Logo

५ चैत्र २०८१, मंगलबार
जाजरकोटमा शुक्रबार राती आएको भूकम्पले रुकुम पश्चिमको आठविसकोट नगरपालिका- १२ मा भत्किएको घर । तस्बिर : बलबहादुर ओली/रासस

रुकुम, १८ कात्तिक : गए राति जाजरकोट केन्द्रविन्दु बनाइ गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । जाजरकोटसँग नजिक रहेका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

“आठविसकोट नगरपालिकामा १८ र सानीभेरी गाउँपालिकामा ९ गरी २७ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ”, प्रमुख केसीले भन्नुभयो, “मानवीयसँग ठूलो मात्रामा भौतिक क्षति पनि भएको छ ।” उहाँका अनुसार भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका वडा नं १४ र सानीभेरी गाउँपालिका वडा नं ४ मा धेरै क्षति पुर्‍याएको छ ।

भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारको काम भइरहेको छ भने मानवीय र भौतिक क्षतिको विवरण पनि सङ्कलन भइरहेको छ । भूकम्प राति गएका कारण सडक अवरुद्ध हुँदा घाइतेलाई अस्पताल पुर्‍याउन निकै समस्या भएको आठविसकोट नगरपालिका वडा नं १४ का वडा अध्यक्ष हुकम पुनले बताउनुभयो ।
“हाम्रो वडामा धेर क्षति भएको छ । रातिदेखिनै उद्धार जारी राखेका छौँ । केहीको मृत्यु भएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पनि पठाएका छौँ”, उहाँले भन्नुभयो, “रातिमा सबै सुतिरहेको अवस्थामा भूकम्प आएका कारण मानवीय क्षति बढी भएको हो ।”

उहाँका अनुसार आठविसकोट नगरपालिकामा १८ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । हाल थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेन्द्र खड्काले बताउनुभयो । उहाँकाअनुसार सानीभेरी गाउँपालिकामा हालसम्म नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल सल्ले, चौरजहारी मिसन अस्पताल र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । भूकम्पका कारण अवरुद्ध सडक पनि खुलेको र उद्धारमा सहज बनाइएको प्रहरीको भनाइ छ । उहाँका अनुसार जिल्ला अस्पताल सल्लेबाट हाल १० जनालाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको विमानमार्फत नेपालगञ्ज पठाइएको हो । साथै आठविसकोट नगर अस्पतालमा उपचाररत तीन जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ । हाल जिल्ला अस्पताल सल्लेखमा जाजरकोटबाट पनि घाइते लैजाने क्रम जारी छ ।

जिल्लाको चौरजहारी र मुसीकोट नगरपालिका, त्रिवेणी र बाफिकोट गाउँपालिकाका केही घरमा क्षती भए पुगेको छ । सानीभेरी गाउँपालिका वडा नं ४ का डिल्ली परियारले भूकम्पका कारण घरहरु भत्केका र चिरा परेको कारण मनमा डर कायमै रहेको बताउनुभयो । “म सुत्ने तरखरमा थिए । एक्कासी घर हल्लिएपछि बाहिर निस्के । घरका भित्ताहरु भत्किसकेका थिए । मेरो बुवालाई चोट लाग्यो र बुबालाई तत्काल सानीभेरी गाउँपालिका अस्पताल छोटेबगर पुर्‍याएँ । हामी कसरी बाँचियो थाहै छैन”, उहाँले भन्नुभयो ।

रासस

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *