Logo

१५ आश्विन २०८३, बिहिबार

अस्ट्रेलियाका विभिन्न सहरमा ‘रक यात्रा’ लिएर पुगेको नेपाली ब्यान्ड १९७४ एडीले दर्शकको उत्साहजनक साथ पाएको छ।

पर्थबाट सुरु भएको ब्यान्डको अस्ट्रेलिया टुरअन्तर्गत क्यानबेरा हुँदै आइतबार ब्रिसबेनमा कन्सर्ट सम्पन्न भएको हो। क्यानबेराको कार्यक्रममा १ हजार ५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए।

पर्थ, क्यानबेरा र ब्रिसबेनमा १९७४ एडीको यो तेस्रो कन्सर्ट हो।

क्यानबेराको प्रस्तुति ‘तिमीलाई पिरतीले बाँधौला’ गीतबाट सुरु भएको थियो। त्यसपछि ब्यान्डले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए। जसमा दर्शकले पनि गीतसँगै गाएर साथ दिएका थिए।

कन्सर्टमा दर्शकको प्रतिक्रिया र नेपाली गीत(संगीतप्रतिको माया देख्दा आफूहरू भावुक भएको ब्यान्डका सदस्य मनोजकुमार केसीले बताए।

‘हामी गीत गाउन मात्रै स्टेजमा पुगेका थिएनौं, दर्शकसँग जोडिन पुगेका थियौं। उनीहरू गीतसँगै गाइरहेको, रमाएको र केही गीतमा भावुक भइरहेको देख्दा हामी पनि भावुक भयौं,’ उनले भने, ‘अस्ट्रेलियाको हरेक सहरमा नेपाली संगीतप्रतिको माया देख्दा निकै खुसी लागेको छ।’

ब्यान्ड सदस्य मनोज सिंहले पनि अस्ट्रेलियाका विभिन्न सहरमा दर्शकको निरन्तर साथले ब्यान्ड र नेपाली संगीतबीचको सम्बन्ध बलियो रहेछ भन्ने दर्साएको बताए।

‘हामीले कन्सर्टको अपेक्षा गरेका थियौं, तर दर्शकले त्यसलाई उत्सवमा बदलिदिनुभयो। सहर फेरिए पनि दर्शकको माया उस्तै छ,’ उनले भने, ‘१९७४ एडीका गीतसँगै हुर्किएको पुस्तादेखि नयाँ पुस्तासम्म एउटै ठाउँमा उभिएर नेपाली गीत गाएको दृश्य नै हाम्रो यात्राको सबैभन्दा ठूलो उपलब्धि हो।’

दर्शकहरूबाट अपेक्षा गरेभन्दा धेरै माया र राम्रो प्रतिक्रिया पाएको ब्यान्डका सदस्य सञ्जय श्रेष्ठले बताए।

‘पर्थमा हाम्रो पहिलो शो थियो जुन अपेक्षा गरेभन्दा पनि निकै राम्रो भयो। दुई वर्षपछि आएर नेपालीगीत(संगीतमा झुम्माउन पाउँदा एकदमै खुसी लाग्यो,’ उनले भने, ‘विदेशमा रहेर पनि नेपाली संगीतलाई यति धेरै माया र साथ दिनुभएको देख्दा हर्षित हुन्छु।’

ब्यान्डका म्यानेजर अनुज कार्कीले अस्ट्रेलियामा लामो समयपछि ‘रक यात्रा’ मार्फत १९७४ एडीलाई दर्शकमाझ प्रस्तुत गर्न पाउनु ब्यान्डका लागि विशेष अनुभव बनेको छ।

‘ब्यान्डले स्टेजमा गीत प्रस्तुत गरिरहेको हुन्छ, तर त्यहाँबाट फर्किंदा दर्शकले दिएको ऊर्जा लिएर फर्किएका छौं,’ उनले भने,ुअस्ट्रेलियाका हरेक सहरमा त्यो ऊर्जा झन् बलियो हुँदै गएको छ।’

हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका छन्।

ब्यान्डले न्युक्यासलमा सेप्टेम्बर ३०, सिड्नीमा अक्टोबर ३, मेलबर्नमा अक्टोबर ५ र एडिलेडमा अक्टोबर ८ मा सांगीतिक प्रस्तुति दिने तालिका छ। ‘रोटेपिङ’ को सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदैछ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *