Logo

१५ चैत्र २०८१, शुक्रबार

सबैभन्दा धेरै सदस्य आबद्ध पार्टीको रूपमा परिचित चिनियाँ कम्युनिष्ट पार्टीमा यस्ता व्यक्ति सर्वोच्च नेता छन्, जो आफैंलाई पार्टी सदस्यता पाउन निकै कठिन परेको थियो । पार्टी स्थापनाको शतवार्षिकीमा सि जिनपिङले ती दिनहरू सम्झिए ।

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना हुँदै गर्दा यसका जम्माजम्मी ५० सदस्य थिए । एक शताब्दीको अन्तरालमा यति धेरै मान्छे आबद्ध भए कि अहिले यस पार्टीको सदस्यता संख्या नै साढे नौ करोड नाघिसकेको छ ।


४७ वर्षअघि चीनको उत्तरपश्चिममा अवस्थित शाङ्सी प्रान्तको लियाङ्गजाह गाउँमा २० वर्षका एक युवकले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिए । त्यहीँबाट आधिकारिक रूपमा राजनीतिक यात्रा थालेका व्यक्ति नै आज विश्वको सबैभन्दा ठूलो पार्टी, चिनियाँ कम्युनिष्ट पार्टीका सबैभन्दा सर्वोच्च नेता छन्– सि जिनपिङ ।

सि जिन पिङ सपथ लिँदै


यत्रो विशाल पार्टी र देशलाई नेतृत्व दिइरहेका जिनपिङको पार्टी आबद्धता यात्रा भने सहज थिएन ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभागका प्रमुखसमेत भइसकेका उनका बुबा सि जोङ सुनलाई तत्कालीन अध्यक्ष माओले बेइमानीको आरोपमा बर्खास्त गरेका थिए । सांस्कृतिक क्रान्तिको दौरान उनका बुबालाई जेल हालियो ।

त्यतिबेला जिनपिङ १५ वर्षका थिए । त्यसैबेला ग्रामीण क्षेत्रको जीवन अनुभव गराउने र काम गराउने अभियानअन्तर्गत उनीजस्तै सहरमा शिक्षा प्राप्त गरेका तीन करोड विद्यार्थीलाई गाउँ पठाइयो ।

त्यसै सिलसिलामा उनी सन् १९६९ लियाङ्गजाह गाउँ पुगेका थिए । यी किताबप्रेमी सहरी युवक छिटै नै गाउँले जीवनमा भिज्न थाले ।


लियाङ्गजाहका वासिन्दा शी चुनयाङ सम्झन्छन्, ‘उनी महत्वाकांक्षी लाग्थे । खुप पढ्थे । प्रायः राजनीति, संस्कृति र अर्थशाश्त्रका किताब उनीसँग देखिन्थ्यो । मट्टितेल हालिएको टुकी बालेर मध्यरातसम्म पढिरहेका हुन्थे । गाउँलेले उनलाई मन पराए । उनीहरू सिसँग बात मार्थे र उनलाई विभिन्न विषयमा व्याख्यान दिन लगाउँथे ।’

युवा सि

सि भने गफ दिएरमात्रै रमाउने खालका थिएनन्, उनी कुरा सुन्थे र त्यसउपर काम पनि गर्थे ।

‘गाउँ आउँदा उनलाई कामबारे केही थाहा थिएन । अझ कृषिकर्मबारे त केही पनि थाहा थिएन । त्यसैले उनी पाका किसानहरूलाई सोधिरहन्थे– कसरी बाँझो फर्काउने ? कसरी जोत्ने ? वस्तु कसरी चराउने ? खन्ने कसरी ? उनी उर्जाशील र मिहिनेती थिए । पञ्जा नलगाइकन काम गर्दा उनको हातमा ठेला उठ्थ्यो, रगतै पनि बग्थ्यो तर पनि काम रोक्दैनथे’, चुनयाङले सम्झे ।


दुई वर्षपछि त सि किसानहरूसँग खनिरहेका, भारी बोकिरहेका, बाली उठाइरहेका देखिन थाले । जनताको सेवा गर्नु उनको दर्शन थियो ।

क्रान्तिकारी परिवारबाट आएका उनले लियाङ्गजाहमा जनकेन्द्रित दर्शनको प्रयोग गरे । त्यसबाट उनमा पनि पार्टीप्रति विश्वास अझ ठोस रूपमा मूर्तिकृत भयो । त्यसबेलाका गाउँ पार्टीका प्रमुख थिए– लियाङ युमिङ्ग । उनी सिको पार्टी आबद्धताप्रतिको दृढ संकल्पको साक्षी थिए ।

युमिङ्ग सम्झिन्छन्, ‘उनले युथ कम्युनिष्ट लिगमा आबद्ध हुन सन् १९७२ निवेदन थिए । निवेदन सहजै स्वीकृत हुँदैनथ्यो । स्वीकृत हुनुअघि उनले आठ पटक निवेदन दिएका थिए ।’

सि बस्ने ग्रामिण कोठा


उनले पार्टी सदस्यताकै लागि निवेदन दिएपछिचाहिँ लियाङ्गले गाउँ पार्टी कमिटीको बैठक राखे । गाउँ पार्टी कमिटीमा उनको निवेदन सर्वसम्मत स्वीकार गरियो । त्यसपछि निवेदन कम्युन पार्टी कमिटीमा पठाइयो ।

त्यतिबेला कम्युन पार्टी कमिटी सदस्य रहेका याङ शि जोङ्ग सम्झन्छन्, ‘त्यतिबेला सि जिन पिङ राजनीतिक प्रगतिका आकांक्षी थिए । उनले निकै मिहिनेत गरेका थिए, जिम्मेवार र निष्पक्ष पनि थिए । यसर्थ पार्टीमा प्रवेश पाउन योग्य थिए ।’


तर उनले पार्टी सदस्यता पाउन सकेनन् । उनलाई बुबाको क्रियाकलापसँग जोडेर मूल्यांकन गरियो, जसले उनको पार्टी प्रतिबद्धताप्रति संशय गर्ने ठाउँ दिन्थ्यो । तर उनी यसबाट न त निराश भए, न उनको पार्टीप्रतिको निष्ठा नै कम भयो । उनले निरन्तर मिहिनेत गरिरहे र निरन्तर निवेदन गरिरहे । दसौं पटकको निवेदनपश्चात सन् १९७४ मा उनले पार्टी सदस्यको मान्यता पाए ।


चुनयाङ भन्छन्, ‘उनलाई पार्टीप्रति दृढ विश्वास थियो, त्यसैले पार्टीमा आबद्ध हुन चाहन्थे । त्यसैले दसौं पटक पनि निवेदन लेख्न तयार भए र पार्टीमा आबद्ध हुने संकल्प पूरा गरिछाडे । किनकि उनी जनताको ख्याल राख्थे, जनताका लागि व्यवहारिक र अर्थपूर्ण काम गर्न चाहन्थे ।’

गाउँ

त्यसो त जनताको माया पनि उनले प्रशस्तै पाएका थिए ।

‘गाउँलेले उनलाई समर्थन गरे, विस्वास गरे र अनुमोदन गरे । उनीहरू सबै उनलाई गाउँ पार्टी प्रमुख बनाउन चाहन्थे । गाउँलेहरूकै सिफारिसलाई आधार मानेर कम्युन पार्टी समितिले उनको पार्टी सदस्यता स्वीकृत गर्यो । त्यतिमात्रै होइन, उनी लियाङ्गजाह गाउँको पार्टी सचिव पनि भए’, शि जोङ्गले भने ।


गाउँ पार्टी सचिव भइसकेपछि उनले सामाजिक अभियानका श्रृङ्खलाबद्ध नेतृत्व गरे । उनले नहर निर्माणको पहल गरे, जसले खेतबारीलाई बाढीबाट जोगाउँथ्यो । उनले मिथेन ग्यासको उत्पादन गर्ने ट्यांकी स्थापना गरे, जसले गाउँलेलाई बत्ती बाल्न र खाना पकाउन सहज भयो । उनले गाउँमा मिल पनि स्थापना गरे ।


‘सि सधैँ जनतालाई प्राथमिकता दिन्थे र त्यसमा प्रतिबद्ध थिए । यसका लागि उनी आफैंप्रति पनि कठोर हुन्थे । उनले गाउँलेको लागि प्रशस्तै व्यवहारिक काम गरे । त्यसै आधारमा पार्टी सदस्य र जनताको नेतृत्व गरे’, चुनयाङले भने ।


कम्युनिष्ट पार्टीको सतवार्षिकीको अवसरमा सि जिन पिङले पनि ती पुराना दिन सम्झिए । बिहीबार (जुलाई १) उनले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास प्रदर्शनीको अवलोकन गरे ।

पार्टी इतिहास प्रदर्शनी अवलोकन गर्दै सि

त्यहाँ उनले आफूले पार्टी प्रवेश गर्दाताकाको संघर्ष र मानसिक तनाव सम्झिए । पार्टीको ऐतिहासिक लक्ष्य र त्यसलाई काँध थाप्न आफूले गरेको संकल्प सम्झिए । पार्टीको इतिहासलाई अझ बलियो बनाउने अभिभारा सम्झिए र त्यसबेला लिएको सपथ सम्झिए । जसको सार यस्तो छ–


‘म चिनियाँ कम्युनिष्ट पार्टीमा आवद्ध हुने इच्छा जाहेर गर्दै सपथ लिन्छु कि पार्टीका हरेक कार्यक्रमलाई समर्थन गर्नेछु, पार्टी विधान पालना गर्नेछु, पार्टी सदस्यको कर्तव्य पूरा गर्नेछु, पार्टीका निर्णयहरू लागू गर्नेछु, पार्टीको अनुशासनलाई कठोरतापूर्वक पालना गर्नेछु, पार्टीको गोप्यताको संरक्षण गर्नेछु, पार्टीप्रति निष्ठावान भइ कडा मिहिनेत गर्नेछु, साम्यवादको लागि जीवनभर लड्नेछु, आफ्ना सबै कुरा पार्टी र जनताका लागि कुनै पनि बेला बलिदान गर्न तयार रहन्छु, र पार्टीप्रति कहिल्यै विश्वासघात गर्नेछैन ।’
(चिनियाँ सिन्ह्वा न्यूजले तयार पारेको भिडियो सामग्रीको आधारमा तयार पारिएको)

प्रकाशित मिति: १८ असार २०७८, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *