सजना तिमल्सिना/रासस
ललितपुर, २८ भदौ। काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख मार्ग पृथ्वी राजमार्ग अवरुद्ध भएपछि अहिले कान्ति लोकपथमा मालवाहक सवारीसाधनको चाप बढेको छ।
हेटौँडाबाट मालवाहक तथा यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र काठमाडौँबाट खाली मालवाहक सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौँडा जाने व्यवस्था गरिएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा १४ भदौमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध छ। वैकल्पिक मार्ग खुले पनि यातायात सहज हुन अझै समय लाग्ने देखिन्छ। यही सङ्कटमा कान्ति लोकपथ वैकल्पिक मार्ग बनेको छ।
ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको प्रस्थानबिन्दु ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरव हो। टीकाभैरव पुग्न चक्रपथको ललितपुर खण्डस्थित चापागाउँ दोबाटो वा एकान्तकुनाबाट नक्खु करिडोर हुँदै जान सकिन्छ। अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधन एकान्तकुना हुँदै टीकाभैरव पुगेर कान्ति लोकपथबाट हेटौँडा जाने गरेका छन्।
तर यो मार्ग सहज छैन।
टीकाभैरवदेखि मकवानपुरको भीमफेदीसम्म विभिन्न स्थानमा पहिरो र साँघुरो सडकका कारण सवारी आवागमनमा समस्या छ। कान्ति लोकपथ योजनाका सुपरभाइजर माधवप्रसाद घिमिरेका अनुसार गोदावरी गाउँपालिकाको बिर्खेधारासँगै बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरोले पटकपटक सडक अवरुद्ध गर्दै आएको छ।
भालुखोला, कार्कीबास, काल्चे र भन्सेखोलामा पहिरो तथा एकतर्फी सडकका कारण सवारी आवागमन कठिन हुने गरेको छ।
“बागमती गाउँपालिका–३ का भालुखोला, कार्कीबास, छपेलीनजिकैको काल्चे पहिरो, टाकुर्से र पाङ्दुर यो सडकका प्रमुख अवरोध हुन्,” घिमिरेले भने, “भान्सेखोलामा एकतर्फी सडक भएकाले ठूला सवारीसाधन केही समय लाइनमा बस्नुपर्ने बाध्यता छ।”
बागमती गाउँपालिकाकै पाङ्दुरमा ८०० मिटर सडक पार गर्न २५ मिनेटदेखि आधा घण्टासम्म लाग्ने गरेको छ।
“अहिले यस सडकमा १२, १४ र १६ चक्के गाडी दैनिक २ हजार ५०० देखि ३ हजारसम्म गुड्छन्,” घिमिरेले भने, “रातभर मर्मत गरेको सडक दिनभरिमा फेरि भत्किसकेको हुन्छ।”
बागमती गाउँपालिकाको तामाखानीमा चट्टान काट्न नसक्दा करिब ६५ मिटर सडकमा समस्या छ। चट्टान कटानको काम जारी रहेकाले थोरै दूरी पार गर्न पनि सवारीसाधनले लामो समय कुर्नुपर्ने अवस्था रहेको घिमिरे बताउँछन्।
सडक साँघुरो र निर्माणाधीन भएकाले ठूला बस सञ्चालनमा थप समस्या हुने गरेको छ।
“ट्रक र मालवाहक सवारी केही समय जाममा परे पनि व्यवस्थापन गर्न सकिन्छ, तर ठूला रात्रिबस ठोक्किने समस्या धेरै छ,” उनले भने, “नियमित पहिरो जाने क्षेत्रबाहेक सडक राम्रो भए पनि धेरै ठाउँमा एकतर्फी भएकाले जाममा बस्नुपर्छ। रात्रिबसका कारण मालवाहक सवारीसाधनलाई थप समस्या पर्ने गरेको छ।”
घिमिरेको अनुभवमा पृथ्वी राजमार्ग अवरुद्ध भएर काठमाडौँ उपत्यकाको आवागमन प्रभावित हुँदा मात्रै सरकारले कान्ति लोकपथलाई बढी प्राथमिकता दिने गरेको छ।
“यो सडक योजनामा सुपरभाइजर भएर काम गरेको ११ वर्ष भयो। सरकारले आपत् वा सङ्कटमा मात्रै यो सडक सम्झिन्छ,” उनले भने, “पछिल्लो समय सडक योजनाका लागि एकमुष्ट रु ३ अर्ब आएको छ। योजनाअनुसार ७० प्रतिशत काम सकिएको छ, तर अहिले सवारी चाप बढेकाले काम गर्न समस्या भइरहेको छ।”
चौबिसै घण्टा ट्राफिक व्यवस्थापन, व्यापारमा मन्दी
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लोकपथमा अवरोध भए तत्काल पन्छाउन चौबिसै घण्टा भारी उपकरण तयारी अवस्थामा राखिएको छ।
भट्टेडाँडा र टीकाभैरवमा भारी उपकरण राखिएको उनले बताए। सवारी चाप बढेसँगै टाखेल, ट्याक्सीपार्क, ढोलाहिटी, टीकाभैरव फूलबारी, टीकाभैरव बजार, तीनपाने र भट्टेडाँडामा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
“१० भदौमा भोटेकोशीमा बाढी आउनुअघि दैनिक करिब १०० सवारीसाधन गुड्ने यो सडकमा त्यसपछि चाप ह्वात्तै बढेको छ,” सुवेदीले भने, “एकै दिन १ हजारदेखि १ हजार ५०० सम्म सवारीसाधन गुडेको तथ्याङ्क छ।”
मालवाहक सवारीको चाप बढे पनि सडक आसपासको व्यापार भने घटेको स्थानीय व्यवसायी बताउँछन्।
कान्ति लोकपथअन्तर्गत छपेलीमा होटल व्यवसाय गर्दै आएकी प्रमिला दाहालका अनुसार अहिले सडकमा अधिकांश खाली मालवाहक सवारी गुड्ने भएकाले होटलको व्यापार घटेको छ।
“अहिले यो बाटोमा सबैजसो खाली गाडी गुड्छन्। ठूलाठूला गाडी त गुडेका छन्, तर व्यापार छैन,” उनले भनिन्, “एकछिन गाडी रोक्यो भने जाम हुन्छ। एउटा गाडीमा चालक मात्रै हुन्छ। के व्यापार हुनु!”
यात्रु बोकेका साना सवारीसाधन बढी चल्दा दैनिक करिब २०० जनालाई खाना खुवाउने गरेकोमा अहिले पाँचदेखि १० जनाले मात्रै खाना खाने गरेको उनले बताइन्।
ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जनले पनि सरकारले कान्ति लोकपथलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै केही दिनअघि प्रतिनिधिसभामा प्रश्न उठाएका थिए।
प्रतिनिधिसभाको शून्य समयमा उनले सङ्कट पर्दा मात्रै नभई सामान्य अवस्थामै यस्ता राजमार्गलाई सक्षम र सुरक्षित बनाउनुपर्ने बताएका थिए।
“राष्ट्रिय राजमार्गका रूपमा रहेको यस सडकलाई राज्यले सामान्य अवस्थामा पर्याप्त प्राथमिकता दिएको देखिँदैन,” महर्जनले भने, “जब विपत्ति आउँछ र मुख्य सडक अवरुद्ध हुन्छ, तब यही सडकलाई वैकल्पिक मार्गका रूपमा खोल्नुपर्ने अवस्था आउँछ। सङ्कट पर्दा मात्रै सम्झिने होइन, सङ्कट आउनुअघि नै यस्ता मार्गलाई सक्षम र सुरक्षित बनाउनु राज्यको दायित्व हो।”
सात दशक पुरानो सडक
ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ काठमाडौँ उपत्यकालाई हेटौँडासँग जोड्ने करिब सात दशक पुरानो सडक हो।
२०१३ सालदेखि निर्माण सुरु भएको सडक ९ माघ २०१४ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए। ट्र्याक खुलेपछि २०१६ सालमा राजा महेन्द्र यही मार्ग हुँदै गाडी चलाएर हेटौँडा पुगेका थिए।
सोही वर्ष आएको पहिरोपछि भने सडक करिब ४० वर्ष पूर्ण रूपमा ठप्प भयो।
२०५५ सालमा कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने प्रस्ताव अघि बढाएको थियो। त्यसपछि २०५६ सालदेखि विस्तृत आयोजना प्रतिवेदन र डिजाइनको काम सुरु भयो।
काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक राजमार्गका रूपमा २०६६ सालदेखि ‘कान्ति लोकपथ आयोजना’मार्फत सडकको पुनःनिर्माण, विस्तार र स्तरोन्नति अघि बढाइएको हो।
सञ्चालनमा आएपछि पनि विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध गर्ने क्रम रोकिएको छैन। सडक विस्तार र स्तरोन्नतिका लागि विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन हुँदै आएको छ।
कान्ति लोकपथको ५१ किलोमिटर भाग मकवानपुर र ३८ किलोमिटर ललितपुरमा पर्छ। कुल ८९ किलोमिटर सडकमध्ये अधिकांश कालोपत्र भए पनि पहिरो र पहाड कटान भइरहेको विभिन्न खण्ड गरी करिब चार किलोमिटर सडक अझै कच्ची छ।
२०८१ सालको बाढीले बागमती खोलाको पुल बगाएपछि त्यहाँ बेलिब्रिज जडान गरिएको छ। पुलको भारवहन क्षमता र सुरक्षालाई ध्यानमा राखेर अहिले यो मार्गमा खाली मालवाहक सवारीसाधनलाई मात्रै सञ्चालन अनुमति दिइएको छ।




