Logo

३० भाद्र २०८३, सोमबार

भूमिराज पिठातोली/रासस

रायल (बझाङ), २८ भदौ।

‘पापी मन बुझाउनाखी आफैँ जान्दो रैछ,
सबैभन्दा ठूलो बिराम चिन्ता मान्नु रैछ।’

देउडाको मौलिक भाकामा यी हरफ गुञ्जिँदा रायलको वातावरण केहीबेर स्तब्ध बन्यो। यी शब्द गीतका हरफ मात्रै थिएनन्, किशोर मनभित्र गुम्सिएका पीडा र चिन्ताका अभिव्यक्ति पनि थिए।

देउडाको लयमा मनोरञ्जन थियो, तर शब्दमा जीवनको गहिरो कथा थियो। तनाव, निराशा र सामाजिक दबाबसँगै कठिन परिस्थितिमा पनि जीवन रोज्नुपर्छ भन्ने सन्देश थियो।

बझाङको केदारस्यूँ गाउँपालिका–१ रायलस्थित गर्जेपानी माध्यमिक विद्यालयमा शनिबार आयोजित अन्तरमाध्यमिक विद्यालयस्तरीय देउडा गायन प्रतियोगिताले स्थानीय संस्कृति र मानसिक स्वास्थ्यसम्बन्धी चेतनालाई एउटै मञ्चमा जोडेको थियो।

प्रतियोगितामा पाँच विद्यालय सहभागी थिए। झोताको भैरव माध्यमिक विद्यालय, भाडिकोटको नमादेव माध्यमिक विद्यालय, रातापानीको बेताल माध्यमिक विद्यालय र सैन्यूको जगन्नाथ माध्यमिक विद्यालयलगायतका विद्यार्थीले प्रस्तुत गरेका देउडा गीतमा किशोरकिशोरीका समस्या र मानसिक स्वास्थ्यका विषय उठाइएका थिए।

‘घर झाउँ कामको चिन्ता, स्कुल पढाइको,
बालो उमेर उर्ली आयो, मैदान भै लडाइको।’

यी हरफले किशोरावस्थामा बालबालिकाले भोग्ने दबाबको चित्र प्रस्तुत गरे। घरको कामको बोझदेखि विद्यालयको पढाइसम्म, परिवारको अपेक्षादेखि सामाजिक दबाबसम्मका विषय देउडाका शब्दमा आएका थिए।

खेल्ने, रमाउने र भविष्यका सपना बुन्ने उमेरमै कतिपय बालबालिका मानसिक तनावमा पर्ने यथार्थ विद्यार्थीले गीतमार्फत सुनाएका थिए।

स्थानीय भाका र मौलिक लयमा प्रस्तुत गीतका शब्दले कार्यक्रममा उपस्थित अभिभावकलाई पनि सोच्न बाध्य बनाए। पुस्तौँदेखि मनोरञ्जन, सामाजिक संवाद र सुखदुःख व्यक्त गर्ने माध्यमका रूपमा रहेको देउडा यसपटक मानसिक स्वास्थ्यबारे संवादको माध्यम बन्यो।

विद्यार्थीले मानसिक तनाव, निराशा, आत्मविश्वासको कमी, पारिवारिक तथा सामाजिक दबाब र आत्महत्याको जोखिमजस्ता संवेदनशील विषयलाई सिर्जनात्मक रूपमा उठाएका थिए।

‘चेतनाको कमीले हो, अकालमै मर्‍या,
अमूल्य माइसको चोला फाल्पासो जनर्‍या।’

यी शब्दले मानव जीवनको मूल्य सम्झाउँदै कठिन परिस्थितिमा सहयोग खोज्नुपर्ने सन्देश दिएका थिए। मानसिक स्वास्थ्यसम्बन्धी समस्या आउनु कमजोरी नभएको र समस्या पर्दा परिवार, शिक्षक, स्वास्थ्यकर्मी वा विश्वासिलो व्यक्तिसँग कुरा गर्नुपर्ने भाव विद्यार्थीका प्रस्तुतिमा थियो।

विद्यालय तहबाटै मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आवश्यक देखिएकाले प्रतियोगिता आयोजना गरिएको गर्जेपानी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर मल्लले बताए।

किशोरावस्था शारीरिक, मानसिक र भावनात्मक परिवर्तन तीव्र हुने संवेदनशील समय भएकाले यस उमेरका बालबालिकाका भावना र व्यवहारलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने उनको भनाइ छ।

नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले कार्यक्रमका लागि आर्थिक सहयोग गरेको थियो।

गर्जेपानी विद्यालयको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाका स्वास्थ्य संयोजक अमरबहादुर विष्टले नेपालमा आत्महत्याका घटनासम्बन्धी तथ्याङ्क प्रस्तुत गरेका थिए। उनले आर्थिक वर्ष २०८२/८३ मा नेपालमा ७ हजार १३२ जनाको आत्महत्याबाट मृत्यु भएको बताए।

विष्टले आत्महत्याका घटना न्यूनीकरण गर्न परिवार, विद्यालय, समुदाय र राज्य सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।

समाजमा आत्महत्यालाई ‘कायरता’सँग जोडेर हेर्ने भाष्य रहेको उल्लेख गर्दै उनले यस्तो सोचले समस्यामा परेका व्यक्तिको अवस्था बुझ्न सहयोग नगर्ने बताए। आत्महत्याको सोचसम्म पुग्नु सम्बन्धित व्यक्तिका लागि जटिल अवस्था भएकाले त्यसलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने उनको भनाइ छ।

स्वास्थ्य संयोजक विष्टका अनुसार आत्महत्या रोकथाम स्वास्थ्य क्षेत्रको मात्रै जिम्मेवारी होइन। परिवारमा आफ्ना कुरा खुलेर भन्न सक्ने वातावरण, विद्यालयमा विद्यार्थीका समस्या सुन्ने संस्कार र समुदायमा मानसिक स्वास्थ्यबारे खुला संवाद आवश्यक छ।

समस्या समयमै पहिचान गरी सहयोग तथा उपचारको पहुँचमा पुर्‍याउन सके धेरै जोखिम कम गर्न सकिने उनले बताए।

निरन्तर अभियानमा मल्ल

गर्जेपानी माध्यमिक विद्यालयका शिक्षक पूर्णबहादुर मल्ल डेढ वर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने अभियानमा जुटेका छन्।

छोरीको आत्महत्याबाट मृत्यु भएपछि गहिरो शोकमा परेका मल्लले मनोपरामर्शसम्बन्धी तालिम लिएपछि गाउँगाउँमा पुगेर मानसिक स्वास्थ्यबारे सचेतना फैलाउँदै आएका छन्।

गर्जेपानी माविमा हरेक हप्ता मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम हुने गरेका छन्। देउडा गायन प्रतियोगिता पनि मल्लकै अग्रसरतामा आयोजना गरिएको थियो।

किशोरकिशोरीको व्यवहारमा आउने परिवर्तनलाई सामान्य भनेर बेवास्ता गर्न नहुने मल्ल बताउँछन्।

“किशोरकिशोरीका समस्या सुन्ने, भावना बुझ्ने र आवश्यक पर्दा सहयोग तथा परामर्श उपलब्ध गराउने वातावरण विद्यालय र परिवारले बनाउनुपर्छ,” उनले भने।

विद्यार्थी तथा शिक्षकलाई मानसिक स्वास्थ्यका विषयमा जानकारी दिने मल्लको अभियानले विद्यालय तहमा यस विषयमा बहस बढाउन सहयोग पुर्‍याएको सोही विद्यालयको आमा समूहकी अध्यक्ष देवकी मल्लले बताइन्।

प्रतियोगितामा गुञ्जिएको अर्को हरफ थियो,

‘चित्त दुखाई जन बस्या, हृदय रूनो छ,
मानसिक रोगको पन, उपचार हुनो छ।’

यी हरफले मानसिक समस्या आएमा सहयोग र उपचार खोज्नुपर्ने सन्देश बोकेका थिए। भावनात्मक रूपमा कठिन अवस्थामा हतारमा निर्णय लिनुभन्दा परिवार, शिक्षक, स्वास्थ्यकर्मी वा विश्वासिलो व्यक्तिसँग आफ्ना कुरा राखेर सहयोग लिनुपर्ने भाव गीतमा प्रस्तुत गरिएको थियो।

“गर्जेपानीमा भएको यो प्रतियोगिता एउटा सांस्कृतिक कार्यक्रम मात्रै रहेन,” आमा समूहकी अध्यक्ष मल्लले भनिन्, “यसले देउडालाई मानसिक स्वास्थ्यसम्बन्धी संवादको माध्यम बनायो। विद्यार्थीले आफ्नै भाकामा आफ्नै मनका कुरा सुनाए। शिक्षक र अभिभावकलाई आफ्ना बालबालिकाको मनभित्र पनि एउटा संसार हुन्छ भन्ने सम्झाए।”

किशोरकिशोरीको मनमा आउने तनाव, निराशा, असफलता तथा पारिवारिक र सामाजिक दबाबलाई समयमै बुझ्न सके धेरै जोखिम कम गर्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति: २९ भाद्र २०८३, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *