बिटिएसको उदय र वैश्विक प्रभाव
शून्यताबाट उठेको सात स्वरको कथा, जसले के-पपको भूगोल मात्र होइन, युवाको आत्मबोध नै फेरिदियो
आज जुन १३। २०१३ को आजकै दिन, दक्षिण कोरियाको सांगीतिक आकाशमा एउटा सानो तर दूरगामी उज्यालो देखियो। बिग हिट इन्टरटेन्मेन्टजस्तो कमजोर एजेन्सीअन्तर्गत सात युवा अनुहारले ‘बिटिएस’ नाम लिएर मञ्चमा पाइला राखेका थिए। त्यो केवल एउटा डेब्यु थिएन – एउटा आन्दोलनको आरम्भ थियो। जुन १२ मा जारी भएको ‘टु कुल फोर स्कुल’ एकल एल्बम र त्यसको प्रमुख गीत ‘नो मोर ड्रिम’ भोलिपल्ट ‘एम काउन्टडाउन’ मा सूचीकृत भयो। त्यस मञ्चबाट उठेको आवाज आज विश्व संगीत इतिहासको सबैभन्दा प्रतिध्वनित स्वरमध्ये एक बनिसकेको छ।
सुरुआती दिनमा सफलताले उनीहरूको ढोका ढकढक्याएको थिएन। पहिलो हप्तामा जम्मा ७६० प्रति बिक्री भएको ‘टु कुल फोर स्कुल’ व्यावसायिक हिसाबले कमजोर मानियो। तर त्यही एल्बमभित्र लुकेका शब्दहरू – कडा शैक्षिक दबाब, सामाजिक असमानता, किशोर मनको बेचैनी र सपनाप्रतिको विद्रोह – धेरै युवाका लागि आफ्नै आवाज बने। उनीहरूको संगीतले पहिलो चोटि नै एउटा यस्तो प्रश्न उठायो, जसले सधैं चमक, सौन्दर्य र अनुशासनको आवरणमा बाँधिएको के-पपलाई अर्को दिशातर्फ फर्कायो। प्रश्न थियो – युवा किन थाक्छन्, किन भाँच्चिन्छन् र किन फेरि उठ्न खोज्छन्?
डेब्युको घडी
बिटिएसको डेब्यु कुनै आकस्मिक घटना थिएन। यो योजनाबद्ध, धैर्यपूर्ण र जोखिमले भरिएको निर्माण थियो। मे २०१३ मा बिग हिटले आफ्नो पुरानो ब्लग बन्द गरी नयाँ वेबसाइट सुरु गर्यो। त्यस वेबसाइटमा उल्टो घडी राखियो, लोगो देखाइयो र सदस्य परिचयका टिजरहरू क्रमशः सार्वजनिक गरिए। जुन २ मा वी, जुन ३ मा जिन, जिमिन र जङकुक, अनि जुन ४ मा आरएम, सुगा र जे-होपलाई सार्वजनिक गर्दै त्यो रहस्य र कौतुहलको घेरो अझ बाक्लो बनाइयो।
छात्रावास, चोट र मौन पीडा
बिटिएसको सफलता सजिलो यात्राबाट आएको होइन। सन् २०१६ सम्म सातै सदस्य एउटै कोठामा सुत्थे। एउटै शौचालय, एउटै साँघुरो दैनिकी, एउटै प्रतीक्षा। पूर्व-प्रशिक्षार्थीहरूको सम्झनामा त्यो समय केवल अभावको कथा थिएन, त्यो त समय, शरीर र आत्माको परीक्षण थियो।
सुगाको कथा अझ पीडादायी छ। सन् २०१२ मा डेलिभरीको काम गर्दा सवारी दुर्घटनामा उनको काँध गम्भीर रूपमा चोटग्रस्त भयो। तर उनले कम्पनीलाई झुटो कथा सुनाए – किनभने उनी डराइरहेका थिए, कतै उनलाई समूहबाट निकालिने त होइन। पछि कम्पनीले उनको उपचारमा सहयोग गर्यो, तर चोट लामो समयसम्म रह्यो। शारीरिक पीडा, निद्राको कमी, अत्यधिक अभ्यास र निरन्तर दबाबबीच उनले आफ्नो संगीतलाई अझ सघन बनाउँदै लगे।
त्यो समय बिटीएसमाथि मिडियाको व्यवहार पनि दयालु थिएन। अपमान, उपेक्षा, प्रत्यक्ष प्रसारणबाट हटाइने घटना, व्यङ्ग्यात्मक टिप्पणी – यी सबै उनीहरूका प्रारम्भिक दिनका भाग थिए। तर उनीहरूले जवाफ शब्दले होइन, प्रस्तुति र निरन्तरताले दिए।
एआरएमवाई अर्थात् आर्मी
बिटिएसको यात्रामा एआरएमवाईको भूमिका साधारण प्रशंसकको भूमिकाभन्दा धेरै माथि छ। सन् २०१३ को जुलाई ९ मा आधिकारिक रूपमा घोषणा गरिएको ‘एआरएमवाई’ नामको अर्थ ‘एडोरेबल रिप्रेजेन्टेटिभ एम.सी. फर युथ’ हो। यस नामले नै कलाकार र प्रशंसकबीचको सम्बन्धलाई अनौठो प्रतीकात्मकता दिएको छ – बिटिएसको अर्थ बुलेटप्रूफ ज्याकेटजस्तो रक्षा र एआरएमवाईको अर्थ त्यसलाई घेरेर उभिने शक्ति।
पहिले प्रशंसकहरूलाई ‘घण्टी’ वा ‘घण्टीकर्मी’ जस्तो नाम दिने चर्चा थियो, तर अन्ततः ‘एआरएमवाई’ नै स्थापित भयो। पछि बिटिएसको लोगो र एआरएमवाईको प्रतीकबीचको ऐनाजस्तो सम्बन्धले यो बन्धनलाई अझ अर्थपूर्ण बनायो। यहाँ कलाकार र दर्शक अलग-अलग दुई पक्ष होइनन्; एउटा चलायमान सांस्कृतिक शरीर हुन्।
हरेक वर्ष जुलाई ९ मा ‘एआरएमवाई दिवस’ मनाइन्छ। त्यो दिन प्रशंसकहरू केवल गीत सुन्दैनन्; दान गर्छन्, अभियान चलाउँछन्, सामाजिक काममा जोडिन्छन्। कोभिड-१९ का बेला ‘परमिसन टु डान्स’ र ‘बटर’ जस्ता गीतहरू रोगको चिन्ता निको पार्ने सांगीतिक भाषा बने। सन् २०२० मा ब्ल्याक लाइभ्स म्याटरका लागि बिटिएसले गरेको घोषणासँगै प्रशंसकहरूले पनि केही घण्टामै समान सहयोग जुटाएको घटना संगीत फ्यान संस्कृतिले सामाजिक सक्रियतामा कस्तो रूप लिन सक्छ भन्ने उदाहरण बन्यो।
जुन १२, २०१३ मा समूहले पहिलो प्रेस मिट र शोकेस गर्यो। त्यही दिन इल्ची आर्ट हलमा चार सयभन्दा बढी प्रशंसक जुटे। अनि भोलिपल्ट टेलिभिजनमा उनीहरूको पहिलो औपचारिक स्टेज आयो। ‘नो मोर ड्रिम’ र ‘वी आर बुलेटप्रूफ पार्ट २’ मा उनीहरूको प्रस्तुति केवल नृत्य र गायनको प्रदर्शन थिएन, त्यो त स्थापित सामाजिक अनुशासनविरुद्धको सांगीतिक चुनौती थियो।
सात सदस्य, सात बाटो, एउटै ध्वनि
बिटिएसको शक्ति सायद यही थियो – भिन्न पृष्ठभूमिबाट आएका सात युवालाई एउटै सांगीतिक भाषा दिन सक्नु। सन् २०१० मै बाङ सी-ह्युकले भूमिगत र्यापर आरएममा सम्भावना देखेपछि यो परियोजनाको बीउ रोपिएको थियो। आरएम, सुगा र जे-होप र्याप लाइनका प्रारम्भिक स्तम्भ बने। बाँकी सदस्यहरू आ-आफ्नै अनौठा यात्राबाट आए।
आरएम कविता लेख्थे, अंग्रेजी सिक्नका लागि टेलिभिजन हेर्थे र आफूलाई शब्दको संसारमा उभ्याउन चाहन्थे। सुगा संगीत निर्माणको बाटोमा थिए, तर उनलाई नाच्न पनि सिकाइयो, होस्टेलमा राखियो र अन्ततः र्यापर तथा निर्माता दुवै बनाइयो। जे-होप सडक नृत्यको संसारबाट आएका थिए; उनीहरूको शरीर नै लयको भाषा थियो। जिनलाई बाटोमा हिँड्दाहिँड्दै आकृति र उपस्थितिकै आधारमा अडिसनका लागि बोलाइयो। वीलाई डेब्यु अघिसम्म ‘गोप्य सदस्य’ को रूपमा राखियो। जिमिन बुसानको कला विद्यालयबाट आएको अनुशासन र आधुनिक नृत्यको चमकबाट आएको थिए। जङकुकले ‘सुपरस्टार के’ बाट बाहिरिएपछि पनि सातवटा कम्पनीको प्रस्ताव अस्वीकार गर्दै बिग हिट रोजे, किनभने आरएमको र्यापले उनलाई तानेको थियो।
यिनीहरूलाई केवल एउटै समूहमा राखिएको थिएन। उनीहरूले आपसमै सिक्ने, सिकाउने र आफैँलाई निर्माण गर्ने एउटा अनौठो वातावरण बनाएका थिए। सुगा, आरएम र जे-होपले बाँकीलाई हिपहपका आधारहरू पढाए। त्यसैले बिटिएसलाई आइडल समूह मात्र भन्नु अधुरो हुन्छ; उनीहरू आफैंमा एक प्रशिक्षणशाला, एक प्रयोगशाला र एक सांगीतिक सहकार्य थिए।
गीतहरूमा पुस्ताको मनोविज्ञान
बिटिएसलाई बुझ्न उनका एल्बम सुन्नु मात्र पर्याप्त हुँदैन; तिनलाई समयको मनोविज्ञानसँग पढ्नुपर्छ। ‘स्कुल ट्रिलोजी’ ले विद्यालयकालीन दबाब, विद्रोह र युवाको असन्तोष बोल्यो। ‘डार्क एन्ड वाइल्ड’ ले त्यो असन्तोषलाई अझ संवेदनशील बनायो। ‘द मोस्ट ब्युटिफुल मोमेन्ट इन लाइफ’ ले युवावस्थाको क्षणभंगुरता, डर र नोस्टाल्जियालाई कविता बनायो। ‘विङ्स’ ले आत्मप्रलोभन र चेतनाको द्वन्द्वलाई उचाल्यो। ‘लभ योरसेल्फ’ ले प्रेम पाउन आफूलाई कसरी गुमाइन्छ भन्ने कटु सत्य देखायो। ‘म्याप अफ द सोल’ ले पहिचान, छाया र अहंको भित्री यात्रा खोतल्यो। अनि ‘बी’ ले महामारीको त्रासदीबीच पनि बाँच्ने साहस दियो।
यी एल्बमहरू केवल मनोरञ्जन होइनन्; सामाजिक पाठ हुन्। बिटिएसको गीतमा किशोर भय छ, शहरको थकान छ, आत्मसम्मानको खोज छ, र सफलताको मूल्य चुकाउनुपर्दाको पीडा पनि छ। त्यसैले उनीहरूको संगीतलाई केवल ‘हिट’ का सूचीमा राखेर बुझ्न सकिँदैन। त्यो समकालीन युवाको संवेदनशील सामाजिक अभिलेख हो।

‘नो मोर ड्रिम’ को दोस्रो जीवन
डेब्युका बेला कमजोर बिक्री भएको ‘नो मोर ड्रिम’ समयसँगै अर्कै उचाइमा पुग्यो। फ्यानहरूले पछि पुराना एल्बमहरू फेरि खरिद गर्दा र गीतलाई पुनः खोज्दा यो गीत बिलबोर्ड वर्ल्ड डिजिटल चार्टमा फेरि शीर्ष स्थानमा पुगेको प्रसंगले बिटिएसको दीर्घ प्रभाव प्रस्ट पार्छ। एउटा गीत, जुन सुरुवातमा सीमित बजारभित्र हराएको जस्तो लागेको थियो, दशकपछि पनि नयाँ पुस्ताले फेरि खोज्नुपर्ने सांस्कृतिक स्मृतिमा परिणत भयो।
त्यो सफलताले एउटा कुरा स्पष्ट गर्यो – कहिलेकाहीँ तत्कालीन बजारले कुनै कला बुझ्दैन; तर समयले त्यसलाई पर्खिरहेको हुन्छ।
‘बियोन्ड द स्टोरी’: स्मृति, स्वीकारोक्ति र पुनर्लेखन
जुलाई ९, २०२३ मा प्रकाशित ‘बियोन्ड द स्टोरी: टेन इयर रेकर्ड अफ बिटिएस’ केवल संस्मरण होइन, एक दशकको आत्म-स्वीकारोक्ति हो। २३ भाषामा अनुवादित यो पुस्तकमा ३३० भन्दा बढी क्यूआर कोड राखिएका छन्, जसलाई स्क्यान गर्दा पाठकले सम्बन्धित गीत वा नृत्य दृश्य तुरुन्तै हेर्न सक्छन्। यो पुस्तकले लेखिएको इतिहासलाई ध्वनि र छविसँग फेरि जोडिदिन्छ।
पुस्तकमा जङकुकले डेब्युको बेला पहिचान गुमेको अनुभूति व्यक्त गरेका छन्। आरएमले कम्पनीको चाहना र आफ्नै सांगीतिक सोचबीचको तनाव सम्झिएका छन्। जिनले भीलाई बुझ्न समय लागेको तर त्यो समयले सम्बन्धलाई गहिरो बनाएको बताएका छन्। जिमिनले भीलाई कठिन समयमा बलियो राख्न निरन्तर प्रयास गरेको स्मरण गरेका छन्। सुगाले ‘आउट्रो: टियर’ लेख्दा रेकर्डिङमै आँसु आएको स्वीकार गरेका छन्। जे-होपले सुरुका दिनहरूको अपमान सम्झँदा भावुक भएको उल्लेख छ।
यस पुस्तकले उनीहरूलाई असफलताको छायाबाट होइन, मानवताको प्रकाशबाट देखाउँछ। यसले बुझाउँछ – सुपरस्टार हुनुको अर्थ हरेक दिन अजंगको दबाबसँग बाँच्नु पनि हो।
ब्यान्ड होइन, एक युग
जुन १३, २०१३ मा एउटा सानो मञ्चबाट शुरू भएको बिटिएसको यात्रा आज विश्व पप संस्कृतिको परिभाषामै समाहित छ। उनीहरूको सफलता केवल नाच, स्वर वा चार्टमा सीमित छैन। उनीहरूले युवाको मानसिक स्वास्थ्य, सामाजिक दबाब, आत्म-स्वीकृति र सामूहिक पहिचानलाई सांगीतिक भाषामा अनुवाद गरे। यही कारणले बिटिएस र एआरएमवाईबीचको सम्बन्ध प्रशंसक र कलाकारको सामान्य सम्बन्धभन्दा धेरै माथि पुगेको छ – यो त साझा अर्थ, साझा पीडा र साझा आशाको विश्वव्यापी परिवार हो।
के-पपको इतिहासमा धेरै समूह आएका छन्, धेरैका नाम चम्केका छन्। तर बिटिएसले एउटा यस्तो अध्याय लेखे, जहाँ संघर्ष केवल पृष्ठभूमि होइन, मुख्य कथावस्तु बन्यो। उनीहरू शून्यबाट उठे, तर शून्यमा रोकिएनन्। उनीहरूको आवाजले एक पुस्तालाई सुनायो – सपना सजिलो हुँदैन, तर सम्भव छ।
त्यसैले, बिटिएसको कथा संगीतको मात्र होइन; युवा पुस्ताको आत्म-पुनर्खोजको कथा हो।
***




