Logo

२६ मंसिर २०८२, बुधबार

मोरङ, बेलबारी नगरपालिका–५, लिम्बूटोल । टोलको नाम लिम्बू भए पनि यहाँ मुसहर समुदाय आवादी बढी छ । टोलको बिहानी कोइलीको कुहुकुहसँगै सुरु हुन्छ । तर, लबरू ऋषिदेवलाई त्यो मिठास भोग्ने फुर्सद छैन । उनका चार बालबच्चा छन् । पत्नी र आमाको हेरचाहको जिम्मेवारी काँधमा छ ।

लबरू झिसमिसेमै उठ्छन्, एक ‘डोज’ सुर्ती बनाउँछन् र ओठमा च्याप्छन् । दुई खिल्ली चुरोट खल्तीमा राख्छन् र बेल्चा बोक्छन् । उनीजस्तै अधिकांश पुरुषहरूले हातमा बेल्चा समाएपछि टोलको दिनचर्यासुरु हुन्छ ।

‘यति बिहानै उहाँहरू कता जान लाग्नु भएको ?’

प्रश्न नखस्दै समुदायकी अगुवा पवनी ऋषिदेवले भनिन्, ‘बालुवाटार ।’
‘बालुवाटार !’

अचम्मित भएको देखेपछि उनले स्पष्ट पार्न थपिन्, ‘यहाँका सबै पुरुषहरू दैनिक जाने त्यतैत हो । अन्त कहाँ जानु र ?’
तर अझै स्पष्ट हुन नसकेको देखेपछि उनले मुस्कुराउँदै भनिन्, ‘त्यहीँ तल खोलामा के ! बालुवा उतार्न ।’

उनको कुरा सुन्दा सुरुमा लाग्यो– व्यंग्य गरिरहेकी छन् । तर उनको कुरा सिधा थियो, त्यहाँ व्यंग्य या कुटिलताको कुनै गन्ध थिएन ।

संवाद गर्दैै जाँदा थाहा भयो– उनीहरूलाई देश चलाउने प्रधानमन्त्री बस्ने बालुवाटारबारे खासै जानकारी छैन । न त यो देश कसले चलाइरहेको छभन्ने चासो वा चिन्ता नै छ । चासो छ त, बिहानदेखि बेलुकासम्म हातमुख जोर्न हरदिन पुगिरहनु पर्ने बालुवाटारकै ।

स–साना दुःख–बिरामले उनीहरूलाई बालुवाटार जान रोक्दैन । ज्यानमा सन्चो होस् या बिसन्चो, उनीहरू त्यहाँ पुगेकै हुन्छन् ।

स–साना दुःख–बिरामले उनीहरूलाई बालुवाटार जान रोक्दैन । ज्यानमा सन्चो होस् या बिसन्चो, उनीहरू त्यहाँ पुगेकै हुन्छन् ।
गाउँको पश्चिमपट्टि छ लोहन्द्रा खोला । बेलबारी बजारदेखि लिम्बुटोलसम्मको करिब ११ किलोमिटर खोलाकिनारमा बालुवा चाल्ने मेलो चलिरहन्छ । लिम्बुटोल र त्यसनजिकैको बस्ती मटियारीका स्थानीयले बालुवा निकाल्ने त्यही ठाउँलाई बालुवाटार भन्छन् ।

लोहन्द्रा खोलाबाट निकालिएको बालुवा ट्याक्टरमा लोड गर्दै मुसहरहरू । तस्विर : शालिक भट्ट

०००
लबरुको बालापन त्यतै हुर्कियो, जवानी फक्रियो अनि अनगिन्ती सपना त्यहीँको बालुवामा तप्केका पसिनासँगै फक्रिए, मुर्झाए । टोलका साथीहरूसँग हरेक बिहान उनी बालुवाटारमा धाउँछन् ।

सुकुम्बासी परिवारमा जन्मिए लबरू । समुदायमा शिक्षा दिने प्रचलन नै नभएका बखत भएकाले पढ्न पाएनन् ।

लवरुका बुबाले आफ्नो जीवन बालुवाटारमै बिताए । त्यसो त बाबु–बाजेले बालुवाटारमा बालुवा चाल्ने कामबाहेक अरूको खेत जोतेर जिन्दगी गुजारे । उनी पनि कहिलेकाहीँत्यस्तै जन गर्न (ज्यालादारीमा काम गर्न) जान्छन् । अरूको खेत जोतेर आएको आम्दानीले मात्रै पाँच जनाको परिवार पालिँदैन । त्यसैले शरीरको थकान बेवास्ता गर्दै बिहानै बालुवाटार पुग्नु उनको बाध्यता हो ।

बालुवा चाल्दा दिनको एक हजारदेखि दुई हजारसम्म कमाउँछन् उनीहरू । त्यही रकमले घर चल्छ । तर बालुवा चाल्ने काम पनि सबै मौसममा कहाँ हुन्छ र ?

‘अहिले त पानी कम हुन्छ, बर्खा लाग्दा समस्या नै हुन्छ’, लवरु भन्छन्, ‘असारसम्म त पूरै शरीर डुबाउने पानी हुन्छ । बालुवा निकाल्नै सकिँदैन ।’

उनीहरूले निकालेको बालुवा ठेकेदारका गाडी आएर लैजान्छन् । एक गाडी बालुवाको दुई हजारसम्म दिन्छन् ।

पानीमा पूरा शरीर भिजाएर दैनिकबालुवा निकाल्ने सकस उनको बुबाको शरीरले लामो समय झेल्न सकेन । त्यही निहुँमा बिरामी परेर बिदा भए । बुवाको शेषपछि पूरा घरको जिम्मेवारी उनको काँधमा आइपरेको हो ।
०००

टोलकै सुमन ऋषिदेवको पनिबुवा बितेको दुई वर्ष भयो । पत्नी र दुई बालबच्चा नै अहिले उनको परिवार हो । बुबा हुँदै समुन छुट्टिएर बसेका थिए । उनका भाइ र आमा छुट्टै बस्छन् । पर्दा कहिलेकाहीँ सहयोग गर्छन् ।

खोलामै १२ घण्टासम्म खटिने उनका बुबालाई पानीकै असरले थला पार्‍यो । ‘राम्रो अस्पतालमा लैजान हामीसँग रकम थिएन । विराटनगरसम्म लग्यौं । तर, बाँच्नुभएन’, सुमन भन्छन्, ‘हामी पनि बिहानदेखि बेलुकासम्म खोलामै हुन्छौं । कुनदिन हाम्रो त्यस्तै हालत हुन्छ थाहा छैन । बलियो ओत लाग्ने घर र गरिखाने सानो जमिन भए यसरी ज्यान जोखिममा किन हाल्नुपथ्र्यो र ?’

धन्न ! लोहन्द्रा खोलाले बालुवाटारमा बालुवा रित्याएको भने छैन । गहिरिएका खाडलहरूमा लोहन्द्रा खोलाले हरेक बर्खामा बालुवा भरिदिन्छ र मुसहरको चुल्हो बल्छ ।

सानैदेखि सुमन बुबाकै साथमा लागेर खोलामा बालुवा निकाल्ने काममै लागे । पढ्न पाएनन् । ‘कहाँ पढ्न पाउनु र । आफ्नो जग्गा जमिन छैन । यहीकाम नगरे बेलुका चुल्हो बल्दैन । घाम–पानी जे भए पनि यही बालुवा चाल्नु बाध्यता हो’, उनी भन्छन् ।

‘दिनभर बालुवा निकाल्दा निकाल्दै शरीर लखतरान हुन्छ’, खोलामा बालुवा चाल्दै गर्दा सुमनले आफ्नो पोल खोजे, ‘थकाई मार्नलाई भए नि साँझ अलिकति पिउनै पर्छ । नत्र निद्रै लाग्दैन । राति निद्रा नपरे बिहान कसरी काम गर्नु ।’

लोहन्द्रा खोलामा बालुवा निकाल्दै मुसहरहरू । तस्विर : शालिक भट्ट

०००
बालुवाटारमा बालुवाको थुप्रोमा आफ्ना नानीबाबुको भविष्य कोर्ने प्रयासमा दिनरात खटिरहेका मुसहरमध्ये अर्का हुन् लेन्टु ऋषिदेव । आफ्नो पूरै जीवन खोलामै बिते पनि आफ्ना बालबालिकाले त्यस्तो नियति भोग्नु नपरोस् भनेर उनी दिनरात बालुवा चाल्न खटिन्छन् ।

‘गरिबीले स्कुल जान कहिल्यै दिएन । हाम्रो सपना, भविष्य जे भने पनि यही खोला नै हो । तर, हाम्रा बालबच्चाले भने दुःख नपाउन् भनेर बिरामी हुँदा पनि खोलामा आउन छाड्दिनँ । कमाएको केही रकम जम्मा पनि गर्ने गरेको छु’, उनले भने । आफ्ना बालबालिकाले राम्रोसँग पढाउने उनको सपना छ ।

‘बाबुबाजेले साहुको हलो जोतेरै बिताए, उनीहरूले दिएको अन्नपातले नै हाम्रो परान धाने,’ उनी थप्छन्, ‘तर, अहिले अरूको काम गरेर पनि त राम्रो पैसा दिँदैनन् । त्यो भन्दा यही बालुवा उतार्नै ठिक छ । कम्तीमा दिनभर काम गरेको परिश्रमको रकम बेलुका त पाइन्छ ।’

०००

बिहानै बालुवाटार पुग्ने पुरुषहरूलाई मध्य दिउँसोतिर परिवारमा महिला सदस्यले खाना र खाजा पुर्‍याउँछन् ।
बालुवा निकाल्न बालुवाटार पुगेका कारुलाल मुसहरलाई खाना र खाना पुर्‍याउने जिम्मेवारी बहन गरिरहेकी उनकी पत्नी बिना ऋषिदेव ‘सिजन’मा साहुको जन जान्छिन् ।

बिहानैदेखि जन गएर उनी १२ बजेतिर फर्किन्छिन् । तीन घण्टा घरको काम, खाजा र खानको व्यवस्था गरिसकेर फेरि तीन बजेतिर जन जान्छिन् । ‘हामीलाई जन गरेवापत दिनको चार सय रुपैयाँ दिन्छन् । हाम्रो कमाइले त के पुग्ने हो र ? बुढाले त्यही बालुवाटारबाटै ल्याएको पैसाले नै घरखर्च चल्ने होे’, उनले भनिन् ।

लिम्बुटोल र मटियारीमा करिब ३३ घरधुरी मुसहर छन् । उनीहरू अधिकांश ऐलानी जग्गाम छाप्रो बनाएर बसिरहेका छन् । केहीको भने ‘जनता आवास’ कार्यक्रममार्फत घर बनेको छ । बाँकी कसैको पनि पक्की घर र आफ्नो जग्गा छैन । अरूकै काम गरेर दैनिकी चलाउनेले जग्गा जमिन पनि कसरी जोड्नु र ?

लोहन्द्राले बालुवा बोक्न छाडेको दिन भने विपन्न मुसहरको मुखमा माड लाग्न पनि बन्द हुनेछ । न पक्की घर छ न आफैं कमाई खाने जमिन नै ।

तीन महिना खोला बन्द भएका बेला त घर खर्च चलाउन पनि सकसै हुन्छ । त्यसबेला अरुको काम गरेर ल्याएको रकमले धौ–धौ घर चल्छ ।

०००
यतिबेला देशलाई स्थानीय चुनाव लागेको छ ।स्थानीय तहको पहिलो कार्यकाल सकिएको छ । पाँच वर्षसम्म नगरपालिकाले मुसहरजस्ता सुकुम्बासीका लागि कुनै योजना ल्याएन । भोट सम्झेर हो कि,अन्तिम वर्षमा भने केही सम्बोधन गर्न खोजे जस्तो देखियो । त्यसैअन्तर्गत ‘जनता आवास कार्यक्रम’अन्तर्गत केही घर निर्माण गरी हस्तान्तरण गरिएको छ । क्षमता विकासका लागि केही कार्यक्रम पनि सञ्चालन गरेको छ ।

‘हामीले मुसहरका लागि योजना बनाएका थियौँ । गत सालबाट लागू भएको छ । अहिले उनीहरूको लागि आवास बनाउने काम भइरहेको छ’, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी भन्छन्,‘जनता आवासअन्तर्गत १५ घर निर्माणका लागि ४० लाख रुपैयाँ बजेट निकासा भइसकेको छ । अहिलेसम्म पाँचवटा घर त बनिसकेका छन् । अन्य घर यही वर्षभित्र बनाएर हस्तान्तरण गर्ने तयारी छ ।’

यसो भन्दै गर्दा उनले समुदायप्रति पनि गुनासो गरे । ‘उनीहरूले चाहेकै ठाउँमा बनाइदिनुपर्छ । नत्र, बस्न मान्दैनन् । एक त आर्थिक अवस्था नै कमजोर छ तर आम्दानी बचाउन नसक्दा पनि उनीहरूको विकास हुन नसकेको हो’, उनले भने ।

नगरपालिकाको १७ लाख बजेटमा अहिले मुसहर बस्तीका महिला तथा बालबालिकाको क्षमता विकासका काम भइरहेको उनले बताए । अहिले सोही कार्यक्रमअन्तर्गत आर्थिक उपार्जनमा महिलालाई जोड्ने काम भइरहेको छ । मुसहर महिलालाई आर्थिक उपार्जनको माध्यममा जोड्दै ‘आर्थिक उन्नतिका लागि कार्यक्रम’अन्तर्गत बाख्रा, बंगुर वितरण तरकारी खेतीका लागि जग्गा खोज्ने काम पनि भइरहेको सुवेदी बताउँछन् ।

‘बाल शिक्षा, प्रौढशिक्षा र उनीहरूको क्षमता विकासका लागि अन्य काम पनि भइरहेका छन्,’वडा नम्बर ५ का अध्यक्ष विश्वबन्धु बस्नेतले पनि गुनासो पोखे, ‘तर, मुसहर आफैँ उत्सुक नहुँदा पनि समस्या भएको हो । यदि हामीले गरेको कामलाई उनीहरूले अपनत्व गरिदिने हो भने पनि धेरै विकास भइसक्छ ।’

अहिले मुसहरहरू बसेको जमिन बाटोमा पर्छ । स्थायी बसोबासका लागि नगरपालिकाले जग्गा दिनसक्ने अवस्था नभएको जनप्रतिनिधिहरू बताउँछन् । संघीय सरकार वा सुकुम्बासी आयोगले नै जग्गा दिएको खण्डमा घर बनाइदिन समस्या नहुने बस्नेतको भनाइ छ ।

आफ्नो पूरै जीवन खोलामै बिते पनि आफ्ना बालबालिकाले त्यस्तो नियति भोग्नु नपरोस् भनेर उनी दिनरात बालुवा चाल्न खटिन्छन् ।

‘एक त पहिल्यैदेखि अरूको घरमा काम गरेरै उनीहरूको गुजारा चल्यो । त्यसकारण पनि आफ्नो जग्गा जमिन केही भएन’, बस्नेत भन्छन्, ‘अहिले कमाएको केही बचत गरेको भए नि हुन्थ्यो । तर, दिनभर कमाएको बेलुका नै सिध्याउँछन् ।

सचेतनाका लागि गरिएको कार्यक्रम प्रभावकारी भएमा भने त्यो स्थितिमा सुधार आउने विश्वास छ ।’सुकुम्बासी आयोगले मुसहरको लगत संकलन गरिसकेको उनले बताए । अहिले नगरपालिकाले मुसहर महिलालाई आम्दानीसँग जोड्ने प्रयास गरेकाले भविश्यमा उनीहरूको गरिबी अन्त्य हुने विश्वास उनको छ ।
०००

जनप्रतिनिधिका कुरालाई पत्याउन भने मुसहर बस्ती भने तयार देखिएन । उनीहरूको गुनासो छ– नेताहरूले सुकुम्बासी मुसहरलाई पक्की घर र कुटोकोदालो गर्नेे जमिन दिने आश्वासन दिएका थिए । त्यही आशामा मुसहरले आफ्नो अमूल्य भोट दिए । तर, नेताहरू पछि कहिल्यै फर्केर आएनन् । न त जग्गा पाए न घर नै । भोट माग्न आएकाहरू गाउँमा कहिल्यै देखिएनन् ।

‘अहिले पनि आउने नै त होलान् नि भोट माग्न । फेरि दिन्छन् आश्वासन तर, पूरा हुने होइन’, मुसहर अगुवा झुरो ऋषिदेव भन्छन्, ‘भोट त आखिर जसलाई भए नि हाल्नै पर्ने हो । तर, झुटो आश्वासन नदिए नि हुँदो हो । आसमा त बसिन्नथ्यो होला ।’

उनीहरू मुसहर बस्तीमा निर्वाचनको कुनै रौनक नभएको बताउँछन् । संवादैपिच्छे भन्छन्– अहिले पनि बाँडिने आश्वासन नै हो । भोट बटुल्नदिने मिठो आश्वासनले आश भन्दा धेरै पीडा दिन्छ ।

बरु, त्यो भन्दा त लोहन्द्रा खोलाले बालुवा थुपार्न भने कहिल्यै नछाडोस् भन्ने कामना गर्छन् उनीहरू । जहाँबाट उनीहरूको रोजीरोटी चलेको छ । हरेक बिहान भगवान् पुकार्दा पनि हिजोभन्दा धेरै बालुवा निकाल्न पाइयोस् भन्ने कामना हुन्छ ।

लोहन्द्राले बालुवा बोक्न छाडेको दिन भने विपन्न मुसहरको मुखमा माड लाग्न पनि बन्द हुनेछ । न पक्की घर छ न आफैं कमाई खाने जमिन नै । न त कमाइको कुनै स्थायी माध्यम नै । एक मात्र जरिया बालुवाटार नै हो ।

धेरै नेताको सपना बालुवाटार हुन्छ । तर यो बालुवाटार र त्यो बालुवाटारमा धेरै भिन्नता छ । काठमाडौंको बालुवाटारमा जो एकपटक छिर्छ, त्यसको जीवन पूरै बदलिन्छ । कहिल्यै फर्केर हेर्नुपर्दैन । खानपान मात्र बदलिँदैन, रहनसहन र हिँड्ने तरिका नै बदलिन्छ । महँगा सुटबुट र चिल्ला गाडीमा सयर सुरु हुन्छ ।

तर, मुसहरहरूको बालुवाटारमा कहिल्यै परिवर्तन हुँदैन । बदलिन्छ त बर्खामा आउने भेलले बालुवाको थुप्रो । सुख्खामा निकालेको बालुवाको खाडल बर्खाले भरिदिन्छ र कमाइ खाने जरिया बन्छ सुकुम्बासी मुसहरको । जहाँ जीवन भने कहिल्यै बदलिएको देखिँदैन । एकजोर फाटेको चप्पल र च्यातिएको कपडामै जीवन चलेको देखिन्छ ।

धन्न ! लोहन्द्रा खोलाले बालुवाटारमा बालुवा रित्याएको भने छैन । गहिरिएका खाडलहरूमा लोहन्द्रा खोलाले हरेक बर्खामा बालुवा भरिदिन्छ र मुसहरको चुल्हो बल्छ ।

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *