Logo

८ बैशाख २०८२, आइतबार

भैंसीमाथि चढेर लेखन नगरीमा छिरेका लेखक हुन्- लीलबहादुर क्षेत्री ।

कलेज पढ्दै गर्दा कसैले सुऱ्यायो, ‘लेख न सानो उपन्यास ।’ तिनले कनिहेरे । सकेनन् । एकदिन पान्डुस्टेसनमा नेपालबाट मुङ्गलान छिरेका ठिटाहरू भेटे । उनीहरूसित संवादिए ।

संवाद नै त्यो बाटो हो, जुन बाटोले विचारको झोपडीमा पुऱ्याउँछ । त्यो झोपडीको खिड्कीबाट जे-जे देखिन्छन्, त्यसले लेखकलाई उत्तेजित गर्छ । लीलबहादुर पनि लेखक थिए। संवादले कल्पनाको कङ्कालमा मासु भऱ्यो ।

त्यो मासु थियो- नेपालको कुनै एउटा बस्ती ।

लीलबहादुरले बस्ती बनाए । बस्तीमा बस्ने मानिस चाहियो । बनाए- धने । बनाउँदै गए- मैना, झुमा, नन्दे ढकाल, रिकुटे, मोटे कार्की, …।

बस्ती पनि बनियो । उनले बनाएका मानिसहरू काम-काममा लागे । जसरी कुनै बस्ती चलायमान हुन्छ, त्यसरी नै । तर लीलबहादुरलाई त्यति मात्र गर्नु थिएन । उनलाई त धनेलाई त्यो बस्तीबाट लखेट्नु थियो । धने त्यसै लखेटिने होइनन् । लीलबहादुरलाई लाग्यो- यसलाई दु:खको भारी बोकाउनुपर्छ । भारीले थिच्दा-थिच्दा-थिच्दा यसको मुटु नै बटारिन्छ । मुटु नै बटारिएपछि जीवन बटारिन्छ । त्यसपछि धनेलाई बस्तीबाट नभागी धर ?

लीलबहादुरले धनेको दु:खलाई मुटु बनाए । त्यही मुटु लीलबहादुरले कुटुकुटु खाइबसे । बबुरो धने, जिउन अभिशप्त बने। दु:खलाई स्वीकारे ।

हो, त्यसपछि नै शुरु भयो, धनेका दु:खका दिन । लीलबहादुरले धनेको दु:खलाई मुटु बनाए । त्यही मुटु लीलबहादुरले कुटुकुटु खाइबसे । बबुरो धने, जिउन अभिशप्त बने। दु:खलाई स्वीकारे । भैंसी पाले। फापेन । पाडो मरेको बेला, भैंसी तुहेको बेला लीलबहादुरले धनेले ऋण खाएका साहु बोलाइदिए । साहुमार्फत गोठ जफत गराए  । लीलबहादुरले धनेको सबथोक लुटे र नन्दे ढकालको बारी कमाउन पठाए । धनेले खेत खने, तुलफूल, बिउ रोपे । ओहो, धने त जे आह्राए पनि खुरुखुरु गर्ने कर्मशील, मेहनती पो बने । लीलबहादुरले नन्देको छोरालाई धनेको बिउमाथि भैंसी कुदाउन लगाए । धनेलाई साह्रै बिलखबन्दमा पारे ।

हारे धने । जीवनको धपेडी खप्न नसकेको धनेलाई लीलबहादुरले जीवन खोज्न गाउँबाट निकालेर मुगलान पठाइदिए ।

यसो त कुनै पनि सभ्यताको इतिहास बसाइँसराइले नै लेख्छ । भारतमा आज जति पनि धनेहरू छन्, उनीहरू सबैको इतिहास बसाइँसराइले नै त कोरेका होइनन्, तर भारतमा यस्ता धनेहरू आज पनि छन् । अब त उनीहरू पनि १९४७ र १९५० देखि यता भारतीय बनिसके ।

मानव सभ्यताका बसाइँसराइको इतिहास बुझ्न ‘बसाइँ’- पनि ‘केस स्टडी’को ‘म्याटरियल’ बन्यो । यस हिसाबले लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ ‘मास्टरपिस’ बन्यो ।

माइकल हट-ले बसाइँमा त्यही बसाइँ सरेको मानव सभ्यताका पहिलो पाइला देखे, अङ्ग्रेजीमा लगेर गए । त्यसपछि विभिन्न भाषामा गए धनेको दुःख । तर म सम्झन्छु, बिउमाथि कुद्ने नन्देको छोराको भैंसीलाई कोदालाको पासोले नहानेको भए र तीन दिनमा भैंसी नमरेको भए बसाइँ सर्दैनथिए- धने ।

यसरी पहिलो उपन्यासको बाटो भैंसीमाथि चढेर लेखन नगरी छिरेका लेखक हुन्- लीलबहादुर क्षेत्री ।

दार्जिलिङको उमेर १९० वर्ष पुग्यो । सिक्किमका राजाले इस्ट इन्डिया कम्पनी/ब्रिटिश भारतका सरकारी अधिकारीलाई स्वास्थ्यलाभ गरोस् भनेर सानो ठाउँ सुम्पियो- सन् १८३५ मा । संसार खाइरहेका अङ्ग्रेज चलाक, डल्लै दार्जिलिङ लगिदियो।

अहिले भारतका गोर्खाहरू चिह्नारीको लडाइँमा छन् । त्यो लडाइँमा धनेका छोराछोरीहरूको छातीमा पनि भारत सरकार र बङ्गाल सरकारले गोली ठोकेको छ । धनेहरूले दार्जिलिङमा चियाबारी कमाउँदा बङ्गाल सरकार त जन्मिएको पनि थिएन । दार्जिलिङको उमेर १९० वर्ष पुग्यो । सिक्किमका राजाले इस्ट इन्डिया कम्पनी/ब्रिटिश भारतका सरकारी अधिकारीलाई स्वास्थ्यलाभ गरोस् भनेर सानो ठाउँ सुम्पियो- सन् १८३५ मा । संसार खाइरहेका अङ्ग्रेज चलाक, डल्लै दार्जिलिङ लगिदियो।

यहीँदेखि नै शुरु भयो दार्जिलिङको इतिहास ।

यहाँका रैथाने गोर्खाहरूको ठूलो संख्या चिया श्रमिक बने । अहिले पनि दार्जिलिङको मोठ जनसंख्याको ७०  प्रतिशत तिनै श्रमिकहरू हुन् ।

भारतमा गोर्खाहरूले दीर्घकालदेखि छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै आइरहेको छ । उनीहरूलाई लाग्छ, राज्य बन्यो भने देशमा गोर्खाहरूको चिह्नारी सुनिश्चित हुन्छ। राजनैतिक सुरक्षा हुन्छ । संवैधानिक सुरक्षा हुन्छ । सङ्घीय सुरक्षा हुन्छ । तर जुन ठाउँलाई आन्दोलनको ‘एपिसेन्टर’ बनाइएको छ- दार्जिलिङ, यसैको इतिहास र अवस्थान जटिल छ । एक त यो चीन, बङ्गलादेश, नेपाल र भुटानको सीमामा छ । भारत सीमामा अशान्ति चाहँदैन ।

जबदेखि भारतमा गोर्खाहरूको चिह्नारीको सवाल उठ्न थाल्यो, तबदेखि यो आवाजलाई दबाइयो।

भर्खरै पश्चिम बङ्गाल सरकारले दुईवटा नीति ल्यायो । पहिलो नीति हो- श्रमिकको जमिन नापो गरेर ५ ‘डेसिमल’को पर्जापट्टा श्रमिकलाई दिने र बाँकी उद्योगपतिहरूलाई दिने । अर्को नीति हो उद्योगपतिहरूलाई ३०% जमिन दिने ।

स्वाधीनतापछि सिक्किमबाट अङ्ग्रेजले लिएको दार्जिलिङलाई भारतमा कसरी राख्ने ?

अङ्ग्रेज गएपछि सिक्किमले दार्जिलिङ लगेन । दार्जिलिङको भूमि भारतको पनि होइन । मिलाएर त राख्नै पऱ्यो । ‘पार्सियल्ली एक्सक्लुडेट एरिया’ रहेकोले दार्जिलिङलाई ‘एब्जर्ब एरिया एक्ट १९५४’अनुसार बङ्गालमा राखियो । तर दार्जिलिङलाई नसोधी २०१८मा त्यो ‘एक्ट रिपिल’ गरियो । यही भूमिका ऐनहरूको सङ्कट र अपारदर्शिताको कारण दार्जिलिङका चियाबारीमा बस्ने श्रमिकहरूसित जमिनको कागज छैन ।

यदि सरकार सफल भयो भने, दार्जिलिङको जनसांख्यिकी नै बद्लिन्छ । रैथानेहरू अल्पसंख्यक बन्छन् । अर्थनीति, सामाजिकता, संस्कृति, भाषाजस्ता सबै मूल्यमा ह्रास आउँछ ।

सरकार सोच्छ, दार्जिलिङको भूमिमा राज्यको पूर्णाधिकार छ, यसैले श्रमिकहरूलाई पर्जापट्टा वितरण गर्ने हो । लगभग २०० वर्षदेखि भूमि स्याह्रेर बसेका रैथानेहरूलाई २०१८ मा ‘एब्जर्ब एरिया एक्ट रिपिल’ गर्दैमा बङ्गाल सरकारले कसरी भूमिहीनहरूलाई दिने पर्जापट्टा दिन्छ ?

यी मुद्दाले बहस मागिरहेको छ, तर सरकार बहसमा कतै छैन ।

लगभग २०० वर्षदेखि बस्दै आइरहेका नागरिकलाई भूमिहीनहरूलाई वितरण गर्ने पर्जापट्टा दिनुले के अर्थ बोक्छ ?

श्रमिकसित आफ्नो भूमि छ, तर भूमिको कागज छैन । यही अन्तरविरोधी स्थितिलाई सम्बोधन गरेर राज्य सरकारले दार्जिलिङको अधिकांश भूमि उद्योगको नाममा पुँजीपतिको हातमा दिने यो जुन षडयन्त्र छ, यसले दार्जिलिङका नागरिकहरूको अस्तित्वलाई खतरामा पारेको छ ।

यदि सरकार सफल भयो भने, दार्जिलिङको जनसांख्यिकी नै बद्लिन्छ । रैथानेहरू अल्पसंख्यक बन्छन् । अर्थनीति, सामाजिकता, संस्कृति, भाषाजस्ता सबै मूल्यमा ह्रास आउँछ ।

जुन जाति देशमा आफ्नो चिह्नारीको निम्ति लड्दैछन्, ती जाति नै सङ्कटमा पर्छ । यसले पलायन निम्त्याउँछ । जमिनको मालिक नै आफ्नै जमिनबाट बेदखल हुन्छ ।

‘बसाइँ’-मा धनेले जुन दु:ख सामना गर्न सकेनन् र बसाइँ सरे, के त्यो स्थिति दार्जिलिङका गोर्खाहरूको पनि बन्ने छैन त ?

अहो, म त लीलबहादुर क्षेत्रीको कुरा पो गर्दै थिएँ, लीलबहादुर र धनेका सन्तानहरूको भोलिको सङ्कटतिर पो बटारिएँ । लेखक लीलबहादुर क्षेत्रीले केटौले उमेरमा जुन यथार्थलाई शब्दमा उने, ती शब्दहरूले भारतीय गोर्खा सभ्यताको इतिहास पनि कोरिराखेको छ ।

दार्जिलिङको सवालमा त्यही इतिहास मेट्ने ‘स्कीम’-मा ‘भूमिहीन’ जोडिएको छ । भूमिपुत्र नै भूमिहीनको रूपमा व्याख्या हुनु लरतरो कुरा होइन । धने-हरूले आफ्नो रगत पसिनाले सिँचेको भूमि अब उद्योगपतिहरूको कब्जामा जाला र विस्तारै धने-हरू त्यहाँबाट पनि ‘बसाइँ’ सक्नुपर्ला ।

आजको मूल सवाल यही हो ।

हामीसित अब दुई विकल्प छन्- कि बसाइँ सर्नु पऱ्यो, कि भूमिको निम्ति लडाइँ गर्नुपऱ्यो ।

लीलबहादुरका धनेहरूले आफ्ना छोराछोरीलाई पढाएका छन्, पढेलेखेका धनेका सन्तानहरू लडाइँ गर्लान् कि बसाइँ सर्लान् ?

बस् यही प्रश्न मैले लीलबहादुर क्षेत्रीलाई गर्न पाइनँ ।

यसैले लीलबहादुर, भूमि र बसाइँमाथि यति चिन्तन गरिरहेको छु ।
***

प्रकाशित मिति: ३ चैत्र २०८१, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *