्नो अमूल्य जीवनलाई उन्नत समाज र राष्ट्रको निम्ति समग्र मानव जीवनका निम्ति समर्पण गरे । न्याय र समानताका निम्ति क्रियाशील रहे । आवाजविहीनका लागि आवाज बने, दीन–दुःखीहरूको निम्ति खुसी बने । कमजोरहरूका लागि शक्ति बने, अप्ठ्यारोको निम्ति उज्यालो बन्ने कोशिस गरिरहे । कुरूप वर्तमानलाई फेरेर सुन्दर भविष्यको निर्माणका लागि अग्रसर बन्न प्रेरित गर्ने र प्रेरणा बन्ने प्रयास गरिरहे । सधैँ अग्रगामी सोच र विचारसहित कर्म र व्यवहारमा इच्छुक अग्रदस्ता बने र आफ्नो दिनचर्यामा खरो उत्रिन सफल भए ।

विवाहपछिको तस्विर l तस्विर सौजन्य: तक्मा केसी


समाज परिवर्तन गर्न सोचेका र हिडेकाहरूले ‘इच्छुक’को जीवन र व्यवहार मिहीन रूपमा पढ्दै, बुझ्दै र मनन गर्दै आफूलाई रूपान्तरण गर्न सक्नुपर्छ । ‘इच्छुक’ले जीवनलाई अत्यन्तै सरल रूपमा बुझ्ने कोशिस गरे । आफूलाई सधैँ सक्रिय राखे । सकारात्मक सोच राख्न भविष्यप्रति सधैँ आशावादी रहे । अरूको दुःखमा सदा साथ दिन तत्परता देखाउँथे । जस्तोसुकै व्यक्तित्वसँग पनि मित्रभाव राख्न सक्थे । समस्याहरूबाट तत्काल आपसी छलफलमा समाधान खोज्थे । जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आफूलाई सहज राख्न सक्ने गुण भएका व्यक्ति थिए ‘इच्छुक’ ।

आफ्ना समग्र परिवार, नातागोता र आफन्तहरूप्रति पनि गहिरो माया, प्रेम र सद्भाव देखाउने, कहिले पनि विचलित नहुने अविचलित यात्री थिए ‘इच्छुक’ । शारीरिक तथा मानसिक तन्दुरुस्तताको निम्ति सधैँ जागरुक थिए । मध्यपान र धुमपानबाट टाढा रहे । समय मिलेसम्म शारीरिक व्यायाम र योग गर्थे । पौष्टिक आहारामा उनको ध्यान जान्थ्यो । मानसिक तनावमुक्त रहने र स्वस्थ जीवनप्रति सचेत रहने व्यक्ति थिए ‘इच्छुक’ ।

समयको भरपुर सदुपयोग गर्न खोज्ने, समय खेर फाल्न पटक्कै नरुचाउने । केही न केही मानसिक, बौद्धिक वा शारीरिक कामप्रति लगाव राख्ने सक्रिय मान्छे थिए ‘इच्छुक’ ।

साथीसँग सेन l तस्विर सौजन्य: तक्मा केसी


कतै काम विशेषले जाँदा पनि नजिकका, चिनेजानेका, इष्टमित्र, साथीभाइसँग समय मिलेसम्म भेटघाट गर्थे । सहयोग गर्न हिच्किचाउँदैनथे । मिठो परिकार, विशेषगरि मासु बनाएर खान र खुवाउन रुचाउँथे । सफा र मिलेको लुगा लगाउन खोज्थे । उनी फिल्म हेर्न मन पराउँथे । मनोरञ्जनलाई पनि ख्याल राख्ने स्वभाव थियो उनको ।

उनी छोरीलाई बालसाहित्य पढन प्रोत्साहित गर्थे । आवश्यक पाठ्य सामग्रीहरू उपलब्ध गराइदिन्थे । केटाकेटीलाई घुमाउन लैजाने र अत्यन्तै माया गर्ने एक असल बाबा हुन् ‘इच्छुक’ । श्रीमतीको शारीरिक र मानसिक अवस्थाको सधैँ ख्याल राख्ने, अध्ययन र प्रगतिका निम्ति सधैँ प्रेरणा दिने एक असल मित्र र पति हुन् ‘इच्छुक’ ।
उनी पारिवारीक अवस्था, समस्या र त्यसको उचित व्यवस्थापनमा सधैँ चिन्ता र चासो राख्थे । सकेसम्म व्यवस्थापनमा अग्रसर रहने एक असल अभिभावक थिए । उनका यावत् आनिबानी, दैनिकी आत्मसात र अबलम्बन गर्न उनलाई अध्ययन गर्नैपर्छ ।

सत्यको खोजी l तस्विर सौजन्य: तक्मा केसी



धेरैले उनलाई नजिकबाट चिनेका थिएनन् र सुनेका मात्रै छन् । नजिकबाट चिनेका र राम्रोसँग बुझ्नेहरूमध्ये धेरै आदर्शबाट च्यूत भएका छन् । तर उनलाई बुझ्नेलाई थाहा छ–‘इच्छुक’ सांस्कृतिक, सामाजिक र राजनीतिक आन्दोलनका अनुकरणीय व्यक्तित्व हुन् । उनी अग्रदस्ता हुन् भन्नेमा कुनै हिच्किचाहट हुँदैन ।

उनी ढोंगी कम्युनिष्ट होइनन् । उनी जे लेख्थे, त्यही गर्थे, जे भन्थे व्यवहारमा त्यही गर्थे । शब्द, कर्म र व्यवहारको कुशल संयोजन थियो उनमा । विचार, आस्था र आदर्शबाट कहिल्यै च्यूत हुने कल्पनासम्म गरेनन् । राज्य, सरकार र सत्ताको अत्याचारको विरुद्ध निर्भीक भई कलम चलाइरहे । आफ्नो कलमलाई कहिल्यै सम्झौता गराएनन् । यो कुरा प्रजातान्त्रिक भनिएको सरकारले रुचाएन । गिरफ्तार ग-यो, बेपत्ता पा-यो, हिरासतमै चरम यातना दिँदै हत्या ग-यो । सरकार उनको शरीरसँग पनि डरायो र गुपचुप गायब पा-यो ।

कविता वाचन l तस्विर सौजन्य: तक्मा केसी


‘इच्छुक’कै सहयात्रीहरू पटक–पटक सरकारमा गए, न उनको बारेमा छानबिन भयो, न उनको सपना खातिर काम भयो । अब त सरकार, सत्ता, राज्य सबै निर्लज्ज र निर्वस्त्र भइसकेको छ । म ठोकेर भन्छु, ‘इच्छुक’जस्ता धेरैका योगदान, बलिदान, त्याग र समर्पणलाई लत्याउनुको दुष्परिणाम आज राष्ट्र, देश र तपाईं हामी जनताले भोगिरहेका छौं ।

राज्यले ‘इच्छुक’जस्ता होनहार मान्छेलाई समयमा चिन्न सकेन । देशभक्त नायकलाई संरक्षण गर्नुको साटो उल्टो थुन्ने, हतोत्साहित गराउने, यातना दिने, बेपत्ता पार्ने, रहस्यमय तरिकाले हत्या गराउने र वैचारिक रूपमा सिध्याउने प्रयत्न गरिरह्यो । बलिदानको जगमा उठेको आन्दोलनबाट सत्तामा पुगेकाहरूले उनीहरूको आदर्शलाई सम्मान गर्न सकेनन् । अहिलेको समय त्यसैको परिणाम हो । अहिले नागरिकहरूले भोगिरहेको विकृत वर्तमान त्यसैको उपज हो । यसले अझ विकृत अवस्थाको निर्माण गर्नेछ । विकराल स्थिति पैदा हुनेछ । र, नयाँ पिँढीले अहिलेको पुस्ता (सत्तामा बसेकाहरू)लाई सत्तोसराप गर्ने छन्, धिक्कार्ने छन् । यसलाई मनन गर्न ढिला भइसकेको छ ।

साथ l तस्विर सौजन्य: तक्मा केसी


अहिलेको पुस्ताले बुझ्नु आवश्यक छ– आज जुन भौतिक सुविधाप्राप्त समाज बनेको छ, त्यो अनगिन्ती मान्छेहरूको श्रम, योगदान, अन्वेषण र बलिदानबाट मात्र प्राप्त भएको हो । हामी केही समयको चमत्कारबाट मानिस भन्ने प्राणी भएका पनि होइनौं । पुर्खाहरूको ठूलो त्याग, तपस्या, मिहिनेत र बलिदानको निरन्तरताको परिणाम आजको समाज हो । ‘इच्छुक’ लगायतका बलिदानको अवमूल्यन भयो भने यो समाज पनि पथभ्रष्ट हुनेछ र दुःख पाउने छन् । भावी समाजको सम्भावित दुर्दशालाई अनदेखा गर्नु ठूलो भूल हुनेछ ।

त्यसैले, लोकतन्त्र, समाजवाद, कम्युनिष्ट आदर्शलाई ढोंगमा परिवर्तन नगरौं, पाखण्डीपन छोडौं । एक पटक ‘इच्छुक’ र उनीजस्तै आदर्श बोकेका मान्छेहरूको जीवन पढौं, मनन गरौं । आफ्नो जीवनशैलीलाई रूपान्तरण गरौं, समाज परिवर्तनको दिशामा अघि बढौं । अन्यथा आदर्श, मूल्य र मान्यताविपरित चलाएको समाज एकदिन ढल्नेछ ।

साथ l तस्विर सौजन्य: तक्मा केसी


अन्त्यमा, यस कोरोना महामारीको बन्दाबन्दीमा आज जेठ १३ गते ‘इच्छुक’को १९ औं स्मृति दिवस तथा बलिदानी दिवसमा ‘इच्छुक’लगायत ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धासुमन–सम्मान व्यक्त गर्दछु ।
१३ जेठ, २०७८, बिहीबार
०००

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *