Logo

११ असार २०८३, बुधबार

‘नेपाल फ्रेन्डसिप काउन्सिल’बारे डा. नव राज रोस्यारासँग एक छलफल

एनआरएन दोस्रो पुस्ताका लागि नयाँ समाज निर्माणको प्रस्तावना

गैरआवासीय नेपाली संघ, जसलाई हामी एनआरएनए भनेर चिन्छौं, यसको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ । यसै अवसरमा विभिन्न देशबाट विभिन्न विचार र अनुभवसहित गैरआवासीय नेपालीहरू नेपालको संघीय राजधानीमा भेला भएका छन् ।

यो हो– दसैं–तिहारजस्ता मुख्य नेपाली चाडपर्वको मौसम, यस्तै बेला त हो मातृभूमिको बढी सम्झना आउने । यस्तो बेला मातृभूमिमा हुनुको उत्साह त छँदैछ, सतासी देशमा संगठन फैलिएको एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको चुनावका कारण पनि नेपाल आएका गैरआवासीय नेपाली प्रतिनिधिमा अर्को तहको उर्जा देखिन्छ । यही माहोलमा छन् जर्मनीबाट आएका डा. नव राज रोस्यारा, जो कार्तिक २ गते हुने निर्वाचनमा सचिव पदका दाबेदार हुन् ।

चुनावी माहोलको नेपाली चरित्र हो– दौडधूप र चलखेल । त्यो यहाँ पनि हुने भइ नै हाल्यो । तर, रोस्यारा भने दौडधूप र चलखेलभन्दा पर पनि केही पकाइरहेका छन्, जसबारे धेरै चर्चा भएको छैन । र, जसबारे चर्चा हुनु भने उनकै भाषामा आब अनिवार्य भइसकेका छ । किन त ?

नेपालकै लागि केही गरौं’ भन्ने भावनाको धागोले जोडिएको एनआरएनएमा नारा दोहोरिरहन्छ, ‘नेपालका लागि नेपाली’ । भावना पनि उही छ, माग पनि, ‘एकपटकको नेपाली, सधैँका लागि नेपाली’ ।

जवाफ खोज्नुअघि एनआरएनए महाधिवेशनका लागि काठमाडौं झरेका अनुहारको सरसर्ती अनुगमन गरौं । जहाँ अधिकांश छन्– नेपालबाट परिस्थितिवश विदेशिएका व्यक्ति । त्यताको अवसरको चमकले तानिएर होस् या यताको अनिश्चित आर्थिक भविष्यले लखेटिएर वा अन्य कारण, उनीहरू विदेशिए । तीमध्ये अधिकांश नेपालमै केही गरौं भन्ने सोचका व्यक्ति छन् ।

नव राज यसलाई यसरी चित्रण गर्छन्, ‘धेरै व्यक्ति नेपालमा सामाजिक सेवामा सक्रिय हुनुहुन्थ्यो । कति त राजनीतिमा पनि हुनुहुन्थ्यो । तर, हरेकको जीवनमा कुनै न कुनै यस्तो मोड आयो, जसले उहाँहरूलाई विदेश जान बाध्य बनायो वा उत्प्रेरित गर्यो । कतिपय विद्यार्थीको रूपमा विदेशिनुभयो, कतिपय काम गर्नका लागि । अमेरिकाका सन्दर्भमा डिभी र अन्य देशका सन्दर्भमा विभिन्न प्रकारका भिसाले पनि त्यसलाई सघायो ।’

हो, त्यस्ता व्यक्तिहरूबाटै गैरआवासीय नेपाली संघ (एनआरएनए) जन्मियो । त्यो बीस वर्षको भइसकेको छ । र, ‘नेपालकै लागि केही गरौं’ भन्ने भावनाको धागोले जोडिएको त्यो संस्थामा नारा दोहोरिरहन्छ, ‘नेपालका लागि नेपाली’ । भावना पनि उही छ, माग पनि, ‘एकपटकको नेपाली, सधैँका लागि नेपाली’ ।

मातृभूमिका लागि केही गर्नुपर्ने जिम्मेवारी हाम्रो जीवनको हिस्सा बनिसक्यो । तर, हामीले विदेशमा जन्माएर हुर्काइरहेका सन्तानका लागि पनि त केही गर्नुपर्छ । त्यो पाटो भने कतै छुटिरहेको छजस्तो लाग्छ ।

एनआरएनएमा नेपाली चरित्रकै राजनीति हुन्छ, गुटफुट हुन्छ, लडझगड पनि हुन्छ, तर अन्तर्यमा फेरि पनि भावना उही छँदैछ, ‘नेपालकै लागि केही गरौं’ । एनआरएनए महाअधिवेशनको सन्दर्भमा हुने विविध प्रकारका सम्मेलन यसैवरिपरि घुमिरहेको छ । तर, त्यहाँबाट अलिक बाहिर निस्किएपछिमात्रै नव राज रोस्याराको कुरा सुरु हुन्छ ।

उनी भन्छन्, ‘यो त भइरहन्छ, भइरहेकै छ । मातृभूमिका लागि केही गर्नुपर्ने जिम्मेवारी हाम्रो जीवनको हिस्सा बनिसक्यो । तर, हामीले विदेशमा जन्माएर हुर्काइरहेका सन्तानका लागि पनि त केही गर्नुपर्छ । त्यो पाटो भने कतै छुटिरहेको छजस्तो लाग्छ ।’

अवसरकै खोजीमा पुगेको देशमा अवसरको कमी त छैन । शैक्षिक वा आर्थिक अवसरका लागि अघिल्लो पुस्ताले गरेको संघर्षले पछिल्लो पुस्तालाई बलियो आधार दिएकै छ । रोस्याराको चिन्तनचाहिँ विदेशमा हुर्किरहेको नेपाली मूलको पछिल्लो पुस्तालाई नेपालसँग जोडिरहनेमा केन्द्रित छ ।

विदेशमा हुर्किरहेको पुस्ताको समाजलाई नव राज ‘नयाँ समाज’ भन्छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा यो समाजमा नेपालीको रगत र विदेशी पर्यावरण अन्तर्घुलित छ ।

यो पुस्तालाई नेपालमा जोड्नुका केही जटिलता छन् । यसको बाआमा नेपाली हुन्, तर उनीहरू नेपाली होइनन् । उनीहरूमध्ये कतिपय नेपालमा जन्मे पनि विदेशमै हुर्किएका छन्, कति त उतै जन्मेका छन् । कानुनी आधारमा उनीहरू त्यही देशका नागरिक हुन् । उनीहरूको पालनपोषणमा बाआमा नेपाली हुनुको बाछिटाबाहेक सबै कुरा त्यही देशको प्रभाव छ । उनीहरूको हुर्काइ र सोच्ने तरिका पनि त्यतैको छ । उनीहरूका दामली साथी त्यही देशका नागरिक छन् ।

रोस्याराको आफ्नो चिन्तनको केन्द्रीय पेटारो खोल्छन्, ‘हो, अब मिहिनेतचाहिँ त्यो पुस्तालाई नेपालसँग जोड्नका लागि गर्नुपर्नेछ । हामी त उसै पनि नेपालसँग नजोडिइकन बस्नै सक्दैनौं नि ।’

विदेशमा हुर्किरहेको यो पुस्ताको समाजलाई नव राज ‘नयाँ समाज’ भन्छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा यो समाजमा नेपालीको रगत र विदेशी पर्यावरण अन्तर्घुलित छ । आनुवंशिक गुण नेपाली प्रवाह भइरहेको छ भने पर्यावरणीय गुण सम्बन्धित देशको विकास भइरहेको छ । उनीहरूलाई नेपालसँग जोड्न नेपाली मूलका नयाँ पुस्तामात्रै अट्ने संस्थामार्फत सम्भव हुँदैन भन्ने उनको निष्कर्ष हो ।

गैरआवासीय नेपाली संघमा नेपालका लागि केही गरौं भन्ने व्यक्तिहरू हुनुहुन्छ । यो एकदमै सकारात्मक र भावनात्मक कुरा हो । तर, तपाईं अवसरको खोजीमा जहाँ पुग्नुभएको छ, त्यहाँको समुदायलाई पनि त सहयोग गर्नुपर्यो नि ।

उनी यसरी बुझाउन सुरु गर्छन्, ‘त्यसका लागि उनीहरूका साथी अर्थात विदेशीलाई पनि समेट्न सक्ने संस्था चाहिन्छ । किनकि गाँस छोड्नु तर साथ नछोड्नु भन्ने उखान त त्यहाँ पनि लागू हुन्छ । उनीहरू बाआमामात्रै भएको संस्थामा कसरी आउन सक्छन् ? उनीहरूलाई ल्याउन त उनीहरूका साथीलाई पनि ल्याउनुपर्यो नि । मैले परिकल्पना गरेको संस्था त्यस्तो प्रकृतिको हो, जहाँ नेपाली मूलका विदेशी र सोही देशमा बसिरहेकाहरू एकैठाउँ समेटिनेछन् ।’

संस्थाको नाम उनले सोचेका छन्– नेपाल फ्रेन्डसिप काउन्सिल । जसको नेतृत्व नेपाली मूलका विदेशीले गर्छन् भने अहिलेको गैरआवासीय नेपाली पुस्ताले र संस्थागत रूपमा गैरआवासीय नेपाली संघले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ भन्ने रोस्याराको प्रस्तावना छ ।

‘गैरआवासीय नेपाली संघमा नेपालका लागि केही गरौं भन्ने व्यक्तिहरू हुनुहुन्छ । यो एकदमै सकारात्मक र भावनात्मक कुरा हो । तर, तपाईं अवसरको खोजीमा जहाँ पुग्नुभएको छ, त्यहाँको समुदायलाई पनि त सहयोग गर्नुपर्यो नि । किनकि तपाईंले आफ्ना सन्तान त त्यहाँ हुर्काइरहनुभएको हुन्छ । त्यहाँ आफ्नो स्थान निर्माण गर्नुपर्यो । त्यो समुदाय अगाडि बढ्यो भने न नेपालमा सहयोग गर्न सक्ने बन्छौं । हामीले हुर्कारहेको पुस्ताले पनि त्यसलाई पछ्याउन सक्छ । नत्र भावनात्मक डाँकोमात्रै ठुलो हुन्छ’, प्रस्तावनाको व्याख्यामा उनले भने ।

उनी अगाडि भन्छन्, ‘हामी जहाँ बस्यो, त्यहाँ नेपाली–नेपाली मात्रै जम्मा भएर नयाँ सोचको विकास हुँदैन । त्यसमा पनि मुख्य चिन्तन त हाम्रा सन्ततिको समाज कस्तो हुने भन्नेमा केन्द्रित हुनुपर्ने भइसक्यो । हाम्रो ती सन्तति न त नेपाली हुन्, न त विदेशी नै हुन सकेका छन् । नेपाली भनौं भने नेपालीसँग कुरा मिल्दैन, विदेशी भनौं भने आफ्नो घरबाट नेपाली चरित्र नै सिकाइएको हुन्छ । हो, अब हाम्रो भूमिका उनीहरूलाई नेपाली र विदेशी दुइटै समाजको सम्मिश्रणबाट बन्ने समाज निर्माण गरिदिनु हो ।’

नव राजको परिकल्पनाअनुसार त्यसरी बन्ने समाजको दायरा अझ फराकिलो हुन्छ । उनको व्याख्या यस्तो छ, ‘अब नेपालीले मात्रै नेपालको विकासमा सहयोग गर्ने भन्ने धारणाबाट माथि उठ्नुपर्छ । किनकि यो सोचको दायरा आपतकालीन राहतको सन्दर्भमा मात्रै बढी उपयुक्त देखिन्छ । दीर्घकालीन हिसाबले हेर्ने हो भने त नेपाललाई फराकिलो अंकगणितसहितको तर सामरिक स्वार्थविहीन लगानीको जरुरत छ । त्यस्तो लगानी गर्ने क्षमता त सीमित नेपालीको मात्रै छ । त्यो क्षमताचाहिँ विदेशी साथीहरूसँग छ । सहयोगकै मामिलामा पनि ती विदेशी साथीले नेपालीले भन्दा बढी सहयोग गर्न सक्छन् ।’ त्यसलाई जोड्ने विश्वासिलो संस्थागत कडी ‘नेपाल फ्रेन्डसिप काउन्सिल’ बन्नेछ भन्ने उनको निष्कर्ष छ ।

नव राजको अनुभवले भन्छ– नेपाललाई माया गर्ने मान्छे विदेशमा कति छन् कति ! ‘नेपालीसँग भेटेपछि, एकचोटि नेपाल गएपछि सहयोग गरौं, लगानी नै गरौं भन्ने धेरै छन् । तर तिनीहरूसँग हाम्रो सहकार्य गर्ने आधार नै भएन । जहाँ जान्छौं, हामी नेपाली नेपालीमात्रै भएर बस्यौं । संघसंस्था बनायौं । आफैंबीच चुनाव गर्यौं, त्यसैमा दौडधूप गर्न थाल्यौं,’ उनी यसलाई तितो अनुभवका रूपमा सुनाउँछन् ।

अब त विदेशमा हाम्रो अन्तरघुलन कसरी हुन्छ सोच्नुपर्यो । विशेषगरि छोराछोरीलाई विदेशीबाट कसरी धेरै कुरा सिकाउने, अनि छोराछोरीमार्फत विदेशीलाई हाम्रो कुरा कसरी सिकाउने भन्ने सोच्नुपर्यो ।

हुन त, सरकारले पनि गैरआवासीय नेपाली भनेको यस्ता–यस्ता प्रकृतिका हुन् भनेर तोकिदिएको छ । गैरआवासीय नेपाली संघजस्ता संस्था त्यस्तै प्रकृतिका नेपाली समेट्ने उद्देश्यसाथ गठन भएको हो । यो सापेक्षिक हिसाबले महत्वपूर्ण पनि छ । अब भने हुर्किरहेको नयाँ पुस्ताका लागि उपयुक्त संरचनासहितको संस्था परिकल्पना गर्न ढिला गर्न नहुने उनको तर्क छ ।

‘अब त विदेशमा हाम्रो अन्तरघुलन कसरी हुन्छ सोच्नुपर्यो । विशेषगरि छोराछोरीलाई विदेशीबाट कसरी धेरै कुरा सिकाउने, अनि छोराछोरीमार्फत विदेशीलाई हाम्रो कुरा कसरी सिकाउने भन्ने सोच्नुपर्यो । हामीले त्यसमा सचेत प्रयत्न गर्यौं भने स्वतः त्यहाँ हाम्रो सोचअनुसारको नयाँ समाज बन्छ । जहाँ हाम्रा छोराछोरी पनि रमाउन सक्छन्, त्यहाँ नेपालीत्वको बीउ पनि जगाउन सक्छौं’, उनले विस्तारमा बताए ।

उनलाई लाग्छ– त्यसो भयो भने हामी कुटनीतिक रूपमा पनि धेरै काम गर्न सक्छौं । विदेशीसँग निरन्तर अन्तरक्रिया हुन्छ । उनीहरूले हामी नेपालमा के गर्न खोजिरहेका छौं भन्ने थाहा पाउँछन् । उनीहरूलाई ‘तिमीहरूले के गर्न सक्छौं त’ भनेर सोध्ने आधिकारिक मञ्च निर्माण हुन्छ । विदेशी पर्यटकदेखि लगानीसम्म भित्र्याउने वातावरण बन्न सक्छ । यसरी सोच्न थालियो भने विदेशिनेको लर्को देखेर भावुक हुनुपर्ने अवस्थाको समेत अन्त्य हुने उनको बुझाइ छ ।

हाम्रो सहयोगी भावनाको पूर्वीय स्वभाव नयाँ पुस्तामा पनि सरिरहेकै देख्छु । दुःख परेको हेरेर बस्ने वा बेवास्ता गर्ने स्वभाव नयाँ पुस्तामा पनि छैन ।

नव राजको निष्कर्ष छ, ‘हामीले त्यहाँको समाजमा अन्तरघुलन हुनका निम्ति संस्थामार्फत सचेत प्रयत्न गर्यौं भने छिटै स्थापित हुन्छौं, छिटो–छिटो माथिल्ला तहमा पुग्छौं । हाम्रो आर्थिकमात्रै नभइकन सामाजिक–सांस्कृतिक सत्ता पनि निर्माण हुन्छ । नत्र भने नेपाल–नेपालको रटानचाहिँ लगाइरहौंला, परिणाममा केही प्रगति देखिँदैन । उही दसैंतिहार मनाउँछौं । विदेशमा हाम्रा चाडपर्व मनाउन पनि सकस नै हुन्छ, त्यो सकसलाई सहज बनाउँदा–बनाउँदै अरू कामचाहिँ गर्न सक्दैनौं ।’

अब अलिकति कुरा गरौं, विदेशमा कस्तो पुस्ता हुर्काइरहेका छन् त नेपालीहरूले भन्नेबारे । ‘हाम्रो सहयोगी भावनाको पूर्वीय स्वभाव नयाँ पुस्तामा पनि सरिरहेकै देख्छु । दुःख परेको हेरेर बस्ने वा बेवास्ता गर्ने स्वभाव नयाँ पुस्तामा पनि छैन । भाषामा कमजोर भए पनि परिवार नेपाली संस्कृतिअनुसारकै चल्ने हुँदा सांस्कृतिक मान्यता पनि नयाँ पुस्तामा प्रवाह भइरहेकै छ’, नव राजले अनुभवसहित सुनाए ।

उनको अध्ययनले भन्छ– आप्रवासीहरूको सन्दर्भमा दोस्रो पुस्ता आफ्नो मूलभूमि, भाषा वा संस्कृतिबारे त्यति धेरै सचेत देखिँदो रहेनछ । उनी सुनाउँछन्, ‘आमाबाबुले नै त्यसलाई कुनै स्वरूपमा जीवित राख्न प्रयत्न गर्ने हुँदा मूलदेशको संस्कृतिसहितका आमाबाबुसँग हुने दोस्रो पुस्तामा त्यो खालको उत्तरदायित्वबोध स्वभाविक रूपमा कम देखिने रहेछ । तेस्रो पुस्तामा फेरि आफ्नो जरा खोज्ने उत्कण्ठा सुरु हुँदोरहेछ । आफ्नो मूलभूमि, भाषा वा संस्कृतिको जरा जोडिएकासँग संगठित हुने, जीवनसाथी नै छनोट गर्दा पनि त्यस्ता कुरालाई प्राथमिकता राख्ने हुँदारहेछन् । कतिपय सन्दर्भमा त आप्रवासीमाथि हुने विभेदको नकारात्मकताले पनि उनीहरूलाई एकैठाउँमा हुनलाई सकारात्मक दबाव पैदा गर्दोरहेछ । त्यसैले, हामीले अहिलेदेखि नै सचेत रूपमा त्यो पुस्तालाई असहज नहुने समाज निर्माण गरिदिनुपर्छ, उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्छ ।’

धेरैलाई सोधेँ– किन नेपाल छोड्नुभयो त्यति राम्रो हुँदाहुँदै भनेर । धेरैको जवाफ थियो– सन्तानको भविष्यका लागि । उहाँहरूले सन्तानको भविष्यका लागि नेपाल त छोड्नुभयो, तर समयचाहिँ भनेजति दिन सक्नुभएन ।

विदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई हेरेर चिन्ता लाग्नु स्वभाविक हो– अवसरको खोजीमा वा सन्तानकै भविष्यका लागि विदेश त आइयो, तर उनीहरूले चाहिँ नेपाल नै भुल्ने हो कि भनेर । त्यसमा पहिलो पुस्ताका केही बाध्यात्मक कमजोरी छन्, कतिपयचाहिँ नयाँ समाज निर्माणको प्रक्रियामा हुने स्वाभाविक चरित्र पनि ।

आर्थिक भविष्य र गुणस्तरीय जीवनका हिसाबले राम्रो मानिएका देशमा पुगेको नेपाली आप्रवासीबारे अध्ययन गर्ने हो भने धेरैजसो नेपालमा राम्रो हैसियत भएका, ‘हाइ स्किल्ड म्यानपावर’ नै छन् । नव राज यो प्रसंगलाई सविस्तार व्याख्या गर्छन्, ‘मैले उहाँहरू धेरैलाई सोधेँ– किन नेपाल छोड्नुभयो त्यति राम्रो हुँदाहुँदै भनेर । धेरैको जवाफ थियो– सन्तानको भविष्यका लागि । उहाँहरूले सन्तानको भविष्यका लागि नेपाल त छोड्नुभयो, तर समयचाहिँ भनेजति दिन सक्नुभएन । त्यसको कारण हो– नेपालमा जति राम्रो जनशक्ति भएपनि विदेशिएपछि सोही देशको प्रणालीमा समायोजन हुन थप शिक्षा वा शील्पको आवश्यकता रहन्छ । त्यसको अभावमा वा त्यो हासिल गर्ने क्रममा धेरै समय दिनुपर्ने, साधारण प्रकृतिका र कतिपय त जोखिमपूर्ण कामहरू गर्नुपर्ने भयो जीवन अघि बढाउन पनि । त्यो संघर्षको घडीमा सन्तानलाई दिनुपर्ने समय भने कम हुने भयो । त्यसैकारण दोस्रो पुस्तामा पुग्दो नेपाल भरिदिन सक्नुभएन । अनि, यस्तो चिन्ताले ठाउँ पाएको छ ।’

हामीले आफ्ना सन्तानभित्र नेपाल बचाइरहने पहिलो माध्यम हो भाषा । अधिकांश देश, अझ युरोपियन देशहरूमा त हाम्रो भाषा सिकाउन सजिलो छ । त्यहाँ अल्पसंख्यक भाषालाई प्राथमिकता दिइन्छ ।

त्यो चिन्तालाई हल गर्न पनि आफूले काउन्सिलको अवधारणा अघि सारेको नव राजको कथन छ । किनकि अधिकजसो विकसित देशमा आप्रवासीको भाषा र संस्कृतिलाई अल्पसंख्यक भाषा र संस्कृतिको रूपमा संरक्षण एवं विकास गर्ने नीति हुन्छ । त्यो नीति नबुझ्दा वा त्यसको उपयोग गर्ने तौरतरिकाबारे पर्याप्त ज्ञान नहुँदा त्यस्ता सुविधाबाट गैरआवासीय नेपालीहरू बञ्चित भइरहेको उनको अनुभव छ ।

उनी उदाहरणसहित व्याख्या गर्छन्, ‘जस्तो, हामीले आफ्ना सन्तानभित्र नेपाल बचाइरहने पहिलो माध्यम हो भाषा । अधिकांश देश, अझ युरोपियन देशहरूमा त हाम्रो भाषा सिकाउन सजिलो छ । त्यहाँ अल्पसंख्यक भाषालाई प्राथमिकता दिइन्छ । तीनवटा भाषा पढ्नुपर्छ, एउटा देशको भाषा, अर्को अंग्रेजी र अर्कोचाहिँ आफूले छनोट गर्न पाइन्छ । प्राइभेट रूपमा पढेर मैले यो भाषा पढेको छु भन्न पनि पाइन्छ । त्यस्तो सन्दर्भमा नेपालीलाई सामुदायिक रूपमा अध्यापन गराउने र अल्पसंख्यकहरूको भाषाको रूपमा विकास गराउन सकिने सम्भावना प्रशस्त रहन्छ ।’

तर, भाषाकै सन्दर्भमा पनि अधिकांश गैरआवासीय नेपालीले गल्ती गर्ने गरेको नव राजको बुझाइ छ । त्यो गल्ती हो– त्यहाँको भाषाप्रति देखाउने अतिरिक्त मोह ।

‘हामी त्यहाँकै भाषा सिकेमात्र सजिलो हुन्छ भनेर आफू पनि सकिनसकी बोल्छौं । तर, जति प्रयास गरे पनि हुने त ब्रोकन नै हो । आफ्नो भाषा ब्रोकन भएपछि बच्चाले पनि त्यस्तै सिकिरहेको हुन्छ । यसरी भाषाको गलत इन्जिनियरिङ सुरु हुन्छ अनि बच्चा स्कुलमा पनि कमजोर हुन थाल्छ’, उनी सुझावसहित भन्छन्, ‘त्यसको साटो घरमा चाहिँ नेपाली भाषा नै राम्ररी सिकाउनु पर्ने हो । त्यहाँको भाषा त उनीहरूले स्कूलमा त्यहीँको इन्जिनियरिङसहित सिक्छन् । अनि, आफ््नो भाषामा बोल्दा हुने अर्को फाइदा भनेको बच्चालाई उचित ढंगले माया दर्शाउन सकिन्छ । किनकि अरूको भाषामा मातृभाषामा जस्तो भावनात्मक प्रवाह हुन सक्दैन । यस्ता कुरामा सबै सचेत हुनु जरुरी देख्छु ।’

यी त केही उदाहरण भए, विदेशमा बनिरहेको नेपाली मूलको नयाँ समाजको यस्ता अनेकन् विशेषता छन्, जसमा जटिलताको जालो र सम्भावनाको उज्यालो उत्तिकै मात्रामा छ । सम्भावनाको उज्यालो पक्रिएर जटिलताको जालो हटाउँदै जानुपर्ने दायित्वकै कारण ‘नेपाल फ्रेन्डसिप काउन्सिल’को परिकल्पना भएको नव राज दोहोर्‍याउँछन् । जसबारे उनी केही वर्षदेखि एनआरएनएभित्र बहस चलाउन खोजिरहेका छन् । विस्तृत अवधारणा पनि सार्वजनिक गरिरहेका छन् । (पढ्नुहोस् अवधारणाबारे प्रश्नोत्तर)

एनआरएनएमा नयाँ सोचले तीव्र गतिमा दौडाइरहेको विश्वको चरित्रसँग परिचित व्यक्तिहरू छन् । त्यसैले ढिलाचाँडो नयाँ विचारको स्वीकार्यतामात्रै होइन, अपरिहार्यता बढ्नेमा उनी आशावादी छन् ।

तर, उनको अवधारणाले सोचेजति बहसको ‘स्पेस’ पाइरहेको छैन । त्यसो हुन नसक्नुमा कुनै व्यक्तिको भन्दा पनि सोच संस्कृतिकै भूमिका देख्छन् । नेपाली सोचको सांस्कृतिक आयाम नै नयाँ विचारलाई हत्तपत्त स्वीकार्न नसक्नु हो कि भन्ने उनलाई लाग्छ । त्यसको उदाहरणको रूपमा उनी नेपालका राजनीतिक दलहरूलाई देखाउँछन् । व्यवस्था भटाभट परिवर्तन भइरहन्छ, तर राजनीतिक नेतृत्व पुस्तान्तरण भएको देखिँदैन । उनी पञ्चायतकालीन अनुहारकै बाहुल्यता कायम छ । नयाँ पुस्ताले ‘स्पेस’ पाउन नयाँ दल नै बनाउनुपर्ने स्थितिमा नेपाली समाज पुगेको संकेत अघिल्लो चुनावबाट देखिएकोमा उनी सचेत छन् ।

एनआरएनएले पनि पुरानो सोचकै बालीमा बल दिइरहँदा नयाँ विचारले बियाड पाइरहेको छैन भन्ने उनलाई लागेकै छ । तर, उनी त्यति धेरै नकारात्मक पनि छैनन्, किनकि एनआरएनएमा नयाँ सोचले तीव्र गतिमा दौडाइरहेको विश्वको चरित्रसँग परिचित व्यक्तिहरू छन् । त्यसैले ढिलाचाँडो नयाँ विचारको स्वीकार्यतामात्रै होइन, अपरिहार्यता बढ्नेमा उनी आशावादी छन् । त्यसैले, आफ्नो परिकल्पनालाई बहसमा ल्याउने ‘स्पेस’ अझ फराकिलो पार्दै एनआरएनएमा सचिवको उम्मेदवार बनेका छन् ।

काउन्सिलको अवधारणा बनाएर त्यहाँका नागरिकसमेत समेट्नेबित्तिकै त्यसले अथाह सम्भावनाको ढोका सहज रूपमा खुल्छन् । यसले एनआरएनएलाई सहयोगमा आश्रित होइन, नियमित स्रोतहरूसहित चल्ने बनाउन सक्छौं ।

यसबाट यतिचाहिँ थाहा लाग्छ कि उनले एनआरएनएको विकल्पको रूपमा ‘नेपाल फ्रेन्डसिप काउन्सिल’को परिकल्पना गरेका होइनन् । बरु, काउन्सिल निर्माणले एनआरएनएलाई सांगठनिक रूपमा जीवन्त र आर्थिक–सांस्कृतिक रूपले दीर्घजीवी बनाउने उनको ठहर छ ।

‘विदेशमा कति यस्ता फन्ड छन्, जो एनआरएनएजस्ता संस्थाका लागि र त्यसमार्फत मूलभूमिका विकासका लागि खर्च गर्ने उद्देश्यका लागि नै स्थापित छन् । जर्मनीमै पनि त्यस्ता फन्ड छन् । तर हामी सम्बन्धित देशको प्रक्रियासँग सहज नहुँदा त्यसको उपयोगबाट बञ्चित भइरहेका छौं । काउन्सिलको अवधारणा बनाएर त्यहाँका नागरिकसमेत समेट्नेबित्तिकै त्यसले अथाह सम्भावनाको ढोका सहज रूपमा खुल्छन् । यसले एनआरएनएलाई पनि सहयोगमा आश्रित होइन, नियमित स्रोतहरूसहित चल्ने बनाउन सक्छौं । यसमार्फत नेपालमा गर्ने सहयोग र लगानीको मात्रालाई पनि मात्रात्मकमात्रै होइन, गुणात्मक रूपमै बढाउन सक्छौं’, उनी एनआरएनए सम्मेलनको सन्दर्भलाई उदाहरण दिँदै सविस्तार व्याख्या गर्छन्, ‘यही सम्मेलनमा पनि हरेक देशबाट आठ–दस जना त्यहाँका नागरिक लिएर आउने हो भने यसको उचाइ नै अर्को ठाउँमा पुग्न थियो । नीतिगत छलफल गर्न विषयविज्ञ र लगानीबारे छलफल गर्न लगानीकर्ताको समूह नै नेपालमा ल्याउन सकिन्थ्यो । पर्यटनकै हिसाबले हेर्ने हो भने पनि यो एउटा महत्वपूर्ण कदम बन्थ्यो ।’

नेपाली पुगेका हरेक देशमा नेपालको पहिचान स्थापित गर्नु, त्यहाँको अर्थतन्त्रको लाभ प्रभावशाली हिसाबले नेपालसम्म पुर्याउनु अब मूल दायित्व बनिसकेको छ ।

नव राजलाई थाहा छ– एनआरएनएको स्थापनाको अलिखित अभिप्रायमध्ये एउटाचाहिँ ‘प्रभावको निर्माण’ हो । गैरआवासीय नेपालीले विदेशमा पैसा कमाए, नेपालमा लगानी गर्न चाहे । त्यसका लागि वातावरण बनाउन नेपालको नीतिनिर्माण प्राधिकारी, सरकार र राजनीतिक दललाई सकारात्मक बनाउनु आवश्यक थियो, तिनमाथि प्रभाव निर्माण गर्नु थियो । संगठित स्वरूप निर्माण गर्दा त्यो प्रभाव पैदा हुन्छ भन्ने निष्कर्ष एनआरएनए निर्माणको एउटा आधार थियो । उनलाई लाग्छ, अहिले पनि एनआरएनमा त्यही ‘प्रभाव निर्माण’ ह्याङओभरबाट मुक्त भएको छैन ।

उनी सविस्तार भन्छन्, ‘तर, अब समय त्यो अवस्थाबाट निकै अघि बढिसकेको छ । गैरआवासीय नेपालीको सहयोगले मात्रै, लगानीले मात्रै अब नेपालको विकास हुँदैन । नेपाली पुगेका हरेक देशमा नेपालको पहिचान स्थापित गर्नु, त्यहाँको अर्थतन्त्रको लाभ प्रभावशाली हिसाबले नेपालसम्म पुर्याउनु अब मूल दायित्व बनिसकेको छ । जसरी चीनले चाइना टाउनमार्फत आफ्नो पहिचानलाई स्थापित गरिरहेको छ विश्वभर, हामीले पनि त्यस्ता प्रभावशाली ब्राण्ड निर्माण गर्नु आवश्यक छ विश्वबजारमा । जसमार्फत अर्थतन्त्र र संस्कृतिलाई एकैसाथ विस्तार गर्न सकियोस् ।’

अमेरिकामा रात पर्दा भारतमा दिन हुन्छ । अमेरिका पुगेका भारतीयले यसको लाभ उठाएर अमेरिकामा दिनभरि काम गर्ने र त्यसलाई भारतमा पठाउने गरेर दोब्बर काम निकाले ।

आफू पुगेको देशको अर्थतन्त्रको मातृभूमिले कसरी लाभ लिन सक्छ भनेर गरिने कामले मात्रै देशको समृद्धिमा योगदान दिन सकिन्छ भन्ने नव राजको तक छ । उनी यसमा भारतको उदाहरण दिन्छन्, ‘अमेरिकामा रात पर्दा भारतमा दिन हुन्छ । अमेरिका पुगेका भारतीयले यसको लाभ उठाएर अमेरिकामा दिनभरि काम गर्ने र त्यसलाई भारतमा पठाउने गरेर दोब्बर काम निकाले । यसले आइटी र कतिपय सेवा क्षेत्रमा भारतलाई नयाँ उचाइमा पुर्यायो । गैरआवासीय नेपालीले यस्तो लाभ नेपाललाई दिलाउन सक्छन् । अनौपचारिक रूपमा त्यस्तो काम भइरहेकै छ । आइटी र शिक्षाको क्षेत्रमा नेपालले त्यसरी काम गने हो भने कायापलटका लागि समय लाग्दैन । अरूले विकास गर्न दशकौं लगाए भनेर हामीले पनि त्यति नै लगाउनुपर्छ भन्ने छैन । उनीहरूबाट सिकेर हामीले थोरै अवधिमा त्यो उपलब्धि हासिल गर्न सक्छौं । त्यसमा नेपाली मूलका नयाँ पुस्ता र विदेशीसहितको अट्ने संरचना चाहिएको हो ।’

नेपालका राजनीतिक दलहरूले यो कुरा गहिरोगरि बुझ्नुपर्ने उनी बताउँछन् । नेपालमा जस्तै विभिन्न पेशागत क्षेत्रमा आफ्नो संगठन बनाएर शक्ति आर्जन गर्ने सोच दलहरूले एनआरएनएमा पनि लागू गर्न खोजेको टिप्पणी गर्दै उनले भने, ‘राजनीतिक चलखेल गरेर केही सीमित स्वार्थ पूरा गराउनेतिर लाग्नुभन्दा यस्ता नयाँ अवधारणामा काम गर्न एनआरएनहरूलाई उत्प्रेरित गरेर देशलाई दीर्घकालीन समृद्धिको बाटो लैजाने बृहत्तर परियोजना निर्माण गर्न दलहरू लाग्नुपर्छ ।’

‘के गैरआवासीय नेपाली संघले यो परिकल्पनालाई स्वीकार गरेर अघि बढाउँछ भन्ने विश्वास छ त ?’, यो छलफलको अन्त्यमा सोधिएको प्रश्नमा एनआरएनए सचिवका उम्मेदवार नव राज रोस्याराको जवाफ छ, ‘मैले नयाँ यथार्थको विष्लेषणबाट यो परिकल्पनामा बहस चलाएको हुँ । एनआरएनए गैरआवासीय नेपालीहरूबीच बृहत रूपमा फैलिएको संस्था भएका कारण यसमार्फत भयो भने छिटो स्थापित हुन्छ र छिटो परिणाम प्राप्त हुन्छ भन्ने हो । यदि भएन भने पनि आवश्यकताले यसलाई विस्तार गरिहाल्छ ।’
***

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *